अन्तर्वार्ताः एमएस्सीपछिको अवसर त्यागेर क्रान्तिमा हाेमिएको एक जीन्दगी अर्थात क. ‘सुरज’

पार्टी विभाजनको स्टेपलाई रोक्न सकेको भए माओवादी र माओवादी आन्दोलन निकै उचाईमा पुग्थ्यो

लक्ष्मण जोशी ‘सुरज’, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्तर्गत प्रदेश नम्बर ७ मा परिचित नाम हो । गणित विषयबाट एमएस्सी उत्तीर्ण भएसँगै माओवादी आन्दोलनमा जोडिएर भूमिगत भएको सुरज ‘लो–प्रोफाइल’मा बस्न रुचाउने नेताको रुपमा चिनिन्छन् । माओवादी पार्टीभित्रको अन्तरविरोध चर्किँदा मोहन वैद्यसँगै जानुभएका सुरज पछिल्लो एकता प्रक्रियामा भने माओवादी केन्द्रमा समाहित भएका थिए, त्यसपछि उनले सेती महाकालीको संयोजक भएर भूमिका निर्वाह गरे । अहिले नेकपाको प्रदेश एकीकरणको क्रममा माओवादी केन्द्रबाट प्रदेशको नेतृत्वमा उनी मुख्य नेताको रुपमा देखिएका छन् । सचिवालयको निर्णयसँगै पूर्व एमाले नेता भीम रावल इन्चार्ज र उनी सह–इन्चार्ज बनेका छन् । यिनै ‘सुरज’सँग उनको राजनीतिक जीवन तथा प्रदेश नम्बर ७ सँग जोडिएका विषयमा केन्द्रीत भएर लिइएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।

नेकपाको प्रदेश सह इन्चार्ज जस्तो गहन जिम्मेवारी पाउनु भएको छ । कसरी लिनुभएको छ यो उपलब्धिलाई ?

निरन्तर देश, जनता, पार्टी र क्रान्तिप्रति समर्पित हुँदै आएको मेरो जीन्दगीमा पार्टीले सुम्पेको यो गहन जिम्मेवारी र विश्वासले मलाई एउटा जिम्मेवारी र गर्वको अनुभति भएको छ ।

तपाईको राजनीतिक जीवन कहिलेदेखि अघि बढ्यो ?

म २०४६ सालको आन्दोलनबाट निकै अभिप्रेरित बने । २०४७, २०४८ देखि २०५० सम्म विद्यार्थी संगठनको जिल्लाको नेतृत्व सम्हाले अध्यक्ष भएर । त्यही बेला तत्कालिन नेकपा (एमाले) को संगठित सदस्य हुँदै पार्टी जिल्ला कमिटिमा आएँ ।

२०५१ सालमा म पढाईको सिलसिलामा भारतमा जानुपरेपछि अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी यूनियनसँग जोडिए । हामीले पहिलोपटक भारतको उत्तराखण्डका कतिपय जिल्लामा प्रवासी नेपाली संघमा नेपाली साथीहरुलाई संगठित गर्यौं । म अभानेस्ववियू र प्रनेसको केन्द्रीय सदस्य भएर काम गरे । त्यहाँ छँदा पार्टीको प्रवास शाखाको सचिव भएर जिम्मेवारी सम्हाले ।

माओवादी आन्दोलनमा कसरी आकर्षित हुनुभयो ?

त्यो बेला देश र प्रवासमा वैचारिक छलफल, बहस र विवाद उत्कर्षमा थियो । यता माले समूहको जन्म भएको थियो भने नयाँ जनवाद र बहुदलीय जनवादको चर्को बहस जारी थियो । हामी पढने क्षेत्रमा वामपन्थी आन्दोलन निकै कमजोर थियो । हामी केही सीमित साथीहरु थियौं । यो परिवेशले स्वभाविकरुपमा हामी जुझारु बन्यौं । संघर्ष, आन्दोलन, वैचारिक बहसमा निकै लाग्यौं ।

यसै बीच २०५२, २०५३ तिर हुनुपर्छ, आदरणीय नेता लेखराज भट्टसँग त्यहीँ प्रवासमा भेट भयो । माओवादी आन्दोलन, माओवाद, नयाँ जनवादलगायतका कतिपय विषयमा गम्भीर छलफल भयो । यो छलफलबाट जनयुद्द नै नेपाली समाजलाई रुपान्तरणको दिशामा धक्का दिने एकमात्र विकल्प हो भन्ने लाग्यो ।

प्रवासमा काम गर्दा कैयन साथीहरुलाई समेटन खुला परिवेश आवश्यक थियो । त्यसैले लेखराज जीसँग निरन्तर छलफल हुँदा एउटा समझदारी बन्यो भने मेरो पढाई जारी रहँदासम्म साविककै पार्टी र भूमिकामा रहने र साथीहरुलाई क्रान्तिकारी प्रशिक्षण चलाउँदै जाने अनि भारत छोडेर नेपाल आउने बेला भूमिगत भएर पार्टीमा सक्रिय हुने । यही समझदारी अनुसार, तत्कालिन मालेको रुपमा भएपनि लेखराजजीसँग निरन्तर सम्पर्कका आधारमा मैले एमएस्सी गर्दा सम्म प्रवासबाट नै माओवादी आन्दोलनलाई सहयोग गरे ।

तपाईले एमएस्सी गर्नुभएको थियो । तत्कालिन समयका लागि त्यो डिग्रीको निकै ठूलो महत्व हुन्थ्यो । थुप्रै राम्रा अवसर थिए । तर जागिर गर्न छोडेर भूमिगत नै बन्ने सोच कसरी विकास भयो ?

विश्विद्यालयभित्रको राजनीति र बाह्य संघर्षमा होमिँदै जाँदा हामीभित्र एउटा विद्रोही चेतको विकास भइसकेको थियो । यता नेपालमा क्रान्तिकारी आन्दोलन झनै चर्किरहेको थियो । यो अवस्थामा नेपालको क्रान्तिकारी आन्दोलनलाई एउटा निश्कर्षमा लैजानुपर्छ र पूर्णरुपमा सत्ता परिवर्तनका लागि हामी अघि बढनुपर्छ भन्ने हामीलाई लाग्थ्यो । नेपालमा माओवादीले त्यो धार समातेको लागेर माओवादीमा पूर्णकालिन भएर हिँडने सोचँ बन्यो ।

एकातिर पढाई, परिवारको अपेक्षा र अवसरको ढोका खुलेको अवस्था, अर्कोतर्फ सबै त्यागेर भूमिगत हुने सोँच, त्यो बेला मनमा कस्तो द्वन्द्व चल्थ्यो तपाईको ?

त्यस्तो द्वन्द्व नै भन्ने चलेन । किनभने म सानै छँदा देखि नै कम्युनिष्ट पार्टीसँग जोडिएको थियो । म सामान्य परिवारबाट भएपनि घर परिवारको म प्रति विश्वास थियो । त्यसो त छोराले जागिर गरोस भन्ने अपेक्षा परिवारको नहुने हैन । तर यसले नराम्रो गर्दैन र यसले जे पाइला चाल्छ, ठीकै होला भन्ने परिवारको विश्वास थियो । त्यसैले मलाई त्यति समस्या भएन । अभावको बीचमा परिवार हुर्किएपनि म भूमिगत हुँदा र पछि पनि उनीहरुले मलाई अवरोध गरेनन् ।

अनि जनयुद्दको यात्रा कस्तो रह्यो ?

म २०५७ सालमा पूर्ण भूमिगत भएँ । प्रारम्भिक अवस्थामा दार्चुला, बैतडी र डडेल्धुराको एउटा जिल्ला कमिटि थियो । त्यसको सचिवको रुपमा शहीद हुनुभएको आदरणीय नेता कमरेड विनय हुनुहुन्थ्यो । म त्यो जिल्ला कमिटिको सचिवालयमा रहेर काम गरे । सँगसँगै तीनवटा जिल्लाको एउटा कमिटिभित्र पनि दार्चुलाको जिम्मेवारी लिएर निर्देशनानुसार काम गर्दै गएँ ।

मैले दार्चुलामा केही समय काम गरेँ । जनसरकार प्रमुख भएर पनि काम गरे । पछि पार्टीले मेरो भुमिका सैन्य क्षेत्रमा भन्दा पनि प्रचार अभियानमा बढी उपयुक्त ठानेर मलाई सञ्चारको जिम्मेवार दियो । अनि मैले जनगणतन्त्र रेडियो सेती महाकालीको स्थापना गरे । अनि यो रेडियोको निर्देशक भएर कालिकोट, अछाम, डोटी लगायतका क्षेत्रमा रेडियो राखेर आफ्नो भूमिका निर्वाह गरे । यो निकै जटिल काम थियो । तर हामीले कुशलतापूर्वक सञ्चारको जिम्मेवारी निर्वाह गर्यौं ।

पछि २०६० सालमा म फेरी जिल्ला फर्किएँ । मैले जिल्लाको सचिव र पछि इन्चार्ज भएर सबै जिम्मेवारी पुरा गरे ।

पछि पार्टी शान्ति प्रक्रियामा आयो । हामीले सबैतीर जीवन्त सम्पर्क अघि बढायौं । मेरो भूमिकालाई देखेर पार्टीले संविधानसभाको पहिलो निर्वाचनमा मलाई जिल्लाबाट उम्मेदवार बनाउने निर्णय गर्यो । जनताको माया पाएर म विजय भएँ ।

युद्दकालमा एउटा बेगलै परिवेश र भूमिका थियो, शान्ति प्रक्रियामा आएपछि मुख्यरुपमा कस्तो भूमिकामा रहनुभयो ?

शान्ति प्रक्रियामा आइसकेपछि मैले मुख्यतः दुईवटा भूमिका निर्वाह गरे । म संविधानसभाको सदस्य पनि थिएँ । संविधानसभाको निर्वाचनपछि संविधानमा जनपक्षिय एजेण्डाहरुको पक्षमा पार्टीको निर्देशनानुसार काम गर्ने । र, अर्को सेताी महाकालीको समग्र विकासका लागि भूमिका खेल्ने ।

त्यो बेला आदरणीय नेता लेखराज भट्टको नेतृत्वमा हामीले प्रदेश नम्बर ७ मा दीर्घकालिन असर पर्ने कामहरु सम्पन्न गर्यौं । सुदूरपश्चिम विश्वविद्यालय, प्राविधिक विद्यालय, उत्तर दक्षिण जोडने नाका, महाकाली र सेती लोकमार्गलगायतका रणनीतिक महत्वका योजनाहरु अघि बढाउन हामीहरु सफल भयौं ।

तपाईँ क्रान्तिकारी जीवन बिताउने अठोट बोकेर युद्दमा लाग्नुभयो । शान्ति प्रक्रियामा आएपछि माओवादीभित्र पनि यही विषयमा गम्भीर वैचारिक बहस चले । ती बहसहरुमा तपाईको भूमिका के थियो ?

खासगरी मलाई पहिलो संविधान सभाबाट संविधान बन्छ भन्ने पूर्ण विश्वास थियो । त्यही अनुरुप हामीले थुप्रै गृहकार्य र संघर्ष पनि गरेका थियौं । गणतन्त्र घोषणादेखि विषयगत समितिमा रहेर माओवादीकै नेतृत्वमा जनताको अभिमत लिएर संविधानलाई अन्तिमरुपमा पुर्याएका थियौं । तर दुर्भाग्य भनौं, संविधान बनेन ।

संविधान नबन्दा एक किसिमको अवस्था सिर्जना भयो । यता पार्टीभित्र पनि दुई लाइनको संघर्ष चर्कियो । नेपालको क्रान्ति अधुरो नै छ र यसलाई पूर्ण गर्नुपर्छ भन्ने एउटा लाइन बलियोरुपमा विकास भएको अवस्था थियो । तत्कालिन अवस्थामा म मोहन वैद्य किरणजीले अघि सार्नु भएको जनगणतन्त्रको लाइन समर्थन गरेँ । तर यो वैचारिकरुपमा मेरो समर्थन किरणजीलाई भएपनि प्रदेश नम्बर सातका मुद्दा र त्यहाँका नेतृत्वसँग मेरो जीवन्त सम्बन्ध थियो । नेतृत्वप्रतिको आस्था र श्रद्दा टुटेको थिएन । हामी लाइनका हिसाबले किरणजीसँग भएपनि पार्टी विभाजन नहोस भन्नेमा हामी थियौं । पार्टीभित्रै वैचारिक छलफल चलोस भन्ने चाहना थियो । तर यो चाहना पुरा भएन । तर पार्टी विभाजन भएपछि पनि पार्टी एकता हुनुपर्छ भन्ने प्रयास हामी युवाहरुको तर्फबाट हुँदै आयो । हामीले जे लक्ष्य लिएका छौं, हाम्रो काँधमा जे अभिभारा छ, त्यो पार्टी विभाजन हैन एक भएर नै हुन्छ भन्ने हाम्रो स्पष्ट धारणा थियो । त्यसैले हामी विभाजनपछि पनि पार्टी एकताका लागि भूमिका खेल्दै आयौं ।

अहिले आएर के लाग्छ भने हामीले त्यो बेला पार्टी विभाजनको स्टेपलाई रोक्न सकेको भए माओवादी र माओवादी आन्दोलन निकै उचाईमा पुग्थ्यो होला भन्ने महसुस हुन्छ ।

अहिले पार्टी नयाँ ढंगले एकता भएको छ । नयाँ ढंगले समाजवादी क्रान्तिको कार्यदिशा तय गर्ने बिन्दुमा हामी छौं । यो अवस्थामा अहिले पनि विभाजित भएर गएका साथीहरु बाहिर हुनुहुन्छ । वहाँहरलाई जोडेर ल्याउने प्रयास मेरो अहिले पनि छ । त्यतातिर मेरो प्रयास केन्द्रित छ ।

तर यो एमालेसँग एकतापछि बनेको पार्टीले तपाईले हिजो सोचेको क्रान्ति, त्यो सुन्दर नेपालको निर्माणको नेतृत्व गर्न सक्ला ? अब कम्युनिष्ट आन्दोलन कसरी अघि बढछ लाग्छ ?

अब अहिलेको विश्व परिवेश, नेपालको राजनीतिक घटनाक्रमको विकासले यो एकता प्रक्रिया ऐतिहासिक आवश्यकता हो भन्ने कुरामा दुई मत रहेन । यो एकता प्रक्रियापछि नेपालको समाजवादी अर्थतन्त्रको ढाँचासहित नेपाललाई समाजवादी समाजतर्फ डोर्याउन सकिन्छ भन्ने विश्वास पनि पलाएर गएको छ ।

प्रदेश सातको कुरा गर्दा, नेकपाभित्र बिभिन्न गुट, उपगुट सतहमैं देखिन्छ । उनीहरुलाई मिलाएर लैजाने चुनौतीलाई कसरी हल गर्नु हुन्छ ?
हामी शान्ति प्रक्रियामा आइसकेपछि हाम्रा बैचारिक र सांस्कृति पक्षमा हाम्रा प्रशिक्षण, स्कूलिङ एकदमै कमी भएको छ । त्यसले गर्दा समस्या निम्त्याएको हो । तर समस्या नै छ भन्ने होइन । सबैजसो साथीहरु एउटा न एउट भूमिकामा हुनुहुन्छ । प्रशिक्षणको पक्ष कमजोर हुँदा आत्मकेन्द्रित चिन्तन र सोच पलाएका छन् । त्यसले नै केही यस्ता समूह जन्मिएको देखिएको हो ।

तर मूलभूतरुपमा यो नै मुख्य कुरा भने होइन । साथीहरुले युद्दकालदेखि नै लामो संघर्ष गर्नुभएको छ । त्यसैले मुख्य कुरा प्रशिक्षण र स्कूलिङमा नै जोड दिनुपर्छ । दोश्रो कुरा, सबै साथीहरुसँग व्यापक घनिभूत छलफल गरेर अघि बढने काम गरिन्छ । तेश्रो कुरा, सबै साथीहरुलाई भूमिका र जिम्मेवारीको वातावरण बनाएर जाने मुख्य कोशिस हाम्रो रहने छ ।

अहिले सचिवालयले गरेको निर्णय पनि कतिपयले आलोचना गरेका छन् नि ?

पार्टीले जे निर्णय गरेको छ, यो स्वागतयोग्य नै छ । यो निर्णय परिपक्व निर्णय नै छ । यसले सात नम्बरको सबै अवस्थालाई समेटेको छ । समुदायका हिसाबले पनि सबै वर्ग समेटिएका छन् । यद्यपी हिजो नेतृत्वका रुपमा स्थापित स्थायी समितिका दुबै जना नेतृत्व भीम रावल र लेखराज भट्टमध्ये एकजना इन्चार्जको रुपमा जिम्मेवारी पाउनु भएको छ । अब पार्टीले लेखराज भट्ट कमरेडको उचित जिम्मेवारी र भूमिकाको बारेमा सोच्नुपर्छ ।

प्रदेशको संगठनमा तपाईले नेतृत्व दिन कत्तिको सहजता हुने देख्नुहुन्छ ।

सहज नै हुन्छ । विगतमा पनि जटिल अवस्थामा मैले संयोजकको भूमिका निर्वाह गरे । संगठनको कार्यक्रमसँग सांगठनिक व्यवस्थापन गर्न सकियो भने हाम्रा लागि कैयन सजिला पक्ष पनि छन् । मैले यो बीचमा पनि कतिपय साथीहरुसँग छलफल चलाएको छु । मुलभूतरुपमा तलदेखि माथिसम्म संगठन निर्माण हुने बित्तिकै हामी एउटा नयाँ ठाउँमा पुग्नेछौं । जिल्लाहरुको एकीकरण हुँदा समेत कार्यदलको सदस्यको हैसियतले सबै विधि र प्रक्रिया अबलम्बन गरेर अन्तिम प्रतिवेदन पार्टी हेडक्वार्टरमा बुझाएका छौं । सबै जिल्लाका इन्चार्ज, अध्यक्षहरुसँग बसेर र कार्यदल तथा केन्द्रीय सदस्यहरुमाझ पनि छलफल गरेर प्रतिवेदन तयार गरेका थियौं । ठूलो गृहकार्यबाट निष्श्कर्षमा पुगेकोले कार्यदलको प्रतिवेदनका आधारमा अघि बढछ भन्ने विश्वास छ । केही नयाँ विषय अहिले उजागर भएको अवस्थामा त्यसलाई पनि समेटेर अघि बढिने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!