१० वर्षमै महिनावारी हुने बालिकाको संख्या बढ्दो, कारण यस्तो छ

काठमाडौं, जेठ २९ । नेपालमा बालिकाहरूमा १० वर्षको उमेरदेखि नै पहिलो महिनावारी सुरु हुन थालेको पाइएको छ । यसले गर्दा स्वास्थ्यसम्बन्धी थप समस्यासमेत देखिन थालेका छन् ।

यसबारे बृहत् अनुसन्धान नभए पनि सामाजिक, आर्थिक स्थितिमा सुधार, पोषण वृद्धि, वातावरणीय र सञ्चारमाध्यम आदिको प्रभावले विगतको दाँजोमा कम उमेरमा महिनावारी हुन थालेको तर्क विशेषज्ञहरूको छ ।

हाल छलफलमा रहेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा स्पष्ट रूपले उल्लेख छ, ‘किशोर-किशोरी भन्नाले १० देखि १९ वर्ष उमेर समूहको अवस्था सम्झनुपर्छ ।’ ‘पहिलो पटक रजस्वला अर्थात् रजोदर्शन हुने उमेर घटिरहेको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव एवं प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा।डा। पुष्पा चौधरी भन्छिन्, ‘पहिले १४ देखि १६ वर्षको बीचमा रजोदर्शन हुन्थ्यो भने हाल १० देखि १२ वर्षमा देखिन थालेको छ ।’

वातावरणीय प्रभाव, पोषणको स्थिति आदिले गर्दा मोटोपन, छिट्टै मानसिक विकास आदिले पनि रजोदर्शनको उमेर कम हुँदै गएको आकलन उनको छ ।

‘दुई दशकयता पहिलो महिनावारी हुने उमेर करिब ३ वर्ष अगाडि सरेको छ,’ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक एवं प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा. जागेश्वर गौतम भन्छन्, ‘हाल महिनावारी हुने औसत उमेर १०–११ वर्ष भएको छ भने पहिले औसत उमेर १३–१४ वर्ष थियो ।’

हाल फिल्म, टेलिभिजन, समाचार, सूचना आदिको सहज पहुँचले युवतीहरू कम उमेरमै यौन रूपले परिपक्व हुन्छन् । यसले गर्दा उनीहरूको शरीरमा हार्मोनसम्बन्धी विकास छिटो हुने भएकाले महिनावारी अगावै हुने गरेको डा।गौतम बताउँछन् । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!