म महिला हुँ त के भो, पुरुषसरह बक्सिङ खेल्छु : रावल

काठमाडाैं । सुदूरपश्चिम बाजुराकी पुनम रावल बक्सिङकी राष्ट्रिय खेलाडी हुन्। व्यवहार नरम र स्वभाव लजालु। खेलकुदको यो चुनौतीपूर्ण विधामा भने नितान्त भिन्न रूप।

सात वर्षदेखि निरन्तर बक्सिङ खेलिराखेकी रावलले आफूलाई राम्रो अन्तर्राष्ट्रिय खेलाडीका रूपमा स्थापित गरेकी छन्। अहिले उनी आसन्न एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुन छानिएकी छन् र त्यसैका लागि तयारी गर्दैछिन्।

विकट बाजुराकी यी चेलीलाई खेलकुदमा आफ्नो भविष्य बनाउन त्यति सहज थिएन। त्यसमाथि बक्सिङ खेल्न थालेको थाहा पाएर घरगाउँलेले उपहास पनि गरेका थिए।  उनी भन्छिन्, ‘पहिला कतिले पागल भन्थे। अहिले गाउँमा मात्र हैन, पूरा देशमै सम्मान पाइएकी छु।’ पुनम भन्छिन् पुरुष सहकर्मी र अभिभावकको राम्रो साथ छ।

गाउँमा बक्सिङ प्रशिक्षक योगेन्द्र थापाले उनलाई बक्सिङको आधारभूत प्रशिक्षण दिएका थिए।

राष्ट्रिय प्रतियोगिताको रूपमा रहेको लुम्बिनी च्याम्पियनशिपमा नेपाली सेनाकी खेलाडीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई सेनामै भर्ना हुने निम्तो आयो। त्यो आकर्षक निम्तो थियो। त्यसैले आफ्नो बक्सिङ करिअरलाई नै नयाँ मोड दिएको रावल बताउँछिन्।

यसले केही गर्न सक्छे भनेर आँट र हिम्मत सेनाका अभिभावकहरूले सधैँ दिनुहुन्थ्यो। त्यसले मेरो आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्यो,’ उनी भन्छिन्। शारीरिक शक्ति अत्यन्त आवश्यक पर्ने अनि कुट्ने र कुटाइ खानुपर्ने बक्सिङ खेलको प्रकृति कतिले महिला सुहाउँदो मान्दैनन्।

सम्बन्धित् समाचार  अल्ट्रा म्याराथन धाविका मीरालाई रु २८ लाखसहित सम्मान

तर रावल त्यो मान्यतासँग विमति राख्छिन्। भन्छिन्, ‘हामी महिला कुनै कुरामा पुरुष भन्दा कम छैनौँ। उनीहरू जति दौडिन्छन्, हामी पनि त्यति नै हो। प्रशिक्षण बराबरी नै हो। शक्तिमा पनि हामी कम छैनौँ।’

रावलका अनुसार बक्सिङ खेल्दा पुरुष र महिला खेलाडीबीच प्रशिक्षणका बेला वा अरू व्यवहार र सुविधामा कुनै भेदभाव हुँदैन। सबैबाट सहयोग पाएको बताउँछिन्। भन्छिन्, ू‍हामीलाई प्रशिक्षणमा सघाएकै छन्। कमजोरीहरू खुट्याइदिन्छन्।ूकुट्ने र कुटाइ खाने अनुभव बारे उनको भनाइ पनि रोचक छ।

भन्छिन्, ‘बक्सिङ खेलाडी भएर पनि अलिअलि कुटाइ सहन सकिएन भने के बक्सिङ खेलाडी ? अनि कुट्ने बेला माया गर्न थाल्यो भने कसरी जित्ने ?’ राष्ट्रिय च्याम्पियन रावलसँग केही अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छ। गएको वर्ष भारतमा भएको प्रतियोगितामा उनले कास्य पदक जितेकी थिइन्।

उनको अबको लक्ष्य इन्डोनेशियामा हुने एशियाली खेलकुदमा पदक जित्ने। उनी भन्छिन्, ‘विपक्षीको पनि दुई हात हो र हाम्रो पनि। मेहनत र भाग्यले साथ दिए इन्डोनेशियाबाट पदक लिएर आइन्छ।’ बीबीसी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: