अझैसम्म कमलरी बस्न बाध्य छन् बालिका

दाङ । सरकारले २०७० असार १३ गते नै नेपाललाई  कमलरी मुक्त राष्ट्रको घोषणा गरेको भए पनि  दाङमा २१ जना बालिका अहिले पनि कमलरीका रुपमा जीवन बाँच्न बाध्य भएका छन् । त्यसमध्ये ११ जना १६ वर्षमुनिका बालिका रहेको अध्ययनले देखाएको छ ।

मुक्त कमलरी विकास मंचले दिएको जानकारी अनुसार दाङसहित पश्चिम नेपालका पाँच जिल्लामा अहिले पनि ९७ जना बालिका कमलरीकै रुपमा अर्काको घरमा काम गरिरहेका छन् ।

सरकारले राष्ट्रलाई नै कमलरी मुक्त घोषणा गरेपनि कमलरी प्रथाको भने अन्त्य हुन सकेको छैन । कमलरी मुक्त राष्ट्र घोषणा गरेपश्चात् मात्र पनि ६१ जना बालिका कमलरी बस्न शुरु गरेका छन् । जसमध्ये दाङका नौजना बालिका रहेका छन् ।

कागजमा भएको घोषणालाई व्यवहारमा कार्यान्वयन गर्नका लागि मुक्त कमलरीले आफ्नो अभियानलाई जारी राखेका छन् । खाने, बस्ने, कपडा दिने र कसैलाई पढाइ दिने बहानामा थारु समुदायका बालिकालाई घरमा कमलरीका रुपमा राख्ने क्रम अझै नरोकिएको मुक्त कमलरी उर्मिला चौधरीले बताइन् ।

कमलरी बालिकाको उद्धार तथा मुक्त भइसकेका कमलरीको अधिकारका लागि मुक्त कमलरी विकास मञ्चले बुधबार जिल्ला प्रशासन कार्यालय र भूमि सुधार कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । विभिन्न कारणले कमलरी बस्न बाध्य भएका बालिकाका लागि उद्धार गर्ने परिपाटी मिलाउन प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठसँग मुक्त कमलरी विकास मञ्चकी जिल्ला अध्यक्ष पुष्पा चौधरीले आग्रह गरिन् ।

सम्बन्धित् समाचार  क्रान्तिकारी पत्रकार संगठनमा न्यौपाने

मुक्त कमलरी विकास मञ्चले कमलरी बसेका २१ जना बालिकाको सम्पूर्ण विवरण प्रशासनमा बुझाइएको छ । मञ्चका अनुसार समाजका प्रतिष्ठित व्यक्तिले नै बालिकालाई कमलरीका रुपमा राख्ने गरेका छन् ।

सरकारले स्वीकृत गरेका कमलरीको परिचयपत्र अविलम्ब वितरण गर्न कमलरीले माग गरेका छन् । भूमि सुधार कार्यालयका प्रमुख मानबहादुर कुँवरले कार्यालयमा कर्मचारीको अभावका कारण सोचजस्तो काम गर्न नसकिएको बताए । उनले कार्यालयमा कर्मचारी कम रहेको, कामको चाप धेरै रहेको र बजेटको अभावका कारणले समस्या रहेको बताए ।

 

रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: