धनगढीमा बाल दिवस, उप-महानगर प्रमुखले भने यस्तो

धनगढी, भदौ २७ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बालबालिकाको संरक्षण घरबाट नै सुरु हुनुपर्ने बताएका छन् ।

धनगढीमा आयोजना गरिएको बालअधिकार र नेपालमा बालअधिकार सुनिश्चितताका लागि भएका प्रयासहरू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन ।

बालबालिकाहरू माथि विभेद तथा हिंसा परिवारबाट सुरु भएर नै समुदायसम्म पुग्ने गरेको उल्लेख गर्दै नगरप्रमुख वडले भने, “‘यसकालागि सचेतना फैलाउनु अहिलेको आवश्यकता हो ।” राज्य एक्लैले चाहेर मात्रै बालअधिकारको संरक्षण हुन नसक्ने धारणा नगरप्रमुखको थियो । यसमा सबै लाग्नुपर्छ ।

धनगढी उप–महानगरपालिकामा निर्माण भैरहेका र अब निर्माण गरिने भौतिक संरचनाहरू बालमैत्री, अपाङ्ग मैत्री, महिला मैत्री बनाउन थालिएको नगरप्रमुख वडले बताए ।

उनले भने, “‘विद्यालयहरूमा निर्माण गरिने संरचनाहरू बाल मैत्री र छात्रा मैत्री बनाउने काम भैरहेको छ ।”

कैलालीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बालकल्याण समितिका संयोजक बाबुराम श्रेष्ठले बालबालिकाको अवस्था सुधार गर्ने किसिमका नीति राज्यले लिएको बताए । उनले भने, “नेपालको संविधानले नै बालअधिकारका विषयमा बोलेको छ ।” बाल अधिकारको सवाल अन्तराष्ट्रिय सवाल भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

कार्यक्रममा धनगढी उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी पाण्डे, जिल्ला शिक्षा अधिकारी बिष्णु भट्ट लगायतको उपस्थिति थियो ।

कार्यक्रम बाल दिवस आयोजक मूल समारोह समितिले गरेको थियो ।

कमेन्ट गर्नुहोस्