के ग्यास्ट्रिक र एसिडिटी एउटै हो त ? घरेलु उपायहरू के-के हुन् ?

‘ग्यास्ट्रिक’ त सबैको लागि परिचित शब्द नै हो, तर ‘एसिडिटी’ ? के हो एसिडिटी ? ग्यास्ट्रिक र एसिडिटी एउटै होइन र ? यो प्रश्न अधिकांशको मनमा उत्पन्न हुने गर्छ । तर, आज हामी तपाईँहरूलाई भन्छौँ कि ग्यास्ट्रिक र एसिडिटी फरक कुरा हो । हुन त दुवै पेटकै समस्या हो, दुवै पाचन प्रक्रिया सम्बन्धी समस्या हो । तर यी दुई फरक समस्या हुन् ।

ग्यास्ट्रिक

हाम्रो पेटलाई एसिडको झोलासँग तुलना गर्न सकिन्छ। त्यो झोलालाई एसिडले कुनै क्षति नगरोस् भनेर झोलाको भित्री भित्तामा सूक्ष्म कोषहरूले सुरक्षा गरिरहेको हुन्छ । साथै हामीले खाएका खानेकुरालाई पचाएर त्यसबाट चाहिने पौष्टिक तत्वहरू सोस्ने काम पनि त्यही कोषहरूले गर्छन् । अनि जब कुनै प्रकारले ब्याक्टेरियाको कारण ती कोषहरूमा क्षति पुग्छ, तब पेटभित्रको एसिडले क्षति भएको ठाउँमा असर गर्दछ र पेट पोल्ने अनि फुल्ने हुन्छ। त्यसैलाई ग्यास्ट्रिक भएको भनिन्छ।

एसिडिटी

तथापी, एसिडिटी फरक कुरा हो । हाम्रो घाँटीबाट पेट (आमाशय) सम्म जोड्ने लामो भोजन नली हुन्छ, जसले हामीले खाएको खानालाई पेटसम्म पुर्याउने काम गर्छ । त्यो भोजन नली र पेटको जोर्नीनेर एउटा द्वार हुन्छ, जसले भोजन नलीबाट पेटमा खाना पठाउन मद्दत गर्दछ भने पेटबाट भोजन नलीतर्फ खाना वा एसिडलाई आउनबाट पनि रोक्दछ । अनि जब कुनै कारणले पेटमा भएको एसिड त्यो द्वारबाट माथि आएर भोजन नलीलाई असर गर्छ भने त्यस्तो अवस्थालाई नै ‘एसिडिटी’ भनिन्छ।

लक्षण

ग्यास्ट्रिक हुँदा पेट फुल्ने, पोल्ने, दिसा लागेको जस्तो हुने हुन्छ भने एसिडिटी हुँदा छातीको बीच भाग पोल्ने, अमिलो डकार आउने, बान्ता होला जस्तो हुने हुन्छ। कतिपयलाई ग्यास्ट्रिकको कारण ढाड दुखाउँछ भने एसिडिटीको कारण रिँगटा लगाउँछ।

कारण

जब हामी लामो समयसम्म भोकै बस्छौँ, तब पेटमा खानेकुरा सिद्धिन जान्छ र त्यहाँ भएको एसिडले पेटको भित्तामा असर पुर्याउँछ र ग्यास्ट्रिक हुन्छ। साथै फोहोर खानेकुरा, दूग्धपदार्थ, धेरै अमिलो-पीरो र मसालेदार खानेकुरा आदिले गर्दा ग्यास्ट्रिकको समस्या आउन सक्दछ ।

एसिडिटी हुने मूख्य कारण भनेको ग्यास्ट्रिक हो । जब हाम्रो पेटमा एसिडको मात्रा बढ्दै जान्छ, तब त्यस एसिडले पेटको भित्तामा त असर गर्छ-गर्छ, साथै भोजन नलीमा समेत असर पुर्याउन आउँछ र एसिडिटी हुन्छ । पेटमा धेरै एसिड कसरी हुन्छ त ? पेटमा एसिडको मात्रा बढ्नुको कारण हो प्रोटिनयुक्त खानेकुरा धेरै खानु । त्यस लगायत हामीले खाने खानेकुराहरूमा यस्ता धेरै कुराहरू हुन्छन्, जसले पेटमा एसिडको मात्रा बढाइदिन्छ र ग्यास्ट्रिकको साथै एसिडिटी निम्त्याउँछ ।

घरेलु रोकथामका उपायहरू

ग्यास्ट्रिक र एसिडिटी भनेको निको हुने समस्या होइन । यसलाई त कम मात्रै गर्न सकिन्छ । ग्यास्ट्रिकलाई कम गर्नको लागि नियमित सन्तुलित भोजन गर्नु अपरिहार्य हुन्छ। त्यसैगरी बढी चिल्लो, पिरो र अमिलो खानेकुराहरू कमि खाने बानीले पनि ग्यास्ट्रिकको समस्यामा कम गर्दछ।

एसिडिटीको समस्याबाट मुक्त हुने घरेलु उपायहरु यसप्रकार रहेका छन्-

छाती पोल्ने, अमिलो डकार आउने भएको छ भने केरा खानुहोस्, खर्बुजा खानुहोस्। भुइँकटहर, काँक्रो, दही खाँदा पनि एसिडिटीको जनलबाट राहत पाउन सकिन्छ।

टन्न पानी पिउनुहोस्। अझै सक्नुहुन्छ भने नरीवलको पानी, कागतीको जुस पिउनुहोस्।

सबैभन्दा महत्वपूर्ण, अधिकांशलाई एसिडिटी किन हुन्छ भन्दा, उनीहरू खाना खानेबित्तीकै सुतिहाल्छन्। यो बानी एकदमै खराब हो, यसले एसिडिटी मात्रै होइन, अन्य घातक समस्याहरू पनि निम्त्याउँदछ। त्यसैले खाना खाएको कम्तीमा पनि २ घण्टा पछि मात्रै सुत्ने बानी गर्नुहोस्।

साथमा ल्वाङ्ग लिएर हिँड्नुहोस् र एसिडिटीको लक्षण देखापर्ने बित्तीकै ल्वाङ्ग चपाउनुहोस्।

तुलसीको पातको चिया बनाएर पिउँदा पनि एसिडिटी र ग्यास्ट्रिकबाट राहत पाउन सकिन्छ।

अमिलो अचार, पिरो चट्नी र भिनेगार खान र परैजाओस्, त्यसलाई सुँघ्दा पनि नसुँघ्नुहोस्।

कोका(कोला, पेप्सी, रेड(बुल जस्ता सफ्ट ड्रिङ्क्स खाने बानीलाई कम गर्नुहोस्।

चिसो, चिनी नमिसाएको गाईको दूध पिउनाले पनि पेट पोल्ने, अमिलो डकार आउने जस्ता समस्याबाट राहत पाउन सकिन्छ।

ग्यास्ट्रिक र एसिडिटी भनेको खासै घातक समस्या त होइन, तर यसलाई हेलचेक्र्याईँ गर्न थाल्यो भने विकराल रूप लिन सक्छ । ग्यास्ट्रिकबाटै अल्सर हुने हो र अल्सरबाटै क्यान्सर हुने हो। एसिडले आन्द्रालाई प्वाल पार्ने समस्या नै अल्सर हो। अनि त्यो प्वाल परेको ठाउँबाट मासु पलाउनु नै क्यान्सर हो । त्यसैले घरेलु उपायबाट ग्यास्ट्रिकलगायत एसिडिटी ठीक भएन भने अस्पताल गएर चिकित्सकीय पद्दती अपनाउनका लागि जति सक्दो चिकित्सकको सल्लाह लिनु अावश्यक छ । नेपालहेडलाइनबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!