बढ्दो गर्मीसँगै यी कुराहरुमा विशेष ध्यान दिनुहोस्

गर्मी मौसममा छालाको स्वास्थ्यमा पनि बढ्ता ध्यान दिनुपर्दछ । अधिकांश छालासम्बन्धी परिवर्तन सूर्यको प्रभावले हुने गर्दछ । वायुमण्डल वरिपरिको ओजोन तह पातलियो भने छालाको समस्या बढ्न सक्दछ ।

परावैजनी किरणमध्ये पहिलो प्रकारको युभी ए ओजोन तहबाट शोषित नहुने भएकाले छालाको भित्री तहसम्म पुगी नकारात्मक असर पुर्याउँदछ । युभीएको प्रभाव छालामा लामो समयसम्म हुने हुनाले बढी हानीकारक मानिन्छ । तर, दोस्रो प्रकारको युभी बी आंशिक मात्रामा ओजोन तहबाट सोसिएपनि पृथ्वीसम्म पुगेको किरणले छाला डढाएर नराम्रो मात्र बनाउँछ । छालामा परावैजनी किरणको असर व्यक्ति विशेषको छालामा पनि निर्भर हुन्छ । उदाहरणको लागि गोरो छाला छिट्टै डढ्छ ।

गर्मी महिना लागे लगत्तै सनस्क्रिनको समुचित उपयोगले छालामा घामको तत्कालिक र दीर्घकालिक प्रभावबाट धेरै मात्रामा जोगिन सकिन्छ । केही सनस्क्रिन वा सनब्लकले सूर्यको परावैजनी किरणको कुप्रभावबाट जोगाउन सक्छ । सनब्लक र सनक्रिममा खासै भिन्नता छैन दुवैले सूर्यको विकिरणबाट बचाउँछ । तरपनि सनस्क्रिनले युभीबीको प्रभावबाट बचाउँछ भने सनब्लकमा जिंक अक्साईड पनि हुने भएकोले सम्मुचमा सूर्यको परावैजनी किरणलाई छालाको सम्पर्कमै आउन रोक्छ ।

सूर्यको परावैजनी किरणका कारण छालाको रंगमा परिवर्तन आउनुका साथै जलन हुने तथा छालामा समय अगावै बुढ्यौली निम्तिने हुन्छ । यसका कारण छालामा सुख्खापन आउनुका साथै चाउरीपना आउने, सेतो दाग देखिने तथा कालान्तरमा क्यान्सर हुने पनि हुनसक्छ । खोला, ताल तलैया छेउछाउको बालुवाको थुप्रो, पानी, कंक्रिटबाट सूर्यको हानीकारक किरण बढ्ता परावर्तित हुन्छ भने घर वा सवारी साधनको झ्यालबाट आउने अप्रत्यक्ष किरणले पनि छालामा हानी पुर्याउछ । छालालाई घामको कारणले हुने क्षतिबाट जोगाउन दिनभरको घामबाट सकेसम्म टाढा रहनु फाइदाजनक हुन्छ । केही औषधिको सेवनले घामप्रतिको संवेनदनशीलता बढाउन सक्ने हुनाले यस प्रति सजग हुनु पर्दछ । त्यसो त एसपीएफ १५ ले युभी बी विकिरणबाट ९३ प्रतिशत जोगाउँछ भने एसपीएफ ३० ले ९७ प्रतिशत जोगाउँछ ।

प्रायसः नेपालीहरुले २० भन्दा माथिको एसपीएफ भएको सनस्क्रिन लाउनु राम्रो हुन्छ । कालोपोतो हुने व्यक्तिले तेल नभएको सनस्क्रिन प्रयोग गर्नु पर्दछ । सामान्य र सुख्खा छालाको लागि सनस्क्रिन उपयुक्त हुन्छ । सुख्खा छाला तथा शरीरको अन्य भागमा लोसन लगाउनुपर्दछ ।

सनस्क्रिन लगाएको केही समय भित्रै विमिरा देखिएमा सनस्क्रिनकै एलर्जी भएको हुनसक्छ । शरीरको खुल्ला भागमा घाममा निस्कनु १५ मिनेट अगाडि सनस्क्रिन लगाउनु पर्दछ । यस क्रममा नाक, गर्दन, खुटाको माथिल्लो भाग, कानको किनारा र ओंठमा पनि पनि लगाउनु पर्दछ । सुख्खा खालको छाला हुनेले आधा घण्टा अघि सनस्क्रिन लगाउनु राम्रो हुन्छ । त्यसैगरी घर बाहिर लामो समय बसिन्छ भने यस्तो लोसन प्रत्येक २ घण्टामा लगाइ राख्नु पर्दछ ।

घरभित्र पनि सूर्यको किरणको प्रभाव हुने भएकोले घरमा बस्दा कम पावर अर्थात् एसपीएफ १५ को भएपनि लोसनको प्रयोग गर्नु पर्दछ । छालालाई घामको असरबाट जोगाउन लोसन, क्रिम बाहेक पहिरनमा पनि ध्यान दिनु पर्दछ । गर्मी मौसममा सुतीका लुगा राम्रो हुन्छ । त्यसमाथि शरीरको अधिक भाग छोपिने खालको शर्ट र प्यान्ट लगाउँदा हानीकारक घामबाट बच्न सकिन्छ । घामलाई छेक्न लगाइने ह्याट तथा गुणस्तरीय सनग्लास पनि गर्मी याममा उपयोगी हुन्छ । घाममा हिँड्नु पर्दा छाताको प्रयोग गर्ने तथा गर्नुपर्दछ ।

गर्मी मौसममा छाला सम्बन्धि अन्य समस्या गर्मी मौसममा संक्रामक (सरुवा) रोगहरु तुलनात्मक रुपमा बढी नै लाग्ने गर्दछ । टाईफाइड, औलो, कालाज्वर लगायतका सरुवा रोगहरुका लक्षण चिन्ह विभिन्न खाले छालाका समस्या पनि हुनसक्छ । विभिन्न खालका घाउ खटिरा जस्ता संक्रमणहरु सुुरुमा भाइरसका कारण उत्पन्न भएपनि त्यसमा ब्याक्टेरियाले थप आक्रमण गरेपछि स्थिति जटिल अवस्थामा पुग्न सक्छ । यसैगरी यो मौसममा आँखा पाक्ने समस्याका साथै बहुला कुकुर तथा सर्पको टोकाइका कारण छालामा पनि समस्या देखिन सक्छ । गर्मी मौसमसँगैको आगलागीका कारण पनि छाला डढ्ने, चोटपटक लाग्ने हुन्छ ।

गर्मी मौसममा शरीरको पसिना उत्पादन तथा उत्सर्जन दरमा वृद्धि हुन्छ । यहि उच्च मात्राका पसिनाको कारण शरीरमा आद्र्रता बढ्छ । यसले गर्दा छालामा ब्याक्टेरियल तथा फंगस संक्रमण हुने सम्भावना बढ्छ । यदि पसिना ग्रन्थीको मुख थुनियो भने शरीरका विभिन्न भागमा स–साना विमिरा, डण्डीफोर लगायतका छालाका समस्या बढी आउँछ । यस्तो समस्या हुँदा चिलाउने, जलन हुने, पिप भरिने, दुख्ने आदि हुन्छ । विशेषगरी अधिक मोटोपना भएका व्यक्तिको घाँटी पछाडि, स्तनमुनि, घुँडा पछाडि, काखी तथा काछ अर्थात् छाला जोडिने ठाउँको छाला बाक्लिने, छालाको रङ परिवर्तन हुने समस्याका साथै गर्मी मौसममा फंगस संक्रमण हुने, पाछिने हुन्छ ।

सरुवा रोग तथा छाला सम्बन्धी समस्याको स्थायी समाधानका लागि नियमित रुपमा सरसफाई गर्नुको विकल्प छैन । लामखुट्टेको टोकाईका कारण हुने औलो, कालाज्वरमा पनि कतिपय छालाका समस्या हुन सक्छन् । अतः गर्मी बढेसँगै लामखुट्टेबाट बच्नका लागि लिक्विडेटर बाल्ने, म्याट बाल्ने, धुप जलाउने भन्दा लामो बाहुला भएको लुगा लगाउने, झुल लगाउने, झयाल ढोकामा तारजाली ठोक्ने बुद्धिमानी हुन्छ ।

बढी गर्मी भएको ठाउँमा दिनमा दुईपटक सम्म नुहाउने गर्नु पर्दछ । पोलिस्टर वा नाईलन मिक्स सिन्थेटिक एवं जिन्स लुगाफाटा भन्दा सेतो, चहकिलो रङको सुतीको कपडा लगाउने गर्नुपर्दछ । हावा खेल्ने खुकुलो खालको लुगा स्वस्थ्यकर हुन्छ । भित्री लुगा दिनहुँ फेर्ने गर्नु पर्दछ । शरीरको आद्र्रता कायम राख्न अधिक मात्रामा पानी पिउनु पर्दछ । घरमा आएपछि अर्थात् कामबाट फर्केपछि एकैछिनको आराम पछि हातमुख धुने गर्नु पर्दछ । अझै पनि काखी गन्ध आउँछ भने डियोडेरेन्ट स्प्रे तथा लोसन प्रयोग गर्न सकिन्छ । तर सधैंभरि डियोडेरेन्ट वा परफ्युम प्रयोग गर्नु भन्दा नियमित शारीरिक सरसफाईमा ध्यान दिनु बुद्धिमानी हुन्छ । आगलागीका घटनाबाट जोगिने उपाय अपनाउनु पर्दछ ।

गर्मी मौसममा बालबालिकाहरुमा तुलनात्मक रुपमा संक्रामक खालका तथा आगलागी एवं चोटपटकजन्य छालाका समस्या बढी देखिन्छ । यसका साथै आँखा पाक्ने समस्या र शरीरको विभिन्न भागमा घाउ खटिरा आउनुका साथै नजिकको ग्लेन्ड ९गिर्खा० पनि सुन्निने र दुख्ने हुन्छ । यस्ता समस्याहरुबाट बच्नका लागि व्यक्तिगत सरसफाईका साथै लामखुट्टे तथा अन्य कीत पतङ्ग विरुद्ध विभिन्न उपायहरु अवलम्बन गरेको खण्डमा थुप्रै खाले सरुवा रोग (संक्रमण) बाट बालबालिकाहरुलाई बचाउन सकिन्छ ।

डा, सुमनराज ताम्राकार

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!