संसदमा पस्यो ‘सीधा कुरा’ बहस

काठमाडौँ, जेठ ३१ । टेलिभिजन कार्यक्रम ‘सीधा प्रश्न’ बन्द भएको प्रकरणले संसदभित्र समेत माहोल तातेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सम्पत्ति विवरणमाथि प्रश्न गरेको झोँकमा सञ्चारमन्त्री गोकुल बास्कोटाले ‘ठाडो आदेश’ दिएर टेलिभिजन कार्यक्रम बन्द गरेको भन्दै आपत्ति जनाएको छ ।

काँग्रेसले ‘सरकार असहिष्णु भएको’ भन्दै संसद छाडेर जनतामा जाने चेतावनी समेत दिएको छ ।

प्रतिनिधिसभाको बिहीवारको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा बोल्दै कांग्रेस नेता मीनेन्द्र रिजालले सार्वजनिक प्रसारण सेवा बनाउन लागिएको नेपाल टेलिभिजनमा मन्त्रीको सम्पत्ति विवरण देखाउँदैमा कार्यक्रम बन्द गर्ने निर्णय आपत्तिपूर्ण भएको बताए ।

‘अहिलेका बलशाली मन्त्रीको अन्तर्वार्तामा पत्रकारले सम्पत्ति विवरण देखाए भन्दैमा कार्यक्रम बन्द हुन्छ ?’ पूर्व सञ्चारमन्त्री समेत रहेका रिजालले प्रश्न गरे ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘सीधा प्रश्न’ बन्द भएपछि उक्त कार्यक्रम मन्त्रीको निर्देशनमा बन्द भएको भन्दै आलोचना भइरहेको छ ।

सञ्चार माध्यम राजनीतिक दलको माध्यमबाट प्रभावित नहोस् भनेर नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर बेलायतको बीबीसीजस्तो संसद मातहत रहने सार्वजनिक प्रशारण संस्था बनाउने योजना आफ्नो कार्यकालमा ल्याएको उनले बताए ।

दुईतिहाइको दम्भका कारण सरकाले संविधानको भावनालाई हरेक ठाउँमा कुल्चिँदै गएको आरोप रिजालले लगाए ।

‘सरकारलाई पनि नियम कानून र संविधानभन्दा बाहिर जाने छुट छैन, यो म गम्भीरताका साथ भन्छु,’ उनले भने, ‘हिजो सदनमा सभामुख र उपसभामुख फरक दलको हुने कुरा गरेका थियौँ, अहिले गलत व्याख्या गर्नुहुँदैन ।’ 

सदनमा प्रतिपक्षले ठाउँ पाएन भने जनतामा जानुपर्ने अवस्था आउने भन्दै उनले सत्तालाई दुईतिहाइको दम्भ देखाउने काम नगर्न चुनौती दिए ।

 

कमेन्ट गर्नुहोस्