छाउगोठ भत्काउन खानेपानी मन्त्री बीना मगरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं, जेठ ३० । अछाममा छाउगोठमा बसेको बेला सर्पले डसेर मृत्यु भएको घटनामा खानेपानी मन्त्री बीना मगरले प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराउनु भएको छ ।

अछामको तुर्माखाँद गाउँपालिका–४ जया गाउँ निवासी १८ वर्षीया किशोरी पार्वती बुढाको छाउगोठमा मृत्यु भएको घटनामा आवश्यक कानुनी कार्वाहीका लागि मन्त्री मगरले प्रधानमन्त्री कार्यालयमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको हो ।

खानेपानी मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयलाई औपचारिक पत्र लेख्दै मन्त्री मगरले महिलाको रजस्वाला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्ने गराउन कार्य कानुनले कसुरको रुपमा लिएकोले उक्त घटनामा संवेदनशील भई तत्काल कार्वाहीका लागि अनुरोध गर्नु भएको छ ।

पत्रमा उल्लेख छ– “संवैधानिक र कानूनी व्यवस्थाको विपरित अमानवीय ढंगबाट धार्मिक, सामाजिक, सांस्कृति परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा महिलाको रजस्वाला सुत्केरीको अवस्थामा छाउपडीमा राख्न प्रयोग हुने छाउगोठहरु तत्काल भत्काउन स्थानीय प्रशासनलाई निदेर्शन दिन र मृत्यु भएको घटना सम्बन्धमा आवश्यक छानबीन गरी कानुनी प्रक्रिया बढाउन आवश्यक निर्देशनका लागि अनुरोध गर्दछु ।”

सम्बन्धित् समाचार  पाठेघर र स्तन क्यान्सर परीक्षणको अभियान लिएर आएको : मन्त्री मगर

खानेपानी मन्त्रालयले यसअघि महिनावारी र स्वच्छताका विषयमा राष्ट्रिय दिवस मनाउँदै यो विषयलाई गम्भीरतापूर्वक लिन सबैपक्षलाई अनुरोध गरेको थियो ।

 


अछामको घटना सार्वजनिक भएपछि सो सम्बन्धमा कानुनी कार्वाही अघि बढाउने, देशैभरीका छाउगोठ तत्काल भत्काउने र स्थानीय सरकारमार्फत यसविषयमा गम्भीरतापूर्वक काम गर्न मन्त्रालयले अन्र्तमन्त्रालय समन्वय समेत अघि सारेको छ ।

यसैगरी यही विषयमा गम्भीरतापूर्वक छलफल गर्न मन्त्रालयले आगामी साता यस क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुको कार्यक्रमको समिक्षा समेत गर्ने सचिवालयले जनाएको छ ।

महिनावारीका क्षेत्रमा थुप्रै संस्थाहरु कार्यरत भएपनि महिलाहरुको मृत्यु हुने घटनाले निरन्तरता पाइनै रहेको सन्दर्भमा गम्भीर भएर गैर सरकारी क्षेत्रलाई नियमन र परिचालन गर्नुपर्ने आवश्यकताका आधारमा मन्त्रालयले आउँदो साता अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी क्षेत्र एवं दातृ साझेदारहरुको बैठक बोलाएको हो ।

खानेपानी मन्त्रालयले निकट भविष्यमा नै महिनावारीसम्बन्धि राष्ट्रिय नीति निर्माण सार्वजनिक गर्ने तयारी समेत छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: