उपत्यकामा पानी ल्याउने संघर्ष [फोटोफिचर]

सुन्दरीजल, असार २० । मेलम्चीको पानी अाउने आशामा काठमाडौं उपत्यकाका जनता बसेको वर्षौं भयो । उपत्यककावासीले अाश मारेकाे परियाेजना अहिले अन्तिम चरणमा पुगेकाे छ । मन्त्रालयकाे जिम्मेवारी पाएसँगै खानेपानी मन्त्री बिना मगरले पनि निर्धारित समयमा उपत्यकावासीलार्इ पानी खुवाउने अठाेट लिनु भएकाे छ । उहाँकै शब्दमा ‘मेलम्चीको पानी दशैं अगाडि नै राजधानी पथान्तरण हुन्छ ।’

मेलम्चीको पानी निर्धारित समयमै काठमाडौंवासीले उपभोग गर्न पाउने कुरामा शंका नर्गन अनुरोध गर्नुहुन्छ परियोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का निर्देशक तिरेशप्रसाद खत्री । समयमै काम सम्पन्न गरि जतिसक्दो छिटो उपत्यकावासीको धारामा पानी झार्ने दिन आफ्नो ठूलो बोझ हल्का हुने बताउनु हुन्छ निर्देशक खत्री ।

सुन्दरीजलस्थित वाग्मतीको मुहानमा जडान गरिएको पाइप(इन्टेक) को मुख बाढीले पुरेपछि खोल्नका लागि निर्देशन दिंदै परियोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) कस्ट्रक्सन सुपरभिजन इन्जिनियर पुजन श्रेष्ठ ।
सुन्दरीजलस्थित वाग्मतीकाे मुहानमा जडान गरिएकाे पाइप(इन्टेक) काे मुख बाढीले पुरेपछि खाेल्ने प्रयास गर्दै परियोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का मजदुर ।

यतिबेला काठमाडौं उपत्यकाको खानेपानी व्यवस्थापनका लागि पूर्वाधार निर्माण र फोहोर पानी व्यवस्थापनमा कार्यरत् पिआइडीले मेलम्ची खानेपानीका लागि बिछ्याइएका पाइपहरु सफा गर्ने, परीक्षण गर्ने काम सुरु गरेको छ । जसलाई फ्लसिङ, टेस्टिङ तथा कमिसनिङ भनिन्छ ।

मेलम्चीको पानी अगावै सुन्दरीजलबाट बाग्मतीको करिब ४ करोड लिटर पानी दैनिकरुपमा राजधानी पठाउन लागिपरेको छ पिआईडी । निर्देशनालयले बाग्मतीको पानीलाई सुन्दरीजलमा जम्मा गरेर अबको केही दिनमा नै राजधानीमा पानी पथान्तरण गर्ने तयारी गरेको छ ।

बर्खायाम, नदीको भेललाई छिचोल्दै पानी पथान्तरण गर्नु सजिलो पटक्कै छैन । सोझै पानी पठाउनुपूर्व निर्देशनालयले तीन चार हप्ता पाइप पखाल्ने योजना बनाएको छ । यही योजना अन्तर्गत अहिले सुन्दरीजलबाट दैनिकरुपमा पानी पाइप पखाल्न सुरु भएकाे छ ।

उपत्यकावासीलाई मेलम्ची खानेपानी आउन अगाबै वागमतीको पानी कलेक्सन च्याम्बर (पानी संकलन केन्द्रमा) ल्याउन बनाइएको संरचना ।
मुहानबाट ल्याएको पानीसँगै आएको बालुवा जम्मा वा थ्याग्र्याउन बनाईको डिसिल्टिङ च्याम्बर (जसले पाइपमा जमेको बालुवा बाहिर फाल्छ) ।
मुहानको पहिलो गेट भल्भ जसले पाइपमा भरिएको हावा निकाल्न र आवश्यक परेको खण्डमा मुहानबन्द गर्न ।
मेलम्ची खानेपानी आउनु अगावै उपत्यककावासीलाई दैनिक चार करोड लिटर पानी वितरण गर्ने सुन्दरीजलस्थित मुहानमा जडान गरिएका पाइप ।

पाइप पखाल्ने अर्थात् फ्लसिङ्गको काम निकै चुनौतीपूर्ण । नदीको बहाव तीब्र छ । उर्लिएर बगेको छ बाग्मती । त्यसमा डुबुल्की लगाएर पाइपको मुख खोज्नु कम्ती जोखिमपुर्ण छैन ।

डोरी कम्मरमा बाँधेर पानीमा डुबुल्की लगाउँदै पाइपको मुख खोजिरहेका छन् निर्देशनालयका कामदार । शुक्रबारदेखि भने हरेक दिन नियमितरुपमा पाइप पखाल्ने काम सुरु हुने निर्देशक खत्रीले बताउनु भयाे ।

हामी सुन्दरीजल पुग्दा एक दर्जन कामदार काममा तल्लिन थिए । झमझम पानी परिरहेको थियो । तर, उनीहरुलाई भने जसरी पनि  पाइपकाे मुख खाेलेर पानी पथान्तरण गर्नैपर्ने थियाे ।  उनीहरु त्यसकै लागि संघर्षरत् थिए ।  यी तस्विर उनीहरुले राजधानीमा पानी पठाउँन गरेकाे संघर्षकै सेराेफेरोमै कैद गरिएकाे हाे । क्रमश…

कमेन्ट गर्नुहोस्