डा. केसीको जीवनरक्षा माग गर्दै आकस्मिक बाहेक सबै सेवा ठप्प

काठमाडौं, असार २९ । जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल काठमाडौका आवासीय डाक्टरले हड्ताल थालेका छन् । आवासीय डाक्टरको संस्था रेजिडेण्ट डक्टर्स एसोसिएसनको आह्वानमा शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा नदिने निर्णय गर्दै हड्ताल थालिएको हो ।

स्वास्थ्य सेवा सुधारको माग गर्दै डाक्टर केसी अनशनमा बसेको १४ औँ दिन भइसक्दा पनि उहाँको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदिएकाले बाध्य भएर हड्ताल गर्नुपरेको एसोसिएसनका अध्यक्ष सुमित पाण्डेले बताए ।

आवासीय बाहेकका डाक्टरले भने नियमित रुपमा नै सेवा दिइरहेका छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनशनमा बसेका डाक्टर केशीको स्वास्थ्य अवस्था कमजोर हुँदै गए पनि सरकार गम्भीर नबनेकाले दबाब दिन सेवा बहिष्कार गरिएको उनले बताए । डाक्टर केसीको श्वासप्रश्वास र मुटुमा समस्या देखिन थालेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा अस्पतालको बहिरंग विभाग अर्थात ओपीडी राखेर सांकेतिक रुपमा उपचार दिइने उनले बताए । डाक्टर केसीसँग भएको सहमति कार्यान्वयनमा सरकारले चासो नदिँदा आन्दोलन गर्न बाध्य भएको डाक्टरले बताएका छन् । केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनमा बस्नु भएको यो १५ औं पटक हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: