यस्तो रह्यो खानेपानी मन्त्री बिना मगरको एकदिने निर्वाचन क्षेत्र भ्रमण

कञ्चनपुर, साउन २५ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले आफ्नो निर्वाचन क्षेत्रका मतदाता समक्ष पुगेर निर्वाचन ताका गरिएका प्रतिबद्दता कार्यान्वयन हुनेमा विश्वास दिलाएका छन् ।

साउन २४ गते आफू निर्वाचित क्षेत्र कञ्चनपुर १ मा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र समग्र राष्ट्रको समुन्नतिका विषयमा प्रतिबद्द रहेको दोहोर्याएकी हुन ।

बेलौरी भन्सार नाकालाई मुख्य भन्सार कार्यालय बनाउन केन्द्रित

खानेपानी मन्त्री वीना मगरले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बेलौरी भन्सार नाकालाई मुख्य भन्सार कार्यालय बनाउन सरकार लागिरहेको जानकारी गराइन।

बिहीवार कञ्चनपुरको बेलौरी नगरपालिका आदिवासी जनजाति महासंघ नगर तदर्थ समितिद्वारा आयोजित २४ औं आदिवासी जनजाति दिवस कार्यक्रममा बोल्दै मन्त्री वीना मगरले बेलौरी भन्सार कार्यालयलाई मुख्य नाकाका रुपमा अघि बढाउन उद्योग बाणिज्य मन्त्रालय तथा अर्थ मन्त्रालयसंग बसेर भारत समक्ष प्रस्ताव लैजाने छलफल भएको जानकारी गराउदैं सो एजेन्डालाई प्रस्ताव गर्न अहिले नेपाल सरकारको प्रतिनिधि भारत गैसकेको जानकारी गराइन।

विकासका अवधारणा

मन्त्री बिना मगरले बन्दाताल लाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न समेत लागिरहेको जिकिर गरिन । उनले आदिवासी जनजातिको कार्यक्रममा बोल्दै आदिवासी, जनजातिको हक अधिकार अझै प्राप्त नभएको बताइन।

आदिवासी जनजातिले नेपालको हरेक ऐतिहासिक आन्दोलनमा सरिक भएर देशको आमूल परिवर्तनमा समेत योगदान पुर्याएको स्मरण गर्दै आदिवासी जनजातिको हक अधिकारका लागि आफु लडिरहने बताए ।

बेलौरी उद्योग बाणिज्यको सभाहलमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य सांसद कुल वीर चौधरी, स्थानीय राजनीतिज्ञ, समाजसेवी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ भित्र पर्ने लालझाडी गाउँपालिकालाई थारु होमस्टे सञ्चालन गर्दै बस्तीलाई नमुना बस्तीका रुपमा विकास गर्न आफु र नेपाल सरकारले काम गरिरहेको बताइन ।

उनले कञ्चनपुरको बिकट मानिएको बेलडाँडी गाउँपालिकालाई समेत जंगल सफारी लगायतका पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भिजन लिएको जानकारी गराइन । नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल सूखी नेपाली एजेन्डालाई आत्मसात गर्दै आफ्नो निर्वाचन क्षेत्रलाई कसरी समृद्ध र सुन्दर बनाउन सकिन्छ त्यसमा आफु निरन्तर लागिरहेको बताइन ।

भ्यु टावर र स्विमिङ पुलको शिलन्यास

पुनर्वास नगरपालिका वडा नम्बर ७, ८ र ९ नम्बर वडा सम्म फैलिएको जनजागरण सामुदायिक वनले आयोजना गरेको भ्यु टावर तथा स्विमिङ पुलको मन्त्री मगरले विहीबार शिलन्यास गरेकी छन् ।

वनले पुनर्वासको पर्यटकीय विकासमा टेवा पुर्याउने हेतुले निर्माण गर्न लागेको भ्यु टावर र स्विमिङ पुलको शिलान्यास कार्यक्रममा मन्त्री मगरले यस योजनाको सफलताको शुभकामना दिँदै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

नेपालको पानीलाई आम्दानीको स्रोत बनाउने योजना

खानेपानी मन्त्री बिना मगरले नेपालको पानीलाई आम्दानीको मुख्य स्रोत बनाउन मन्त्रालयले योजना अघि सारेको बताउनु भयो । खानेपानीलाई व्यवसायीकरण गर्दै सगरमाथाको वेस क्याम्पबाट बग्ने आईस बरफलाई प्रशोधन गरेर अन्तर्रा्ष्ट्रिय बजारमा बिक्री गरेर पानीबाटै आम्दानी बढाउने मन्त्री मगरले बताउनु भयो ।

३ बर्षभित्रै प्रशोधन सहित स्वच्छ खानेपानी पु¥याउने मन्त्री मगरको दाबि छ । हिम श्रृंखलाको सदुपयोग गर्दै पुर्व मेची र पश्चिम महाकाली सम्मका ८ नदीलाई केन्द्र बनाएर तराईका सबै क्षेत्रमा पानी पु¥याईने योजना रहेको मन्त्री मगरल दाबी छ । पहाड र हिमालमा लिप्टिङ्ग, डिप ट्युबेल र बोरिङ्गबाट पानी निकालेर प्रशोधन गर्दै स्वच्छ पानी वितरण गरिने उहाँले बताउनु भयो । हरेक नागरिकलाई स्वच्छ खानेपानीको सुनिश्चिता गरिने खानेपानी मन्त्री मगरको दाबी छ ।

भुमिपुत्र आदिवासी जनजाती सुबिधाबाट बञ्चित नहुने

सदियोँ देखि सरकारी सेवा सुबिधाबाट बञ्चित नेपालका भूमिपुत्र आदिवासी जनजातीहरू अब कुनै पनि सेवा सुबिधाबाट बञ्चित नहुने खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले बताइन ।

कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वासको त्रिभुवनबस्ती स्थित खुलामञ्चमा बिहिबार आयोजित २४ औं विश्व आदिवासी जनजाति दिवसका अबसरमा बोल्दै मन्त्री बिनाले भनिन्, “नेपाल अधिराज्यमा र यस पुनर्वास नगरपालिका भित्र आदिवासी जनजातीको बसोबास अरू जातीको भन्दा बढि रहेकाले स्थानिय निकायबाट पाउने हरेक सेवा सुबिधा अब स्थानिय स्तरबाटै पाउने छन् ।”

बिहिबार विश्वभर मनाउदै आएको आदिवासी जनजाती दिवस कञ्चनपुरका विभिन्न स्थानमा पनि भब्य कार्यक्रम गरि मनाईएको छ । “पहिचान प्रतिनिधित्व र स्वायत्तत्ता सुशासनका लागि आदीवासी जनजातीको अडान, पहिचान सहितको संघियताका निम्ति संविधान सँशोधन हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ बृहत सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको हो ।

पुनर्वासका विभिन्न वडाबाट उपस्थित विभिन्न आदिवासी जनजाती समुदायका भेषभुषा तथा झाँकी सहितको र्याली प्रतिभानगर बजार परिक्रमा गरेको थियो । कार्यक्रममा विभिन्न आदिवासी जनजाती समुदायका नृत्य एवम झाँकी समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा हजारौँको सँख्यामा दर्शकहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मगरले सदियौँ देखि सरकारी सेवा सुबिधाबाट बञ्चित नेपालका भूमिपुत्र आदिवासी जनजातीहरू अब कुनै पनि सेवा सुबिधाबाट बञ्चित नहुने बताइन ।

कमेन्ट गर्नुहोस्