सांसदकै श्रीमान ठेकदार, अनियमितता व्यापक !

महोत्तरी, १३ साउन । प्रदेश नं २ मा राष्ट्रिय जनता पार्टी (राजपा) बाट प्रदेश सांसद बनेकी बबितादेवी चौधरीका श्रीमानले सडक निर्माणमा व्यापक अनियमितता गरेको स्थानीयले आरोप लगाएका छन् ।

सांसद चौधरीका श्रीमान् विनय चौधरीले सांसद विकास कोषको आव २०७४÷७५ को १० लाखभन्दा बढी रुपैयाँ यसै साता गरेको पक्की सडक निर्माणमा व्यापक भ्रष्टाचार गरेको स्थानीयवासीले आरोप लगाएका हुन् । सांसद चौधरीका श्रीमान विनयले आफ्नै गाउँमा स्थानीय सुरेश चौधरीको घरदेखि राष्ट्रिय प्राथमिक विद्यालय बजराही जाने सडकमा अनियमितता गरेको आरोप लागेको हो ।

विनयले स्थानीयवासीलाई बेवास्ता गर्दै सो सडकमा पक्की ढलानको काम गर्दा होर्डिङ बोर्ड नझुण्ड्याएको, कतिको लागत, कति मिटरमा काम हुने, कस्तो काम हुने, रड, सिमेन्ट, बालुवाको के कति भाग हुने जस्ता इस्टिमेटका बारेमा कसैलाई कुनै जानकारी नगराएको स्थानीयवासी वीपेन्द्र पाण्डेले गुनासो गरे ।

त्यस्तै, सो निर्माण कार्यको उपभोक्ता समिति को हो भन्ने बारेमा समेत कसैलाई केही थाहा नरहेको स्थानीय लक्ष्मण ठाकुरले बताए । सडक निर्माण गर्दा स्थानीयले इस्टिमेट, बजेट, होर्डिङबोर्ड लगायत माग गर्दै निर्माण रोक्न खोज्दा विनय र उनका सहयोगी नरेश सिंहले आफूहरुलाई गाली-बेइज्जती गर्नुका साथै कुटपिट गर्ने धम्की दिएको अर्का स्थानीय रोशन पाण्डेले बताए ।

विनयले आफूखुशी तरिकाले सडक निर्माण गरेको सम्बन्धमा स्थानीयवासीले जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रलाई त्यसबारे जानकारी गराउँदै सो काम रोक्न अनुरोध गर्दा प्रमुख मिश्रले त्यो काम आफ्नो अधिकार क्षेत्रको नभएको भन्दै फर्काइदिएको अर्का स्थानीय भिखारी मण्डलले बताए ।

त्यस्तै सो समस्या लिएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा जाँदा त्यहाँबाटसमेत कुनै सहयोग नमिलेको स्थानीय राजु मण्डलले बताए । यसरी सांसदको पतिले गरेको भ्रष्टाचारका बारेमा स्थानीयवासीले रोक लगाउन जाँदा गाली बेइज्जती सहनु परेको, स्थानीय प्रमुख तथा प्रहरी प्रशासन समेतबाट कुनै सहयोग नमिलेपछि उनीहरु दुःखी र आक्रोशित भएका छन् । साथै, स्थानीयले अख्तियारलगायत सम्बन्धित सम्पूर्ण निकायलाई ध्यानाकर्षण गराउँदै यस कामको स्थलगत निरीक्षण गर्न तथा भ्रष्टाचारीलाई कानूनी कारबाहीको माग गरेका छन् ।

विनयमाथि लागेको आरोपबारे सांसद बबिता चौधरीसँग जानकारी लिन खोज्दा उनले आफू विरामी भएको र अहिले प्रतिक्रीया दिनसक्ने अवस्थामा नरहेको बताइन् । यस्तै, सांसद चौधरीका पति विनयलासँग कुरा गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!