मेलम्ची खानेपानीका लागि पाइप फ्लसिङ सुरू [फाेटाेफिचर]

काठमाडाैं, असार २५ ।
मेलम्ची खानेपानीका लागि बिछ्याएका पाइपकाे फ्लसिङ (सफा)  गर्ने काम सुरु भएको छ । सुन्दरीजलदेखि धोविखोलासम्मको करिब ११ किलाेमिटरमा बिछ्याएका मुख्य पाइप सफा गर्ने काम अाज (साेमबार) बाट सुरु भएको हाे । पाइप फ्लसिङ गर्ने क्रममा बागमतीकाे पानी  चावहिलस्थित धोविखोलामा झारिएकाे छ ।

उपत्यकामा पानी ल्याउने संघर्ष [फोटोफिचर]

पाइप बिछ्याउने काम अन्तिम चरणमा पुगेपछि पिआईडीले सुन्दरीजलस्थित बागमतीबाट पानी ल्याएर फ्लसिङ गर्न सुरू गरेकाे परियोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का परियोजना निर्देशक तिरेश प्रसाद खत्रीले जानकारी दिनुभयाे ।

पाइपको प्रेसर परीक्षण गर्न तथा पाइपभित्र जमेको फोहोर सफा गर्नका लागि फ्लसिङ गरिएकाे र याे काम साउनकाे अन्तिम सातासम्म चल्ने पिअाइडीले जनाएकाे छ ।

निर्देशक खत्रीका अनुसार, मुख्य र शाखा पाइपको परीक्षण सकिएपछि जडान गरिएका धाराहरूको पनि चेकजाँच गरिनेछ । ६१ किमि लामो मुख्य पाइप लाइनमध्ये ५८ किमिमा पाइप बिछ्याइसकिएको छ ।  सडक निर्माणकाे काम भइरहेकाेले कलंकी अासपासका क्षेत्रमा पाइप बिछ्याउन सकिएकाे छैन् ।

पिअाइडीले दिएकाे जानकारी अनुसार, शाखा पाइपअन्तर्गत पनि कूल ७ सय ८३ मध्ये ७ सय ३५ किमि क्षेत्रफलमा पाइप बिछ्याउने काम सम्पन्न भएको छ ।

केही समय अघि खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले  पत्रकार सम्मेलन गरि मेलम्चीकाे पानी अाउने अघिनै बागमतीकाे दैनिक ४ करोड लिटर पानी वितरण गर्ने कुरा सार्वजनिक गर्नु भएकाे थियाे । याे तथ्य सार्वजिनक भएलगत्तै मेलम्चीकाे पर्खाइमा रहेका उपत्याकावासी अन्याेलमा परेका छन् ।

मन्त्री मगरले मन्त्रालयकाे जिम्मेवारी सम्हाले लगत्तै दशैंअघि नै मेलम्चीकाे पानी ल्याउने  घाेषणा गर्दै मन्त्रीसहितकाे टाली अनुगमनका लागि पटक-पटक मेलम्ची पुगेकाे थियाे ।

मेलम्चीकाे पानी दशैं अघि ल्याउन नसकेपछि बागमतीकाे पानी ल्याउने विषय सार्वजनिक गरिएकाे भन्ने जिज्ञासामा निर्देशक खत्रीले भन्नु भयाे, ‘एक्कासी बागमतीको पानी ल्याउने कुराले मेलम्चीको पानी तत्काल नआउने हो कि भन्ने लाग्नु स्वभाविक हाेइन । तर, मेलम्चीको पानी निर्धारित समयमा ल्याउनकै लागि यो पूर्व तयारी स्वरूप सरसफाइकाे काम अघि बढेकाे हाे । पानी अाउने कुरामा शंका नगर्न उपत्यकावासीलार्इ अाग्रह गर्छु ।’

कमेन्ट गर्नुहोस्