आस्थाको ‘उज्यालाको खोजी’ र प्रदीपको ‘प्रयास’ विमोचन

काठमाडौं । कवि, गजलकार आस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको ‘रुवाई’ गीत गजल कृति ‘प्रयास’ र एल्बम ‘प्रयास’को शनिबार सार्वजनिकरण गरिएको छ ।  अन्तर्राष्ट्रिय गजल मञ्च नेपालको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि गजलकार ललिजन रावलले गजल तथा साहित्यले समाजले परिर्वतनमा अहम् भूमिका खेल्ने बताए ।

गजलकार रावलले साहित्यका अन्य बिधा जस्तै गजलको रचना र संरचना प्रक्रियालाई समय क्रमसँगै श्रष्टाहरुले आफू अनुकूल व्याख्या गर्ने गरेको र रचना गर्न थालेको धारणा राखे । प्रमुख अतिथिको आसनवाट वोल्दै बरिष्ठ गजलकार रावलले नेपाली शब्द हुँदाहुँदै आयातित शब्द प्रयोग नगर्न सबै गजलकारलाइ आग्रह गरे । आयातित शब्द प्रयोग गर्दा नेपाली भाषा र साहात्यिमाथि अन्याय हुने हुनाले त्यस्ता शब्द प्रयोग नगर्दा नै राम्रो हुने सुझाव दिँदै उनले साहित्यकारले समाजमा भएका तमाम विकृति र व्यतिथिविरुद्ध लेख्नु पर्ने बताए ।

‘उज्यालोको खोजी’ संग्रहकी लेखक आस्था केसीले आफू १५÷१६ वर्षको किशोरी अवस्थामा जनयुद्धमा लागेको र त्यहि समयबाट नै गीत, कविता र गजल पढ्न र लेख्न थालेको बताइन् । उनले आफूले गजल विधाको औपचारीक रुपले अध्ययन नगरेपनि हिजोका आँधी, हुरीमय जनयुद्धकालीन मुक्ति यात्रामा गजल लेख्न सिकेको बताइन् । जनयुद्धको मुक्ति यात्रामा देखेका सपना आँशिक रुपमा मात्र पूरा भएको वताउँदै उनले राजनैतिक रुपमा प्राप्त परिवर्तनलाई व्यावहारमा लागु गर्न नसक्नु बिडम्बना भएको धारणा व्यक्त गरिन् ।

पुस्तक तथा एल्बममाथि गजलकार तथा समालोचक प्रभाती किरण, ज्ञानु विद्रोही, शैलेन्द्र अधिकारी, डा. भोजराज अधिकारी, बिश्लेषक नरेन्द्रजंग पीटर लगायतले बोलेका थिए । अन्तराष्ट्रिय नेपाली गजल मञ्च नेपाल च्याप्टर सम्योजक भरत पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले गरेका थिए ।
पुस्तक कन्दरा पब्लिकेशन्सले प्रकाशन गरेको हो ।

कमेन्ट गर्नुहोस्