नेपाल–भारत सीमामा सहायताकक्ष राख्न सुरक्षा अधिकारीहरू सहमत

काठमाडौं, साउन २५ । दुई देशका नागरिकहरूले आवतजावत गर्न प्रयोग गर्ने मुख्य नाकाहरूमा चाडपर्वका बेला सहायताकक्ष राख्न नेपाल र भारतका सुरक्षा अधिकारीहरू सहमत भएका छन्।

भारतको राजधानी नयाँ दिल्लीमा शुक्रवार सम्पन्न सुरक्षा सहयोगसम्बन्धी तेस्रो बैठकमा सहायताकक्ष राख्ने विषयमा सहमति भएको अधिकारीहरूले बताएका छन्। दुई देशका सुरक्षा अधिकारीहरूबीच यस्तो सहमति पहिलो पटक भएको हो।

सहमतिअनुसार चाँडै नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलले नाकाहरूमा दुवैतर्फ सहायताकक्ष स्थापना गर्ने बैठकमा नेपालतर्फको नेतृत्व गरेका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले बताए।

नेपाल र भारतबीच झन्डै १८ सय किलोमिटर लामो खुल्ला सीमा छ। एउटा पुरानो सहमतिअनुसार दुई देशका नागरिकहरू अर्को देशमा निर्वाध जान र काम गर्न पाउँछन्।

महानिरीक्षक खनालले भन्छन्, ‘चाडपर्वका बेला सीमा क्षेत्रमा दुवैतिरका नागरिकहरूले दुस्ख पाएको गुनासो आउने गरेको छ। त्यसलाई समाधान गर्न सहायताकक्ष राख्न लागिएको हो।’

विशेषगरी दशैँ र तिहारजस्ता चाडपर्वका बेला भारतमा काम गर्ने नेपालीहरू स्वदेश फर्कँदा सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट दुर्व्यवहार खेप्नुपर्ने गुनासो आउने गरेको छ। कैयौँ नेपालीहरू भारतीय क्षेत्रमा लुटिएका समाचार पनि बारम्बार आउने गरेको छ।

यसको दीर्घकालीन समाधानका लागि सहायताकक्षको अवधारणा ल्याइएको खरेलले बताए। उनले चाडपर्वका बेला भारतबाट नेपालतर्फ मात्र नभई नेपालबाट भारततर्फ जानेहरूलाई समेत समस्या हुने गरेकाले दुवैतिर सहायताकक्ष राख्ने निर्णय भएको जानकारी दिए।

आपराधिक गतिविधि रोक्न नेपाल र भारतका सुरक्षा अधिकारीहरूले नियमित गस्ती गर्ने र स्थानीय तहमा समेत दुई पक्षबीच सहकार्य गर्ने निर्णय समेत भएको बताइएको छ। यसैगरी बैठकमा दुई पक्षबीच अपराध र तस्करी रोक्न नियमित सूचना आदानप्रदान गर्ने र समयसमयमा यस्तै छलफल गर्ने सहमति भएको अधिकारीहरूले जनाएका छन्।

यस्तै खाले अर्को बैठक भने नेपालमा हुने बताइएको छ। हरेक वर्ष यस्तो बैठक गर्ने विषयमा पनि अधिकारीहरू सहमत भएका छन्। बीबीसी

कमेन्ट गर्नुहोस्