बुहारीलाई धूमधामकासाथ अन्माइयो !

झापा, असार २९ । झापाको कन्काई नगरपालिका-५ तुलसीबारीको एक परिवारले आफ्नै बुहारीलाई छोरीको रूपमा विवाह गरी अन्माएका छन् । स्थानीय पौडेल परिवारले ६ वर्ष अघि विवाह गरेर घरमा भित्र्याएकी बुहारीलाई छोरीका रूपमा बुधबार दोस्रो विवाह गरिदिएका हुन् ।

स्थानीय धनपति पौडेल र टिकामाया पौडेलले आफ्ना छोरा स्व. प्रकाश पौडेलसँग पहिलो विवाह गरेर ल्याएकी बुहारी झापाको साविक पथरिया गाविस (हाल कचनकवल) का हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया (आशा) काफ्लेको आधुनिक शैलीमा दोस्रो विवाह गरिदिएका हुन् ।

पौडेल परिवारले सोही ठाउँमा घर भई हाल धनकुटामा व्यापार गर्दै आएका लेखनाथ मिश्रसँग बुहारीलाई कोटीहोमस्थित मिश्र समाज सेवा समितिको मन्दिर परिसरमा आधुनिक शैलीमा टिका टालो लगाएर आशीर्वाद दिँदा मुक्तकण्ठले प्रशंसा गर्दै गडगडाहड ताली बजाए ।

बुहारीलाई बेहुली बनाएर छोरीका रुपमा दोस्रो विवाह गरिदिन पाउँदा आफूलाई सन्तुष्टि मिलेको आशाका ससुरा पौडेलले बताए । बेहुला मिश्रकी पहिलो श्रीमति मुनाको करिब अढाई महिना अघि पाठेघरको क्यान्सरका कारण मृत्यु भएको हो ।

दुवैजना सहाराविहीन भएर बस्नु भन्दा विहे गरेर दुवैको पारिवारिक जीवन सुखयम हुने आशाका साथ काफ्ले परिवारको समेत सहमति र समझदारीमा पुरातन संस्कार र मान्यतालाई तोड्दै आफूहरूले बुहारीको विवाह गरिदिने निधो गरेको पौडेलले बताए

कमेन्ट गर्नुहोस्