नेपाल र बंगलादेशबीच ऊर्जा सम्झौता, विद्युत व्यापारमा कोशेढुंगा !

काठमाडौं, साउन २५ । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्य सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा बिहीबार नेपालका तर्फबाट ऊर्जा मन्त्री वर्षमान पुन र बङलादेशका ऊर्जा राज्यमन्त्री नरशुल हमिदले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन ।

समझदारीपत्रमा नेपालबाट बंगलादेशले विद्युत खरिद गर्ने, नेपाली जलविद्युत क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र बनाउने, प्रसारणलाइन, जलविद्युत आयोजनाहरुको विकास गर्ने लगायत विषय उल्लेख छन् ।

त्यसैगरी, राष्ट्रिय तथा क्षेत्रीय ग्रीड कनेक्टीभिटी स्थापनाको लागि दुवै पक्षले आवश्यक कदन चाल्ने, विद्युत आयोजनाहरुको सफल कार्यान्वयन गर्न सार्वजनिक तथा निजी क्षेत्रका निकायहरुलाई आवश्यक सहयोग तथा समन्वय गर्ने समझदारीमा उल्लेख छ ।

ऊर्जा मन्त्री वर्षमान पुनले दुई देशबीच गठन हुने सचिव र सहसचिवस्तरीय संयन्त्रको पहिलो बैठक नेपालमा हुने जानकारी दिए । यसबारे औपचारिक प्रस्ताव कुटनीतिक संयन्त्रमार्फत पठाइने मन्त्री पुनले बताए ।

मन्त्री पुनले नेपाल, भारत र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि पनि छलफल अघि बढाइने जानकारी दिए । बंगलादेश नेपालसँग ऊर्जा सम्बन्धी समझदारी गर्ने तेस्रो मुलुक हो । यसअघि भारत र चीनसँग नेपालले ऊर्जा सहकार्य सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्