पोखरा-बाग्लुङ सडकखण्ड खुल्यो, अझै दुःख दिन सक्छ भ्याप्ले खोलाको पहिरो

पर्वत, असार, २८ असार। अविरल वर्षासँगै पहिरोका कारण अवरुद्ध पोखरा-बाग्लुङ सडक खण्ड संचालनमा आएको छ । गए राति १० बजेबाट पर्बतको मोदी गाउँपालिका-५ भ्याप्ले खोलामा माथिबाट लेदो झार्न थालेपछि अवरुद्ध भएको सडक १२ घण्टापछि संचालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्बतले जनाए अनुसार सडक खुलेसँगै अलपत्र परेका सयौं सवारी साधन आ-आफ्नो गन्तव्यतिर लागेका छन् । पोखरा बागलुङ सडकबीच कुनै वैकल्पिक सडक नहुँदा यात्रुहरु रातभर नै सावरीसँगै सडकमै अलपत्र परेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय र डिमुवा प्रहरी चौकीले संयुक्त रुपमा रातिदेखि नै डोजरको प्रयोग गरेर पहिरो हटाउने प्रयास गरेका थिए । अहिले वर्षा रोकिएका कारण बाटो खुलाउन सकिएको भए पनि फेरि वर्षा हुँदासाथ बाटो अवरुद्ध हुने अवस्था रहेको पहिरो गएको स्थानमा रहेका ट्राफिक प्रहरी काशीनाथ चौधरीले बताए ।

वर्षा शुरु भएसँगै भ्याप्ले खोलामा पहिरो खस्ने गरेका कारण पोखरा बागलुङ सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

रासस

कमेन्ट गर्नुहोस्