रेणु दाहालको अर्को घोषणा- भरतपुरमा ५ हजार क्षमताको सिटी हल निर्माण गरिने

चितवन, भदौ २७ । चितवनको भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय अगाडि रहेको गेष्ट हाउस चौरमा सिटी हल बनाउने भएको छ । भरतपुर महानगरपालिकाको आग्रहमा सबै राजनीतिक दलबीच गेष्ट हाउस चौरमा अत्यधुनिक अन्तर्राष्ट्रिय स्तरको सिटी बनाउने सहमति भएको महानगर प्रमुख रेणु दाहालले बताइन् ।

 

उनले भनिन्, ‘अत्यधुनिक खालको अन्तर्राष्ट्रिय स्तरको सिटी हल गेष्ट हाउस चौरमा बनाउने सहमति भएको छ ।’ नेपाली कांग्रेस, नेकपा, भरतपुर महानगरपालिका, जिल्ला समन्वय समितिको आज भएको छलफलले महानगरको सिटी हल गेष्ट हाउस चौरमै बनाउने सहमति भएको हो ।

 

यसअघि क्यान्सर अस्पतालमा सिटी हल बनाउने निर्णय महानगरपालिकाले विभिन्न राजनीतिक दलहरुको विरोधका कारण स्थगित गरेको थियो ।

‘पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सिटी हल बनाउने गरी महानगरपालिकाले प्रक्रिया अघि बढाउँछ’ महानगर प्रमुख दाहालले भनिन्, ‘सिटी हलको लागि ५० लाखको बजेट निकासा भइसकेको छ ।’

 

महानगरले बनाउन लागेको सिटी हल देशकै नमूना बन्ने महानगर प्रमुख दाहालको भनाइ थियो । झन्डै ५ बिघामा सिटी हल बन्ने भएको छ । भरतपुर १० मा रहेको गेष्ट हाउस चौरमा सिटी हल बनाउन राजनीतिक दलहरुले समर्थन जनाएका छन् ।

सम्बन्धित् समाचार  कार्यकारी राष्ट्रपति अहिलेको कार्यसूची होइन : प्रचण्ड

 

भरतपुर महानगरको सिटी हल बन्ने विषयमा यसअघि भएको विवाद अब सुल्झेको छ । अन्तः भरतपुर महानगरले गेष्ठ हाउस चौरमा भव्य सिटी हल बनाउने प्रक्रिया अघि बढाउने भएको छ ।

गेष्ट हाउस चौरको जग्गा जिल्ला समन्वय समितिको मातहतमा रहेको छ । ‘गेष्ट हाउस चौर जिल्ला समन्वय समितिको मातहतमा छ, हामी सिटी हल बनाउन उपलव्ध गराउँछौँ’ जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले भने ।

 

उनका अनुसार सिटी हलको लागि जग्गा अपुग हुँदैन । समन्वय समितिका प्रमुख डल्लाकोटीले भने, ‘साढे ४ विघा जग्गा छ, अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको सिटी हल बनाउन पुग्छ ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: