वीरगञ्ज भन्सारद्वारा ‘बिल अफ एक्सपोर्ट’ अनिवार्य

वीरगञ्ज । भारतबाट आयात हुने मालसामानको जाँचपासमा वीरगञ्ज भन्सार कार्यालयले ‘बिल अफ एक्सपोर्ट’ अनिवार्य गरेको छ।

यसअघि सीमावर्ती भारतीय रक्सौल भन्सारले जारी गरेको चेक लिस्टको आधारमा जाँचपास हुने गरेकोमा सोमबारदेखि बिल अफ एक्सपोर्ट अनिवार्य गरेको हो । बिल अफ एक्सपोर्ट स्वदेशी भन्सारमा आयातकर्ताले पेश गर्ने प्रज्ञापनपत्र जस्तै भारतीय भन्सारतर्फको आधिकारिक कागजात हो ।

भारतीय भन्सारले ‘बिल अफ एक्सपोर्ट’ अघि मालसामानको विवरण उल्लेख गरेर चेक सूची जारी गर्छ । भन्सार अधिकारीहरूले अहिलेसम्म यसैका आधारमा आयातित मालसामानको जाँचपास गर्दैआएका थिए । अब आयातकर्ताले प्रज्ञापनपत्रसँगै भारतीय भन्सारको बिल अफ एक्सपोर्ट पनि पेश गर्नुपर्ने भएको छ ।

आयातकर्ताले भने यो प्रावधान अव्यावहारिक भएको भन्दै विरोध गरेका छन् । आयातकर्ताका प्रतिनिधि (भन्सार एजेण्ट)हरूले ‘बिल अफ एक्सपोर्ट’ अनिवार्य गर्दा प्रक्रियामा बढी समय लाग्ने बताएका छन् ।

एजेण्टले भन्सार प्रमुखलाई भेटेर प्रक्रियाका नाममा आयातलाई अनावश्यक असहज नबनाउन आग्रह समेत गरे ।

वीरगञ्ज भन्सार एजेण्ट सङ्घका अध्यक्ष बालकृष्ण बस्नेतले भारतीय भन्सारले यस्तो कागजात उपलब्ध गराउन ५ देखि ७ दिन लगाउने बताए । भारतीय भन्सारले प्रविधि र जनशक्ति अभावलाई कारण देखाएर मालसामान पास भएको एक हप्तामा यस्तो कागजात दिने गरेको छ । उनका अनुसार अहिले यही कागजको अभावमा नाकामा आइपुगेका गाडी ५ देखि ७ दिनसम्म रोकिनुपर्ने अवस्था आएको छ ।

भारतीय भन्सारले मालसामान पास भएसँगै यो कागजात दिने व्यवस्था नहुँदासम्म अनिवार्य गर्न नहुने आयातकर्ताको माग छ । वीरगञ्ज भन्सारले यसलाई सहजीकरण गरेर प्रावधान कार्यान्वयनमा ल्याएमा समस्या नहुने वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष प्रदीपकुमार केडिया बताउँछन् ।

‘व्यापारको पारदर्शिताका लागि प्रावधान सकारात्मक भए पनि यसबाट उत्पन्न अप्ठ्यारोको समाधान पनि भन्सारले दिन सक्नुपर्छ,’ उनले आर्थिक अभियानसित भने ।

यसले ढुवानीमा जरीवानाको भार बढी पर्ने देखिएको छ । एउटा ट्रकले दिनको २ हजारदेखि ४ हजार भारतीय रुपयाँसम्म जरीवाना तिराउँछन् । वीरगञ्ज नाकाबाट अहिले भारतीय मालसामान बोकेका करीब ५ सय ट्रक भित्रिन्छन् । जरीवानाले आयात महँगो हुँदा उपभोक्तालाई मार पर्छ । यसअघि चेक सूचीका आधारमा जाँचपास हुँदा यो समस्या थिएन । वीरगञ्ज भन्सारका प्रमुख सेवन्तक पोखरेल भने भारतीय भन्सारले हातको हात बिल अफ एक्सपोर्ट दिइरहेको दाबी गरे । ‘यो प्रक्रियाबाट जसलाई समस्या परे पनि हामी सहजीकरणका लागि तयार छौं,’ उनले भने ।

एजेण्टको विरोधपछि भन्सार उद्योगको कच्चा पदार्थ र गाडी पुरानै प्रक्रियाबाट भित्र्याउन सहमत भएको छ । अन्य मालसामानलाई अनुमति दिएको छैन । एजेण्टहरूसँगको छलफलमा भन्सार प्रमुखले भारतीय भन्सारले कागजात पेश भएको भोलिपल्ट बिल अफ एक्सपोर्ट दिने दाबी गरेको एक एजेण्टले बताए । ‘भोलिपल्ट दिएपनि नाकामा आइसकेको गाडी कम्तीमा पनि २ दिन रोकिनुपर्छ,’ ती एजेण्टले भने ।

केही आयातकर्ताले चेक सूची दुरुपयोग गरेको खुलेपछि भन्सारले यो कागज अनिवार्य गरेको भन्सारका एक अधिकारीले बताए । भन्सार एजेण्टका अध्यक्ष बस्नेत भने त्यस्ता आयातकर्तालाई भन्सारले कारबाही गर्नुपर्ने बताउँछन् । तर, केही व्यवसायीको बदमासीलाई लिए र मुख्य नाकाको अधिकांश व्यापार नै असहज बनाउन नहुने तर्क उनको छ ।

विरोधका कारण

भारतीय भन्सारले कागजात उपलब्ध गराउन ५ देखि ७ दिन लगाउने

उक्त कागजातको अभावमा नाकामा आइपुगेका गाडी ५ देखि ७ दिनसम्म रोकिनुपर्ने

एउटा ट्रकले दिनको २ हजारदेखि ४ हजार भारतीय रुपयाँसम्म जरीवाना तिर्नुपर्ने

आर्थिकअभियानबाट

कमेन्ट गर्नुहोस्