वर्षदिनमै विशिष्टको आवासमा २२ करोड खर्च !

काठमाडौं, भदौ ४ । मन्त्रीकै घरभाडामा ८१ लाख, पानी र बिजुलीमा साढे ३ करोड, टेलिफोन र इन्टरनेटको बिल ८८ लाख, मसलन्द र पर्दा–कार्पेटमा २ करोड, फर्निचरमा १ करोड ९० लाख र मर्मतमा १ करोड १० लाख ।

देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० लाख खर्च भयो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशको निवासमा करिब ३० लाखबराबर त जारको पानी खरिद गरिएको छ ।

ट्वाइलेटपेपरदेखि भान्साका भाँडाकुँडासम्म राज्यकै

विशिष्ट पदाधिकारीहरूले सुविधाका नाममा ट्वाइलेटपेपरदेखि किचनमा प्रयोग हुने भाँडाकुँडा, पर्दा, टाबेललगायत सबै लिने गरेका छन् । विशिष्ट पदाधिकारीको निवासबाट जे माग्यो, त्यो दिनुपर्ने बाध्यता कार्यालयलाई रहेको भवन सम्भार डिभिजन कार्यालयका एक कर्मचारीले बताए । नयाँ पत्रिकामा यो खबर छ ।

एकजना मन्त्रीको क्वार्टरमा २० देखि ३० जनासम्मलाई राज्यकोषबाट सुविधा दिनुपरिरहेको कार्यालयको गुनासो छ । ‘विशिष्ट पदाधिकारीहरूको घर चलाइदिनुपरेको छ, त्यो पनि हाइफाई सुविधासहितको,’ ती धकर्मचारी भन्छन् ।

कमेन्ट गर्नुहोस्