संसारका ९० प्रतिशत बढी देशहरूभन्दा धनी भयो एप्पल

काठमाडौं । कुनै एउटा कम्पनीको सम्पत्ति विश्वका ९० प्रतिशतभन्दा बढी देशहरूभन्दा बढी! सुन्दा अपत्यारिलो लागेपनि यो सत्य हो।
आइफोन निर्माता कम्पनी एप्पलको समग्र मूल्य विश्वका एक सय ७७ देशहरूको कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा बढी रहेको छ।
विश्वका एक सय ९३ देशहरूमा १६ देशकको कुल गार्हस्थ उत्पादन मात्र एप्पलको मूल्य भन्दा बढी रहेको छ।

एप्पलले गत मंगलवार सार्वजनिक गरेको आँकडा अनुसार उसको बजारमूल्य १० खर्ब डलरबराबर पुगेको छ। यसका साथै एप्पल १० खर्ब बजारमूल्य भएको पहिलो अमेरिकी कम्पनी समेत बनेको छ । विहीबारको बजारमा एप्पलले महत्वपूर्ण सफलता हासिल गरेको हो ।

हाल एप्पल कम्पनीको समग्र मूल्य भारतको कुल गार्हस्थ उत्पादनको ३८ प्रतिशतको रहेको छ । अहिले भारत विश्वको छैठौं सबैभन्दा ठुलो अर्थतन्त्र भएको मुलुक हो । उसको कुल गार्हस्थ उत्पादन २६ खर्ब डलर रहेको छ । एप्प्ल्को वर्तमान बजारमूल्य इन्डोनेसियाको कुल गार्हस्थ उत्पादनको बराबर छ ।

एप्पलको सेयरमा देखिएको वृद्धिका कारण उसले यो उचाइ हासिल गरेको हो। गएको मंगलबारदेखि अहिलेसम्मको अवधिमा उसको मूल्यमा ९ प्रतिशतसम्मको वृद्धि भइसकेको छ । गएको मंगलबार एप्पलले आफ्नो नतिजा सार्वजनिक गरेको थियो ।

तथ्यांकहरू सार्वजनिक गर्ने पोर्टल स्टाटिस्टाले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांक अनुसार एप्पलको मूल्य नौ खर्ब २७ अर्ब निर्धारित गरिएको छ र त्यसपछि अनलाइन सपिङ्ग कम्पनी अमेजन रहेको छ। अमेजनको मूल्य सात खर्ब ७८ अर्ब डलर रहेको छ।

यसअघि २००७ मा चीनको संघाईमा रहेको पेट्रोचाइनाको बजार मूल्य यो स्तरसम्म पुगेको थियो । यस्तोमा १० खर्ब डलरबरबरको मूल्य हासिल गर्नेमा एप्पल अमेरिकाको पहिलो र विश्वको दोस्रो कम्पनी बनेको हो । पेट्रो चाइना हाल चीनको तेस्रो मूल्यवान कम्पनीका रूपमा छ। स्टाटिस्टा अनुसार उसको हालको बजारमूल्य दुई खर्ब २२ अर्ब रहेको छ। हाल विश्वमा उसको २५ औं स्थान रहेको छ।

चीनको अनलाइन सपिङ कम्पनी अलिबाबा भने लगभग पाँच खर्ब डलर मूल्यकासाथ छैठौं स्थानमा छ। १९८० मा सूचीकृत भएसँगै अहिलेसम्म एप्पलले आफ्नो बजार मूल्यमा ५०० गुणाको वृद्धि गरिसकेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्