पीएम कपः उपाधिका लागि आर्मी र एपीएफ भिड्दै, कसले बाजी मार्ला ?

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच सोमबार प्रतिस्पर्धा गर्दैछन् ।

फाइनल खेल टियु क्रिकेट मैदानमा विहान ९ बजे सुरु हुँदैछ । दोस्रो संस्करणको प्रधानमन्त्री कप जित्ने दाउमा दुबै टिम छन् ।

नेपाल पुलिसलाई ९ रनले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको थियो । यता, आर्मीले प्रदेश ५ लाई १५४ रनले पराजित गर्दै फाइनल पुगेको हो ।

सोमबार आर्मी विनोद भण्डारीको कप्तानीमा मैदानमा उत्रिँदैछ भने एपीएफ बसन्त रेग्मीको कप्तानीमा छ ।

समूह चरणमा भने एपीएफ क्लब आर्मीसँग ७० रनले पराजित भएको थियो ।

समूह ए को विजेता बनेको आर्मीले जारी प्रतियोगितामा कुनै पनि खेल हारेको छैन ।

प्रतियोगिताको विजेताले नगद २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले १ लाख पुरस्कार पाउनेछन् भने उत्कृष्ट बलर र ब्याट्सम्यानले ५०–५० हजार पुरस्कार पाउनेछन् ।

कमेन्ट गर्नुहोस्