समीक्षाः हेर्नैपर्ने हिन्दी चलचित्र ‘कारवाँ’

त्यसो त जीवन नै यात्रा हो । तर जीवनमा कहिलेकाहिँ गरिने यात्राबाट जीवन सिकिन्छ । जीवनका कैयन नयाँ पाटाहरु यिनै यात्राका क्रममा खुल्छन् ।

एउटा यस्तै कथाबस्तु वरिपरि घुमेको चलचित्र हो ‘कारवाँ’ अर्थात् क्याराभान ।

अविनाश (दलकीर) एकजना तनावले घेरिएका व्यक्ति हुन । उनका केही सपना छन् तर अधुरा । उनले आफ्ना सपना पुरा नहुनुको कारण आफ्नै बुवालाई ठान्छन् । अविनाशको सपना फोटोग्राफर बन्ने थियो । तर उनी बन्छन् सफ्टवेयर इन्जिनियर । उनलाई यो काम खासै मन पर्दैन । बुवासँग कैयन वर्षदेखि बोलाचाल नै हुन्न यही कुरामा ।

तर कथाबस्तुले अर्कै मागेको हुन्छ । तीर्थ यात्रामा गएका उनका बुवाको अकस्मात मृत्यु भएपछि सबै कुरा एकाएक बदलिन्छ ।

बुवाको मृत्युको खबर सुनेर बैंगलोरदेखि कोचि जान्छन् अविनाश । साथी सँगै हुन्छन् । र, यो यात्रामा उनलाई आफ्नो जीवनको बारेमा सोच्ने समय पाइन्छ ।
कारवाँको यही कथा हो । तर यो कथा यत्तिकै भने सकिँदैन । यो यात्राका कैयन चरणमा घटित भएका घटनाहरुले उनीहरुको जीवनलाई फेरिदिन्छ ।

अविनाशसँग यात्रामा छन् शौकत अर्थात् इमरान खान र बाटोमा भेटिन्छिन् तान्या अर्थात् मिथिला पालकार ।

यो तीनजनाको कारवाँ या लश्कर या यात्राको कथा नै कारवाँको मुख्य कथाबस्तु हो ।

चलचित्रमा कथाबस्तु भन्दा पनि त्यसका चरित्र निकै महत्वपूर्ण छन् । अविनास चुपचाप बस्ने अन्तर्मुखी स्वभावको । सानैदेखि पाको मान्छेजस्तो । तर यात्रामा आफूभन्दा कम उमेरकी तान्यासँग भेट भएपछि बिस्तारै खुल्न थाल्छ । जीन्दगीलाई अलि बढी नै गम्भिरतापूर्वक लिइरहेको अनुभूति उनलाई हुन्छ ।

यता तान्या पनि विद्रोहलाई नै स्वतन्त्रता ठानेर हिँडेकी हुन्छे । कतिपय अवस्थामा गरिने विद्रोह मुर्र्खता पनि हुने रहेछन् भन्ने उसले यात्राकै क्रममा सिक्छे ।

कथाबस्तु निकै गम्भीर देखिएपनि स्क्रिप्ट भने कतिपय स्थानमा कमजोर देखिन्छ । किन यस्तो भयो त भन्ने कुरालाई नयाँ ढंगले प्रस्तुत गर्न नसक्दा अभिभावक र लालनपालनकै पुरानो फर्मुला दोहोरिन्छ ।

दलकीर सलमान दमलयालम चलचित्रका लोकप्रिय कलाकार हुन । तर स्क्रिनमा उनको हिन्दी स्वभाविक देखिन्छ ।

चलचित्रका कैयन संवाद र दृश्य भने निकै रोचक छन् । दक्षिण भारतको सुन्दर प्राकृतिक दृश्य, केही हास्य, केही नयाँपनाले चलचित्रमा दर्शकलाई बाँधेर राख्छ ।

चलचित्रको निर्देशन आकर्ष खुरानाले गरेका छन् । तर निर्देशनमा केही कमजोरी भने नभएको होइन् । गम्भीर दृश्यलाई हलुका र हलुका दृश्यलाई गम्भीर देखाउने काम भएको छ ।

कलाकारले भने निकै राम्रो अभिनय गरेका छन् । दलकीर सलमानको भूमिका जबर्जस्त देखिन्छ । इमरान खानले निकै राम्रो अभिनय गरेका छन् । मिथिलाको भूमिका भने त्यति जमेको देखिन्न ।

कारवाँ अन्य थ्रिलर चलचित्र जस्तो उतारचढाव भरिएको चलचित्र छैन । यो एउटा समान गतिमा अघि बढेको देखिन्छ । सामाजिक र जीवनसँग जोडिएका चलचित्र हेर्न मन पराउनेका लागि यो राम्रो चलचित्र हुन सक्छ ।

ब्यानरः इश्का फिल्मस, आएसपबिपी
निर्माताः रानी स्कू्रवाला
निर्देशकः आकर्ष खुराना
संगीतः प्रतिक कक्कड, अनुराग सेकिया, स्लोचिता, श्वेतांग शंकर, इमाद शाह
कलाकारः इरफान खान, दुलकर सलमान, मिथिला पालकर, कृति खरबन्दा

कमेन्ट गर्नुहोस्