२५ करोड घोटाला काण्डः खानेपानी संस्थान निर्देशकमाथि छानबीन शुरु

काठमाडौं, असार ६ । पाईप खरिद प्रक्रियामा घोटाला भएको भन्दै खानेपानी मन्त्रालयले नेपाल खानेपानी संस्थानका निर्देशक भूपेन्द्र प्रसादमाथि छानबीन शुरु गरेको छ ।

गर्त वर्ष खानेपानी संस्थानका लागि पाइप खरिदा गर्दा २५ करोड घोटाला गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत परेको थियो ।

पाइप खरिद गर्दा किरण वैद्यको एक्जिम नेपाल र भाइराजा नकर्मीको फर्मसँग मिल्ने क्राइटेरिया बनाई २५ पच्चीस करोड रुपैयाँको टेण्डर पारेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

दुबै टेण्डरलाई नियतवश १० दश दिनको फरकमा निकालिएको र सार्वजनिक खरिद ऐन अन्तर्गत ग्लोबल टेण्डर नगरी उल्लेखित दुवैफर्मलाई उक्त टेण्डर दिइएको आरोप उजुरीमा थियो ।

छानबीन समिति गठन

टेण्डरमा दुबै फर्मलाई ५० करोडको पाइप खरिद गर्न भनिए पनि नेपालगञ्ज भन्सार नाकाबाट १२ करोड र भैरहवा सुनौली भन्सार नाकाबाट १३ करोडको पाइप मात्रै भन्सार पास भएकोले २५ करोड घोटाला भएको उजुरीका आधारमा मन्त्रालयले छानबीन समिति गठन गरेको छ ।

अख्तियारले समेत छानबीनका लागि निर्देशन गरेको र मन्त्रालयले संस्थानका बारेमा सधैं गुनासो आउन थालेपछि छानबीन समिति गठन गरेको समितिका संयोजक गुणराज श्रेष्ठले बताए ।

मन्त्रालयले कानुन उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा मन्त्रालयका इन्जिनियरद्वय दिनेश अधिकारी, शेखर खनाल, लेखा अधिकृत राजेन्द्र प्रसाद घिमिरे र नेपाल खानेपानी संस्थानका विष्णु सुब्बा सदस्य रहने गरी पाँच सदस्यीय छानबीन समिति गठन गरेको हो ।

छानबीन समितिलाई सात दिन भित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको श्रेष्ठले बताए । खानेपानी संस्थानमा अवैधरुपमा बोर्ड सदस्य थपिएको भन्दै गत साता बसेको मन्त्रीपरिषद्को बैठकले जम्मा ९ जना मात्रै बोर्ड सदस्य रहने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्