आगोमा फूलहरू

कृष्णसिंह पेला

नदी किनारमा घर बनाएपछि
बाढीको भयले
नदीको पानी थुन्न खोज्छ मानिस
तर सतत प्रवाह हो त्यो
साथी ! बालुवाको पर्खालले थुन्न सकिन्न बहाव नदीको ।

जायज होलान् तिम्रा वितृष्णाका धुवाँहरू
स्वाभाविक होलान् तिम्रा असंतुष्टिका झिल्काहरू
तर हाम्रा लाचारीहरूले
निकृष्टताको पराकाष्ठा किन नाघून् ?
किन आवेशवश हाम्रा विवेकस्तम्भहरू
गर्ल्यामगुर्लुम धराशायी होऊन् ?
एक तिमीमात्र होइन,
एक म मात्रै पनि होइन
अरू पनि होलान् नि प्रकाशका पक्षधरहरू
तर सूर्यलाई गाली गर्ने मान्छे
प्रकाशको पक्षधर हुनै सक्तैन ।

घरभरि अँध्यारोले कब्जा गऱ्यो भन्दैमा
घर जलाउनु हुन्न साथी !
दीयो जलाउनु पर्छ ।
हो अन्धकार भनेको प्रकाशको जन्मजात शत्रु हो
तर किरणले अन्धकारमै संघर्ष गरेर
आफ्नो स्थान बनाउन सक्नुपर्छ
अन्यथा
कसैले स्वीकार गरे पनि नगरे पनि
विराट साम्राज्य छ उसको पनि
साथी ! तिमीले यसरी पुछेर पुछिन्न अँध्यारो ।

होला तिम्रो द्वेष रंग र सुगंधप्रति
या हुनसक्छ कतै तिम्रो आसक्ति
तर यी फूल हुन्
प्रकृतिका अभिव्यक्ति हुन्
यी हिजो पनि फुलेका थिए
आज पनि फुलेका छन्
र भोलि पनि फुल्ने छन्
केही फूल कुल्चिंदैमा
बन्द हुँदैनन् पुष्पसिर्जनका द्वारहरू
असीम संधर्षपछि प्रकट भएका हुन् यी पनि
आगोजस्तै
साथी ! यसरी आगोले निभाउन सकिन्न आगो ।

कमेन्ट गर्नुहोस्