खोपमा सरकारी लापरबाही,चार बालबालिकाको मृत्यु

असार १८ । सर्वोच्च अदालतले ६ वर्षअघि दादुरा विरुद्धको खोप लगाएपछि मृत्यु भएका डोटीका चार बालबालिकाको परिवारलाई क्षतिपूर्ति दिन सरकारका नाममा परमादेश जारी गरेको छ ।

गोरखापत्र दैनिकका अनुसार राज्यका अधिकारीहरुको गैरजिम्मेवार कार्यले निर्दोष बालबालिकाको ज्यान गएको भन्दै अदालतले प्रतिपरिवार १० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ । ०६९ भदौ ३ गते डोटीको काडामाडौं गाविसमा दादुरा खोप लगाइएका ६ जनामध्ये चार बालबालिका मिलन नेपाली, सुजाता नेपाली, गौरी चिराल र अञ्जु विकको मृत्यु भएको थियो ।

सावधानीपूर्वक खोप नलगाइएका कारण बालबालिकाको मृत्यु भएकोलाई जिल्ला जनस्वास्थ्य कार्यालयले समेत स्वीकार गरेको भन्दै अदालतले क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

क्षतिपूर्तिको माग गर्दै अधिवक्ता दलबहादुर धामीसहितले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

कमेन्ट गर्नुहोस्