बलिउड अभिनेत्री सोनालीलाई ‘हाइ ग्रेड क्यान्सर’

काठमाडौँ, असार २०। नब्बेको दशककी लोकप्रिय बलिउड अभिनेत्री सोनाली बेन्द्रेलाई ‘हाइ ग्रेड क्यान्सर’ भएको खुलासा भएको छ। यसको औपचारिक जानकारी उनले बुधबार एक ट्विटमार्फत दिएकी छिन्।

उक्त ट्विटमा सोनालीले आफूलाई केही सामान्य स्वास्थ्य समस्या देखा परेको र परीक्षण गराउँदा आफूलाई क्यान्सर भएको खुल्न आएको बताएकी छिन्।

उक्त ट्विटमा उनले आफूले यस रोगसँग लड्न भएजति कोसिस गरिराखेको बताएकी छिन्। उनी हाल न्युयोर्कमा उपचाररत छिन् र निरन्तर डाक्टरहरूसँग सुझाव लिइरहेकी छिन्।

ट्विटर र इन्स्टाग्राममा एउटा वक्तव्य जारी गर्दै उनले आफ्नो परिवारका सदस्य, शुभचिन्तक र प्रसंशकहरूलाई साथ् र समर्थन दिइरहेकोमा धन्यवाद दिएकी छिन् ।

अभिनेत्री बेंद्रे सोनालीले हम साथ साथ हैं, हमारा दिल आपके पास है, कल हो ना हो, सरफरोश जस्ता सफल चलचित्रमा अभिनय गरिसकेकी छिन्।

फिल्म वितरक गोल्डी बहलसँग विवाह गरेपछि उनी चलचित्रमा देखिन छाडेकी थिइन्। उनले आफ्नो करियरको सुरुवात मोडेलिङबाट गरेकी थिइन्।

त्रिचालिस वर्षीय यी अभिनेत्री हालका दिनहरूमा केही टेलिभिजन सोहरूमा देखा पर्दै आएकी छिन्।

एजेन्सीहरू

कमेन्ट गर्नुहोस्