१५ देशका प्रशिक्षार्थीहरूमाझ प्रचण्ड: क्रान्तिको चरित्र प्राविधिक हुँदैन

काठमाडौँ, भदौ २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्डले क्रान्तिको चरित्र प्राविधिक नभएर यो देश, काल र परिस्थिति अनुसार फरक र मौलिक चरित्रको हुने विचार व्यक्त गरेका छन् ।

शुक्रवार मदन भण्डारी स्कूल अफ एसियाद्वारा राजधानीमा संचालन भएको प्रशिक्षणको ‘पुष्पलाल ब्याच’को समापन कार्यक्रममा बोल्दै प्रचण्डले भने,”प्रत्येक देशमा क्रान्तिको फरक सिद्धान्त हुने गर्दछ ।”

विश्वका विभिन्न देशमा सम्पन्न क्रान्तिका अनुभवहरू कुनै पनि देशका लागि सन्दर्भ सामग्रीका रूपमा रहने तर त्यस अनुभवबाट प्राप्त नातिजाहरूलाई जस्ताको त्यस्तै लागू गर्नु व्यवहारिक नरहेको स्पष्ट पार्दै प्रचण्डले नेपालको शान्ति प्रक्रिया र यसको पूर्णता पनि नेपाली क्रान्तिकै ‘कोर्स’को रूपोमा रहेको समेत बताए ।

नेपालमा दुई ठुला वामपन्थी पार्टीहरूको एकीकरण विश्वमै समाजवादी आन्दोलनको बाटोमा कोसेढुङ्गा भएको भन्दै प्रचण्डले शोषण रहित र न्यायपूर्ण समाज निर्माणको लागि युवाहरूमा सकारात्मक जागरणको आवश्यकता रहेको र पार्टी एकीकरणले यसको बाटो खोलेको समेत प्रचण्डको भनाइ रहेको थियो ।

तीन हप्तासम्म संचालन भएको उक्त प्रशिक्षणका सहभागीहरूलाई सम्बोधन गर्दै प्रचण्डले वैज्ञानिक मार्क्सवादको गहन बुझाइबाट मात्रै साम्राज्यवाद र नवउदारवादी पूँजीवादसँग लड्न सक्षम बनाउने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले  तत्कालीन शान्ति प्रक्रियामा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला लगायतका नेताहरूको प्रयासले सम्पन्न १२ बुँदे सम्झौतापछि भएको विस्तृत शान्ति सम्झौता र त्यसको नतिजास्वरूप प्राप्त संविधानसभा र लोकतान्त्रिक गणतन्त्र नेपाली क्रान्तिको महत्वपूर्ण उपलब्धि रहेको समेत स्पस्ट पारे ।

प्रचण्डले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नामबाट संचालित उक्त प्रशिक्षणले युवा सहभागीहरूलाई वैचारिक अभियान संचालन गर्न अझ सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नवउदारवादी वैश्विक पूँजीवादले वर्तमान समयमा स्वरूप फेरेको र यो कामदार वर्गका लागि अझै क्रूर रूपमा प्रस्तुत भएको स्मरण गर्दै प्रचण्डले यसले जडसूत्रवाद, उग्रराष्ट्रवाद र प्रभुत्ववादी संस्कृतिलाई प्रश्रय दिएको भन्दै मार्क्सवाद, राजनीतिक अर्थशास्त्र, लैंगिकता, संस्कृति र ऐतिहासिक भौतिकवाद समेटिएर तयार पारिएको उक्त प्रशिक्षणको पाठ्यक्रमले सहभागीहरूलाई सैद्धान्तिक रूपमा अझै सशक्त पार्ने र पूँजीवादको आक्रामक विस्तारलाई परास्त गर्ने विश्वास व्यक्त गरे ।

उक्त प्रशिक्षणमा १५ देशका ४५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । नेपाल लगायत श्रीलंका, बंगलादेश, पाकिस्तान, भारत, फिलिपिन्स, जाम्बिया, पूर्वी टिमोर, थाइल्याण्ड, ट्युनिसिया, मोरोक्को, ब्राजिल, अर्जेन्टिना र तान्जानियाका प्रशिक्षार्थीहरूको सहभागिता रहेको उक्त तालिमको समापन समारोहमा प्रचण्डले जनयुद्धकालका अनुभव समेत साझा गरेका थिए ।

प्रचण्डले उक्त समय तत्कालीन नेकपा माओवादीले जनयुद्ध को माध्यमले र तत्कालीन नेकपा एमालेले सदनमा र जनपरिचालनमार्फत अघि बढाएको आन्दोलनले देशमा राजनैतिक परिवर्तन ल्याउन ठुलो भूमिका खेलेको स्मरण गरे ।

संविधानसभामार्फत संविधान निर्माणको माग लिएर आफू पटक पटक शान्ति सम्झौताको प्रयासमा रहेपनि निरङ्कुश राजतन्त्रको अधिनस्थ सरकारले दमन जारी राखेकाले आफू पछाडि फर्किन बाध्य भएको समेत प्रचण्डको मत थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!