काठमाडौं स्थित बाजेको सेकुवाका ६ शाखामा शिलबन्दी,

काठमाडौं, जेठ ३० । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या अभियोगका फरार व्यक्ति चेतनाथ भण्डारीले काठमाडौंमा सञ्चालन गरेको बाजेको सेकुवाका ६ वटा शाखामा शिलबन्दी गरिएको छ ।

गृह सह सचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष छानबिन टोलीले बुधबार ६ वटै शाखामा शिलबन्दी गरेको हो । समितिले ग्राहकलाई बाहिर निकालेर सेकुवा पसलमा शिलबन्दी गरेको थियो ।

भण्डारीमाथि हत्या, अपरहण, शरीर बन्धक, तस्करी लगायतका विषयमा मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको र अदालतकै आदेशअनुसार सेकुवा पसलहरुमा शिलबन्दी गरिएको अनुसन्धान टोलीका संयोजक ईश्वरराज पौडेलले बताए । छापा मारेर कुनै सामान बरामद भने गरिएको छैन ।

अनुसन्धान टोलीका अनुसार बाजेको सेकुवाका देशभर १३ वटा शाखा छन् । तीमध्ये ५ वटा भण्डारी आफ्नै र एउटा उनको सालाको नाममा रहेको टोलीका एक सदस्यले बताए ।

बाँकी ७ वटा भने बाजेको सेकुवा ब्रान्डमा अरुले नै चलाएका हुन् । भण्डारी र सालाको नाममा रहेका बत्तिसपुतली, सोह्रखुट्टे, सामाखुसी, कमलपोखरी, गैरीधारा र अनामनगरका शाखा शिलबन्दी गरिएको र अन्यलाई बोलाएर ब्राण्ड परिवर्तन गर्न लगाइने संयोजक पौडेलले जानकारी दिए ।

शिलबन्दी गरिएका सेकुवा पसल अदालतको आदेशपछि मात्रै के गर्ने भन्नेबारे निर्णय हुनेछ । भण्डारी हाल फरार सूचीमा छन् ।

अनुसन्धान टोलीले भण्डारी अमेरिकामा बसेको हुनसक्ने आशंका गरेको छ । तर भण्डारी अहिलेसम्म अदालतमा उपस्थित भएका छैनन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!