विश्वकप फुटबलको भविष्यवाणीका लागि बिरालो छनोट !

यसपटकको विश्वकपमा रुसले एउटा कान नसुन्ने सेतो बिरालोलाई खेलको भविष्यवाणी गर्नका लागि छनोट गरेको छ ।

यसअघि सन् २०१० को विश्वकपमा पनि ८५ प्रतिशत गेमको उचित अनुमान गर्न सफल ‘पल’ नामक अक्टोपसले विजेता स्पेनबारे समेत सही भविष्यवाणी गर्दै अत्यधिक चर्चा कमाएको थियो ।

त्यसैबाट प्रेरित भइ फेरि अर्को जनावरलाई पनि यस्तै अवसर दिन लागिएको अन्तर्राष्ट्रिय संचार एजेन्सी द सनले जनाएको छ ।

‘अकिलिज’ नामक मोगी प्रजातिको सो बिरालोले यसअघि २०१७ को कन्फेडेरेसन कपमा पनि चारमध्ये तीन खेलको सही भविष्यवाणी गरिसकेको छ ।

रुसको लोकप्रिय पर्यटकीय स्थल सेन्ट पिटर्सबर्गको हर्मिटेज म्युजियममा बस्ने यो बिरालो सो क्षेत्रमा मुसा भगाउन राखिएका ६० बिरालोहरु मध्येको एक हो ।

तर यसरी अकिलिजलाई विश्वकपको भविष्यवाणी गर्न छनोट गरिएपछि अहिले नै पर्यटक लगायत स्थानीयहरु बीच ऊ धेरै चर्चित भइसकेको छ र दैनिक सयौँ मानिसहरुले उसको तस्बिर खिचेर लैजाने गरेको बताइएको छ ।

हरेक खेलमा अकिलिजले टिमको झण्डा र रङसहितका दुई खानेकुराका भाँडामध्ये एउटाको छानी विजेताबारे भविष्यवाणी गर्ने गरेको छ ।

वास्तवमा अकिलिजको सही चयन र विश्लेषण गर्न सक्ने क्षमता र असामान्य व्यवहारकै कारण यस कार्यका लागि उसलाई छनोट गरिएकोे हर्मिटेज म्युजिमकी प्रमुख मारिया खल्टुनेनले बताएकी हुन् ।

अकिलिज कान सुन्न नसक्ने भएपनि त्यसले उसको अनुमान शक्तिमा कुनै प्रभाव नपारेको र उल्टै बढी ध्यान केन्द्रित गर्नमा मद्दत गरेको मारियाको भनाइ छ ।

यसैले पनि उसको ध्यान सजिलै भङ्ग नहुने हुनाले भविष्यवाणी सफल भइरहेको मारियाले बताइन् ।

अहिले भने अकिलीजले फ्यान आइडी प्राप्त गर्ने निश्चित भइसकेको छ । यसका लागि विशेष कागजात समेत तयार भइसकेको बताइएको हो । -एजेन्सी

कमेन्ट गर्नुहोस्