धोनी र शर्माको नयाँ किर्तीमानसँगै इंग्ल्यान्डविरुद्धको टी-२० सिरिज भारतकाे पक्षमा

असार २५ । विभिन्न किर्तीमान कायम गर्दै भारतले इंग्ल्याण्डविरूद्धको तीन खेलको टी-२० क्रिकेट सिरिज जितेको छ। घरेलु टोली इंग्ल्यान्डविरुद्ध आइतबार राति भएको तेस्रो तथा अन्तिम खेलमा ७ विकेटले हराउँदै भारतले सिरिज जितेको हो। ब्रिस्टोलमा इंग्ल्यान्डले दिएको १९९ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो। उसका लागि रोहित शर्माले शतकीय पारी खेले। रोहितले अविजित १०० रन बनाए। उनले ५६ बल खेल्दै ११ चौका र ५ छक्का प्रहार गरेका थिए।

यस्तै, कप्तान विराट कोहलीले ४३ तथा हार्दिक पाण्डयले अविजित ३३ रन जोडेका थिए। कोहलीले २९ बलमा २ छक्का र २ चौका प्रहार गरे भने पाण्ड्याले १४ बलमा चार चौका र २ छक्का प्रहार गरेका थिए। इंग्ल्यान्डका डेभिड विली, ज्याक बल र क्रिस जोर्डनले समान १-१ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पुरै २० ओभरमा ९ विकेट गुमाउँदै १९८ रन बनाएको थियो। इंग्ल्यान्डको लागि जाेसन रोयले सर्वाधिक ६७ रन बनाएका थिए। जोस बट्लरले ३४ तथा एलेक्स हेल्सले ३० रन बनाएका थिए। भारतका लागि हार्दिक पाण्ड्याले ४ र सिद्दार्थ काउलले २ विकेट लिएका थिए।

योसँगै भारतले ३ खेलको सिरिजमा २-१ ले आफ्नो बनाएको हो। यसअघि भारतले पहिलो खेल ८ विकेटले जितेको थियो भने दोस्रो खेल इंग्ल्यान्डले ५ विकेटले जितेको थियो। भारतले अब घरेलु टोलीसँग १२ तारिखदेखि तीन एकदिवसीय क्रिकेट सिरिज खेल्नेछ।


धोनी र शर्माको नयाँ किर्तीमान
इंग्ल्याण्डमाथिको जितले भारतीय खेलाडीले विभिन्न किर्तीमान बनाउन सफल भए । यसैबीच पूर्व कप्तान महेन्द्रसिंह धोनी टी-२० मा ५० क्याच गर्ने पहिलो विकेटकीपर बन्न सफल भए । यस्तै, उनी एकै खेलमा ५ क्याच गर्ने पहिलो विकेटरकीपरको किर्तीमान पनि बनाउन सफल रहे ।

भारतले लगातार अाठाै‌ टी-२० सिरीज जितेको छ । यस्तै, खेलमा रोहितले म्यान अफ दि म्याच र म्यान अफ दि सिरीजको अवार्ड पाउन सफल भए । भारतले पहिलो पटक इंग्ल्याण्डविरुद्ध उसकै घरेलु मैदानमा टी-२० सिरीज जितेको हो ।


यस्तै, रोहित शर्माले गय राती भएको खेलमा शतक प्रहार गरेसँगै टी-२० मा आफ्नो २ हजार रन पूरा गरेका छन् । उनी दुई हजार रन बनाउने चौथो खेलाडी हुन् । भारतमा विराट कोहलीपछि शर्मा टी-२० मा २ हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । योभन्दा पहिलो न्यूजिल्याण्डका के ब्रैण्डन म्याक्लुम र पाकिस्तानका शोएब मलिकले टी-२० मा दुई हजार रन बनाइ सकेका छन् । -एजेन्सी

कमेन्ट गर्नुहोस्