अस्थायी शिक्षकको परीक्षा मिति तोकियो

काठमाडौं, असार ७ । शिक्षक सेवा आयोगले खुला प्रतिस्पर्धाभन्दा पहिला अस्थायी शिक्षकबीच आन्तरिक प्रतिस्पर्धाका लागि परीक्षा लिने भएको छ । ४ पटकसम्म स्थगित अस्थायी शिक्षकको परीक्षा असार २९ र ३० गते लिइने आयोगले जनाएको छ ।

आयोगले यसअघि नै खुलातर्फ विज्ञापन खुलाएर परीक्षा मिति असोज ११, १२ र १३ तोकिसकेको छ । आयोगका प्रवक्ता दामोदर आचार्यका अनुसार असार २९ गते माध्यमिक, निम्नमाध्यमिक र असार ३० गते प्राथमिक तहको परीक्षा हुनेछ ।

यसअघि अस्थायी शिक्षक र विद्यार्थी संगठनको आन्दोलनका कारण गत चैत २३ का लागि तोकिएको परीक्षा स्थगित गरिएको थियो । खुला र आन्तरिक प्रतिस्पर्धा सँगसँगै गर्ने भनेर सूचना प्रकाशित गरिएकामा निर्धारित परीक्षा रोकिएको थियो । खुला र आन्तरिक सँगसँगै परीक्षा लिने भन्दै यसअघि स्थगित अस्थायी शिक्षकको आन्तरिक प्रतिस्पर्धाका लागि असार २९ र ३० मा परीक्षा हुने भएको छ ।

आयोगले असारमा अस्थायी शिक्षकको परीक्षा सकेर असोजमा खुलातर्फको परीक्षा लिन लागिएको जनाएको छ । आन्तरिक प्रतिस्पर्धाका लागि यसअघि तीनवटै तहका २२ हजार ७६ पदमा विज्ञापन गरिएको थियो । ती पदका लागि २३ हजार ३ सय अस्थायी शिक्षकले आवेदन दिएका छन् । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्