शिक्षक सेवा आयोग; बिना तयारी कक्षा सफलता कसरी?

एभरेस्ट दैनिक डट कममा हामीले शृंखलाबद्ध रूपमा शिक्षक सेवा आयोगको तयारी कसरी गर्ने भन्नेबारे चर्चा यसअघि नै गरिसकेका छौं। सामाजिक संजालमा तयारीमा रहेका युवाहरूले विभिन्न जिज्ञासाहरू राखिराखेका हुन्छन् र ती मध्ये एउटा जिज्ञासाहो ‘बिना तयारी कक्षा भर्ना गरेर यस प्रतियोगितामा सफलता पाउन सकिन्छ या सकिन्न?’

यस प्रश्नको उत्तर सिधा सिधा नहुन सक्छ। परिक्षामा उत्तीर्ण हुन तयारी कक्षाको ठुलो महत्व रहेको छ तर यो नै सबै कुरा या एक मात्र सूत्र भने होइन। सबैभन्दा महत्वपूर्ण कुरा के भने तयारी कक्षा लिएर होस् अथवा नलिएर वास्तविक तयारी परीक्षार्थी आफैंले गर्ने हो। कक्षा लिंदा यसमा धेरै हदसम्म सहजता आउन सक्छ तर यसको अर्थ कक्षा लिन नभ्याएको खण्डमा पहाड नै खसिहाल्छ भन्ने चाहिं सोच्नु भएन।

तयारी कक्षाहरू अक्सर सहर केन्द्रित छन् यस्तो अवस्थामा दूरदराजमा बस्ने तयारीकर्ताहरूको पहुँच त्यहाँसम्म नपुग्न सक्छ। फेरि कतिपयले त तयारी कक्षाकै लागि खाइपाइरहेको जागिरबाट समेत हात धुनु पर्ने बाध्यता रहेको छ। त्यसैले आज हामी बिना तयारी कक्षा परीक्षामा सफलता पाउन सकिन्छ या सकिन्न र सकिन्छ भने त्यसका लागि के कसरी तयारी गर्ने भन्नेबारे चर्चा गर्नेछौं।

सबैभन्दा पहिलो प्रश्न तयारी कक्षा बिना सफलता सम्भव छ या छैन भन्ने नै हो र यसको उत्तर हो सम्भव छ। अब अर्को प्रश्न छ यदि सम्भव छ भने तयारी कसरी गर्न सकिन्छ त? एभरेस्ट दैनिकले पूर्ववर्ती परीक्षाहरूमा सफलता पाइसकेका केही शिक्षकहरूका अनुभवहरूको निचोड समेटेर यो आलेख तयार पारेका छ।

निश्चित रूपमा तयारी कक्षाहरूले परीक्षार्थीलाई विषयवस्तु बुझ्न, पाठ्यसामग्री खोज्न र आफू कुन स्तरमा तयारी गरिराखेको छु भन्ने बुझ्न समेत ठुलो मदत गर्न सक्छन्। त्यति मात्र होइन त्यहाँ परीक्षार्थीले छलफल र लागेको शंका निवारणका लागि समेत सहजता प्राप्त गर्न सक्छ। त्यसका साथै तयारी कक्षाहरूमा हुने साप्ताहिक या अर्धमासिक परीक्षाहरूमा परीक्षार्थीलाई आफ्नो क्षमता परीक्षणको मात्र होइन बरु समय व्यवस्थापन कसरी गर्ने भन्नेबारे समेत व्यवहारिक ज्ञान प्राप्त हुन्छ।

तर विभिन्न कारणले तयारी कक्षा लिन नसकेकाहरूले पनि निरन्तर तयारीद्वारा सफलता प्राप्त गर्न सक्छन्। तर यसका लागि हुन् सक्छ उनीहरूले केही बढी नै तयारी गर्नु परोस्। यस अघिका परीक्षाहरूमा सफलता हासिल गर्नेहरूलाई हेर्ने हो भने त्यसमा तयारी कक्षामा पढेर तयारी गरेका र घरमै तयारी गरेकाहरूको सफल हुने अनुपात उस्तै उस्तै छ। यस प्रष्टसँग भन्नुपर्दा भेटिएका जति सफल शिक्षकहरूले आफैं तयारी गरेको जवाफ दिए। यसरी हेर्दा आफ्नै बलबुतामा तयारी गर्नेहरूले पनि सफल भइन्न कि भनेर चिन्ता लिनु आवश्यक छैन।

अब प्रश्न उठ्छ- गर्ने के? परीक्षामा दुई प्रकारको प्रश्नपत्र हुने गर्दछन्- वस्तुगत र विषयगत। र, वस्तुगत प्रश्नहरूका निम्ति समग्र सूचनाहरू बेलैमा संकलन गरेर तीबारे जानकारी लिइराख्नु पर्ने हुन्छ भने विषयगत प्रश्नपत्रमा सोधिने सबैजसो प्रश्नहरू यस उस्तै प्रकृतिका प्रश्नहरू हामीले आफ्नो उच्च तहको शैक्षिक योग्यता हासिल गर्दा पनि हल गरिसकेका छौं या त्यसको तयारी गरिसकेका हुन्छौं।

अब मात्र हामीले पहिले देखि नै बुझिरखेका र पढिआएका कुराहरूलाई कसरी व्यवस्थित तरिकाले फेरि सम्झिने या परिक्षामा प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने भन्नेबारे तयारी गर्नु आवश्यक छ। यसका लागि निम्न कुराहरू गर्न सकिन्छ:

प्रत्येक दिन निरन्तर अध्ययन:

प्रतियोगितात्मक परीक्षामा सफलताको सबैभन्दा प्रथम सूत्र भनेकै निरन्तर अध्ययन हो। परीक्षाको मुखमा आएर मात्रै तात्ने र अरुबेला त्यत्तिकै समय बिताउने पाराले तयारी गर्न सकिंदैन। यसका लागि यदि तपाईं दिउँसो काम गर्न जानुहुन्छ भने पनि बिहान बेलुका अनिवार्य रूपमा समय निकालेर पढ्न सकिन्छ।

पुरै पाठ्यक्रमको अध्ययन:

तयारी कक्षाहरूमा पनि धेरै परीक्षार्थी हरूले प्रशिक्षकहरूलाई महत्वपूर्ण प्रश्नहरूबारे चर्चा गर्न आग्रह गर्ने गरेको पाइएको छ। केही प्र्श्हरू साँच्चै तुलनात्मक रूपमा बढी महत्वपूर्ण हुनसक्छन् तर यसको अर्थ ती प्रश्हरू मात्र पढेर तयारी गर्दा सफल भइन्छ भन्ने भने होइन। राम्रो तयारी त्यही हो जसमा पूरै पाठ्यक्रमको अध्ययन गरेर तयारी गर्ने गरिन्छ।

पटक पटक प्रभावकारी पुनरावलोकन:

पाठ्यक्रम एक पटक मात्र पढेरभन्दा पनि पटक पटक प्रभावकारी ढङ्गले पढेको कुरालाई दोहोऱ्याउने बानी बसाल्नु फाइदाजनक हुन्छ। यसरी दोहोऱ्याउँदा सकेसम्म यौटै पाठ्यसामग्री हेर्नुभन्दा पनि अलग अलग सामग्रीहरू हेर्दा बुझाई अझ स्पष्ट हुन सक्छ।

पुराना प्रश्नपत्र हल गर्ने:

आफ्नो तयारीबारे बुझ्नका लागि पनि पुराना प्रश्नपत्र हल गर्नु आवश्यक छ। यसो गर्नाले परीक्षामा कस्ता कस्ता प्रश्नहरू सोध्न सक्छ भन्ने बारे त थाहा हन्छ नै समय व्यवस्थापनबारे भेउ पनि पाइन्छ।

थप जानकारीका लागि नयाँ नयाँ पुस्तक र इन्टरनेट हेर्ने:

कुनै एउटा मात्र लेखकले तयार पारेको पाठ्यसामग्री, पुस्तक या गाइड-गेसपेपरमा भर परेर तयारी गर्नु भन्दा पाठ्यक्रममा समाहित प्रत्येक पाठ्यवस्तुबारे अझ राम्ररी बुझ्न नयाँ नयाँ पुस्तक हेर्ने र इन्टरनेटमा सर्च गर्ने बानी बसाल्नु आवश्यक छ। यसो गर्दा एकातिर हामीले लेख्ने उत्तरमा नविनता आउँछ भने अर्कोतिर विषयवस्तुमाथि हाम्रो पकड झनै मजबुत भएर आउँछ।

समूह बनाएर पढ्ने:

एक्लै अध्ययन गर्नुको साटो समूह बनाएर तयारी गर्नाले पनि फाइदा हुन्छ। यसरी समूहमा तयारी गर्दा आपसी छलफल गर्न पाइन्छ साथै आएका समस्याहरूको समाधानमा सबैको सहकारी रहन सक्छ।

त्यसैले ससाना कुरामा हतोत्साहित हुने प्रवृत्तिले घाटा मात्रै हुने गर्दछ त्यसैले प्रतियोगी परीक्षा संज्ञानात्मक मात्रै नभएर मनोवैज्ञानिक प्रकृतिको पनि हुने गर्दछ। तयारी गर्नेले मानसिक संयम राख्नु पनि उत्तिकै आवश्यक छ। र यसकालागि उचित किसिमको आहार व्यवहार पनि आवश्यक रहन जान्छ। 

कमेन्ट गर्नुहोस्