निर्मला पन्तका हत्यारालाई कानूनी कारवाहीको दायरामा ल्याउ- राष्ट्रपति

काठमाडौँ, २९ भदौ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले कलिला बालबालिकामाथि हुने यौनजन्य हिँसा मानवताविरुद्ध कलङ्क भएकाले यसलाई जरैदेखि उखेल्नुपर्ने विचार व्यक्त गरेकी छिन् ।

राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई राजधानीमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह समेत गरिन् ।

राष्ट्रपतिले निर्मला पन्तका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहनु दुःखद् भएको र आफूलाई यस घटनाले अत्यन्त दुःखी तुल्याएको चर्चा गर्दै यस दुःखद् घटनाप्रति परिवारजनमा सहानुभूति प्रकट गरिन् ।

राष्ट्रपतिले ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो भन्दै भनिन्, “हत्यामा सङ्लग्न अपराधीलाई कानूनी दायराभित्र ल्याई दण्डित गर्न सबै पक्ष सम्बेदनशील बन्नुपर्छ । ”

राष्ट्रपति भण्डारीले संविधानप्रदत्त बालबालिकासम्बन्धी मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रभावकारी र व्यावहारिक कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार अन्त्य गर्न सकिने कुरामा जोड दिइन् ।

बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, बलात्कार रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्नेमा जोड दिएकी छिन् ।

आजका बालबालिका भोलिका सक्षम र योग्य नागरिक हुन्, उनीहरुको जन्मदेखि नै स्वास्थ्य एवं शिक्षामा सरकारको विशेष ध्यान जानुपर्ने उल्लेख गरिन् ।

गर्दै यसवर्षको बाल दिवसको नारा “सुखी नेपाली, समृद्ध नेपाल बालअधिकार सबैको सरोकार” रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले संविधानप्रदत्त बालबालिकाका अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक ऐन तयार गरी मन्त्रालयले संसदमा प्रस्तुत गरेको जानकारी गराइन् । मन्त्री थापाले बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार तथा बलात्कारका घटना अन्त्य गर्न सामूहिक प्रयासको खाँचो रहेको बताइन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव वुद्धिबहादुर खड्काले बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न स्थानीय सरकार बढी सम्बेदनशील बन्नुपर्ने कुरामा जोड दिए । खगेन्द्र नवजीवन विद्यालय जोरपाटीमा कक्षा १० मा अध्ययरत छात्रा सविता थापाले पछिल्लो समय निर्धक्क रुपमा सडकमा हिंडडुल गर्न नसकिने अवस्था सिर्जना भएको बताइन् । बालअधिकारकर्मी गौरी प्रधानले बालबालिका शान्ति क्षेत्र हुन् यसका लागि तीनै तहका सरकारले बालमैत्री नीति अवलम्बन गर्नुपर्ने कुरामा जोड दिइन् ।

रासस

कमेन्ट गर्नुहोस्