टर्कीमा रेल दुर्घटना, २४ को मृत्यु, सयौँ घाइते

इस्तानबुल, असार २५ । उत्तरपश्चिमी टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । यात्रुवाहक रेलका डिब्बाहरु पटरीबाट छुट्टिएपछि भएको दुर्घटनामा सयौँ यात्रु घाइते भएका छन् । भारी वर्षाको कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

रेलमा ३६० भन्दा बढी यात्रु सवार रहेका बताइएको छ । रेल आइतबार इस्तानबुलको हालकाली स्टेसनबाट ग्रीस र बुल्ग्रेरीयाको सीमा नजिकको एदिरर्ने क्षेत्रतफ जाने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

प्रारम्भिक समाचारमा यस दुर्घटनामा परी १० को मृत्यु भएको बताइएको थियो भने पछि सो सङ्ख्या बढेर २४ पुगेको उपप्रधानमन्त्री रेसेप आक्दाङ्ले पुष्टि गर्नुभएको छ ।

टर्कीका सञ्चारमाध्यमले यहाँका स्वास्थ्यमन्त्री अहमत देमिक्र्यानलाई उद्धृत गर्दै यस दुर्घटनामा घाइते भएका ३३८ व्यक्तिलाई उपचारको लागि अस्पताल भर्ना गरिएको बताएका छन् ।

भारी वर्षाको कारण चिप्लिएर रेलका डिब्बाहरु पटरीबाट बाहिर खस्न पुगेकोले यो दुर्घटना भएको यातायात मन्त्रालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्