सुदूरपश्चिममा बाघ र हात्तीले पार्टी प्रवेश गरेपछि…

धनगढी र गोदावरी त कति नै छ र दूरी... हिँडेरै गएपछि एक घण्टामा पुगिएला । तर गाडीमा आउँदा समेत डेढ दुई दिन लाग्ने जनताको मनोभावना के भयो होला ?

गोकर्ण भट्ट ।

“दुश्मनी जम कर करो लेकिन ये गुंजाइश रहे
जब कभी हम दोस्त हो जाएँ तो शर्मिंदा न हों”

हिन्दी साहित्यका लोकप्रिय शायर बशीर ब्रदले यी हरफहरु लेख्दा के सोचेर लेखेका होलान् भन्न सकिन्न । तर विगतको निर्वाचनमा जनतामाझ वाचा दिने नेताहरुले अहिलेका आफ्ना क्रियाकलाप हेर्दा भने पक्कै यसको अर्थ अनुभूति गर्छन् होला ।

अहिलेको याम दुश्मनीको भएको छ । दुश्मनी अर्थात् शत्रुताको ।

यो दुश्मनीका पछाडि झिनो तर्कहरु छन् र बढी छ पूर्वाग्रह ।

पूर्वाग्रह अर्थहीन पूर्वाग्रह ।

विपक्षीको पक्षमाथि, पक्षको विपक्षीमाथि ।

राष्ट्रिय राजनीति मात्रै होइन, यो दुश्मनी पूर्वदेखि पश्चिमसम्म फैलिएको छ ।

र, अहिले भने सुदूरपश्चिम प्रदेश (केहीका लागि अस्वीकार्य) मा यो दुश्मनीले ठूलो भूमिका खेलेको छ ।

र यो दुश्मनी महाभारतको युद्द जस्तो छैन । मात्र दुई पक्ष लडाईमा भएजस्तो ।

बरु यहाँ आफ्नैहरु आफ्नैमाथि जाई लागेका छन् ।

विगतमा तिनै आफ्नाहरु आफ्ना थिए र अहिले आफ्नो केही स्वार्थ नमिल्दा आफ्नैहरु दुश्मन भएका छन् ।
गोदावरी दुश्मन भएको छ धनगढीको ।

यो त्यही गोदावरी हो, जसलाई धनगढीमा समावेश गरेर महानगरको परिकल्पना सुनाउने गर्थे नेताहरु ।
धनगढी नगरपालिका मात्र थियो यसअघि ।

राज्य पुनःसंरचना हुँदा धनगढी उप महानगरपालिका बन्यो । सात नम्बर अर्थात् सुदूरपश्चिमको एकमात्र उप महानगरपालिका ।
र, एउटा बलियो सम्भावना यो महानगरपालिका बन्ने थियो ।

गोदावरी नगरपालिकाको पूर्वाधार विकाससँगै भविष्यमा दुबै स्थानीय तहलाई मिलाउन सकिएको स्थितिमा यो निकै उत्कृष्ट मेट्रो पोलिटियन सिटी अर्थात् महानगर बन्ने थियो ।

काठमाडौं महानगर या चितवन महानगर जस्तै ।

र, यसले समग्र सात नम्बरको विकासमा नै ठूलो भूमिका निर्वाह गर्न सक्छ ।

सम्बन्धित् समाचार  आजको दिन तपाइको कस्तो ? हेर्नुस् राशिफल

यो कुरा, विगतमा नेताहरुले गर्थे । चुनावको बेला । सुन्दर पश्चिम बनाउने उनीहरुले वाचा गर्थे । धनगढी, अतरिया जस्ता बजार क्षेत्रलाई चरम विकास गरेर त्यसक्षेत्रलाई शैक्षिक चिकित्सकीय र रोजगारको हब बनाउन सकिने वाचा गरेका थिए ।

यी वाचा गरेरै जनताले उनीहरुलाइ भोट दिए । त्यतिखेर गोदावरीलाई धनगढीमा मिलाउने आधारहरु तयार थिएनन् । त्यसैले यो महानगरपालिकाको एजेण्डा उनीहरुको भविष्यको सपना थियो ।

सबै पार्टीका नेताले यो वा त्यो रुपमा यो सम्भावनामाथि चर्चा गर्ने गरेका थिए ।

अहिले प्रदेश सभाको दुई तिहाईले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी नगरपालिकामा राख्ने निर्णय गरेपछि भने धनगढीका तिनै नेताहरु रिसाएका छन् । उनीहरुलाई औडाहा भएको छ ।

धनगढी किन भएन ? गोदावरी किन भयो ?

उनीहरुले भविष्यमा यो गोदावरी पनि धनगढीकै मुख्य शाखा हुन्छ । यता धनगढीमा बजार हुन्छ, अतरियासम्म राजधानी फैलिन्छ र अरु क्षेत्रमा उद्योग स्थापना हुनसक्छन् भन्ने कुरा बोल्न चाहँदैनन् । उनीहरुलाई थाहा छ, यो सम्भव छ र यो नै हुन्छ भन्ने । तर उनीहरुलाई एउटा इष्या छ ।

र, यही र्इर्ष्याले उनीहरुलाई तर्कभन्दा निकै पर लगिरहेको छ ।

बशीर चन्द्रले भनेजस्तै भविष्यमा लाज नै हुने गरी उनीहरुले गोदावरी भर्सेस धनगढीको नारा लगाए ।
र, भोली यदि त्यही गोदावरीलाई धनगढीमा मिलाएर महानगरको सपना पुरा गर्ने कुरा उठ्यो भने… त्यतिखेर ‘शर्मिन्दा’ हुनुपर्ने अवस्था नहोला र धनगढीका नेताहरुलाई ?

किन महानगरको सपना नै ठीक छैन भन्ने आँट गर्न सक्लान् उनीहरु ।

कति राम्रो हुन्थ्यो यदि…

प्रदेशको प्रस्तावित राजधानीका बारेमा कार्यदलले दिएको रिपोर्टमाथि पर्याप्त बहस भएको छैन । के आधारमा राजधानी गोदावरी राखियो र प्रदेशको नामांकरण सुदूरपश्चिम भयो भन्ने कुरा मिडियामा देखिँदैन । किनभने प्रदेशको नाम राख्नुका र राजधानी गोदावरी नै प्रस्ताव गर्नुका पछाडि एउटा यथेष्ट तर्कसंगत तथ्यहरुले कार्यदलले प्रस्तुत गरेको हुनुपर्छ । यदि ती तथ्यहरु सही थिए भने त्यसलाई सार्वजनिक गरिनुपथ्र्यो ।
जस्तो किः

सम्बन्धित् समाचार  धनगढीमा रवि वडलाई भव्य स्वागत

१. सात नम्बर प्रदेशमा नौ वटा जिल्ला रहेका छन्, नौ वटा जिल्लाको एकल भौगौलिक इकाई मानेर केन्द्र पर्ने भूगोललाई राजधानी बनाउने सम्भावनाबारे अध्ययन भयो कि भएन ?

२. पूर्वाधार निर्माणका दृष्टिले कुन जिल्ला या क्षेत्रमा राजधानी बनाउन सजिलो हुन्छ र दीर्घकालिन महत्वको हुन्छ भन्ने कुरा हेरियो कि हेरिएन । यसो गर्दा बुँदा एकको भावनालाई समेट्ने विषयलाई ध्यानमा राखियो कि राखिएन ?

३. गोदावरीको प्रस्तावित राजधानी क्षेत्र कस्तो क्षेत्र हो ? त्यहाँ राजधानी विकास हुँदा त्यसले के तात्विक फरक पार्छ ? अन्य क्षेत्रभन्दा त्यो क्षेत्र नै किन उपयुक्त ठानियो ?

४. प्रदेशको राजधानी प्रस्ताव गर्ने बेला आमरुपमा के कस्तो खालको छलफल चल्यो । सहभागितामूलक निर्णय प्रक्रिया के थियो ?

यी प्रश्नहरु सार्वजनिक नभएको कारण नै अहिले केही समूहले रोइलो मच्चाउने मौका पाएका हुन ।

तर यो रोइलो मच्चाउनेहरुले यी माथि भनिएका कारणहरुलाई उठाएको भए, मेरै गोरुको बारै टक्काको हठ छोडेर समग्र प्रदेशको बारेमा मन्थन अगाडि बढाएको भए…

सबैले यो आन्दोलनलाई सलाम गर्थे ।

तर त्यसो भएन बरु उनीहरुले गोदावरीमा राजधानी बनाउने कारणको त कुरै छोडौं ‘मान न मान मै तेरा मेहमान’ भनेझै जबर्जस्ती धनगढीमैं राजधानीको माग अघि सारे । यसो माग गर्दा अन्य ठगिएका जिल्लाका जनताको अवस्था के होला ? एक रत्ति पनि सोचेनन् ।

राजधानी त सबै जिल्लाका जनतालाई चाहिँदो होला नि ?

बाजुरा त्यति विकट जिल्ला, दार्चुला त्यति परको जिल्ला। उनीहरुले पनि पायक पर्ने स्थान खोजेका थिए होलान् नि ?

सम्बन्धित् समाचार  १५ वर्षअघि गहना पसल लुट्ने गिरोह पक्राउ, १६ वर्षमा ४ हजार करोडको चोरी !

धनगढी र गोदावरी त कति नै छ र दूरी… हिँडेरै गएपछि एक घण्टामा पुगिएला । तर गाडीमा आउँदा समेत डेढ दुई दिन लाग्ने जनताको मनोभावना के भयो होला ?

के पक्ष र प्रतिपक्षले यो विषयमा कहिल्यै सोचे होलान् ?

बाघ शेरको तुक न बेतुकको बहस

यिनै कुराले गर्दा राजधानी बिरोधको आन्दोलनले त्यो उचाईं नपाएपछि अहिले उनीहरुले बाघ र हात्तीलाई राजनीतिमा तानेका छन् । त्यो बाटो त बाघ हिँड्ने बाटो पो, त्यहाँ त हात्ती पो जान्थ्यो । पर्यावरण मास्न पाइन्छ र ?

उनीहरुले भन्ने गरेका तर्कहरु यिनै हुन ।

तर के धनगढीमा राजधानी बनाउँदा पर्यावरण सप्रिन्थ्यो त ?

कि त्यसैपनि कंक्रिट हुँदै गएको सहर झनै कुरुप बन्थ्यो ?

यी प्रश्न सोच्ने फुर्सद कसैलाई छैन ।

बरु हात्ती र बाघलाई राजनीतिक दाउपेचमा ओरालेर उनीहरुले बहसलाई झन अर्को दिशातर्फ मोड्न खोजिरहेका छन् ।

राजनीतिमा दूरदर्शिता भएन भने क्षणिक आवेगमा चालिने कदमहरुले भविष्यलाई नै संकटमा पार्छ । राम्रो त त्यतिखेर हुन्छ जब हामी व्यक्ति या समूहको स्वार्थ भन्दा समग्रको हितका लागि काम गर्छौं । आफू त्याग गरेर पनि सबैका लागि राम्रो हुने बाटो रोज्छौं । यसो गरियो भने त्यो पो सही राजनीति ।

ये जो हालत हैं ये सब तो सुधर जायेंगे,
पर कई लोग निगाहों से उतर जायेंगे‘

नत्र भने ठ्याक्कै यही हिन्दी शायरी जस्तै हुन्छ राजनीति ।

अहिलेको अवस्था त सुध्रिएला तर त्यो बेलासम्म कैयौं मानिसहरु अन्यको दृष्टिमा स्खलित भइसक्नेछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: