प्रधानमन्त्री ओलीलाई प्रतिपक्षी प्रेमपत्र

विश्वप्रकाश शर्मा, काठमाडौं । प्रधानमन्त्रीज्यू, ‘मेरो देश डुब्न लाग्यो’ मार्मिक गीतको पंक्ति उद्धृत गरेर तपाईंकै पार्टी नेता माधवकुमार नेपालले संसदमा बोल्नुभएपछि त्यसले आजको देश बयान गरिसकेकै छ  । तर उहाँको कोणबाट देखिएझैं निराश, आक्रोश र सबै सकिन लाग्यो’ भन्ने ढंगको टिप्पणी म गर्न चाहन्न  ।

यद्यपि ‘सबै ठिकै छ’ भन्ने प्रकृतिको तपाईको जवाफ पनि भुइँतलामा आगो लाग्या हो, छानामा खोइ कहाँ छ भन्ने लापरबाहीको जगमा उभिएको छ । सत्य हो, सात महिनामा कुनै पनि सरकारले चमत्कार गर्न सक्दैन र यति छोटो अवधिमा यी–यी काम किन भएनन् भनी प्रश्न थुपार्नुको अर्थ छैन । पाँच वर्षमै हो, पुरै परिणाम हेर्ने र अन्तिम समीक्षा गर्ने । तर यी–यी काम किन बिग्रिए भनेर सोध्न पाँच वर्ष कुर्ने कुरा हुन्न ।

विसंगति किन बढेर गयो ?शान्ति सुरक्षाको यस्तो कारुणिक अवस्था किन ? कांग्रेसका पालामा धरहरासम्म मात्रै उक्लिएको बजार मूल्य आज कम्युनिष्टका पालामा किन चढ्यो, सगरमाथा ? किन अपारदर्शी र विवादास्पद चरित्र प्रस्तुत भइरहेको छ, विकास निर्माणका कतिपय परियोजनामा ? यस्ता प्रश्न उठ्नु स्वाभाविक र जरुरी छ । प्रश्न उठाउँदा माधवकुमार नेपालले पुरै अँध्यारो देख्नुभयो, गलत गर्नुभयो । जवाफ दिंँदा तपाईले पुरै उज्यालो देख्नुभयो, त्यो पनि गलत गर्नुभयो । जरुरी छ, वस्तुगत भएर विषयलाई हेर्न, बुझ्न, समीक्षा गर्न र सच्चिएर अघि बढ्न ।

इतिहासमै शक्तिशालीको संज्ञा धेरैले दिएका छन्, तपाई नेतृत्वको सरकारलाई । शक्तिको मापन गर्ने यन्त्र अमूर्त हुन्छ, त्यता नजाऊँ, बरु इतिहासमै सहज वातावरण प्राप्त सरकार भन्नु उचित ठान्छु । न शान्ति स्थापना गर्ने ज्वालामुखी झेल्नुछ, न संविधान निर्माण गर्ने जटिलता चिर्नुछ, न संविधानसँग अहसमतलाई संयोजन गरेर चुनाव गराउनुछ । यी सबै ‘सेटल’ भइसकेपछिको सरकार समृद्धिको यात्रामा हिँड्न होइन, दौडन सक्नुपर्ने हो, तर किन घिस्रिन पनि मुस्किल परिरहेको छ, प्रधानमन्त्रीज्यू ? अनि किन एकपछि अर्को विवाद र प्रतिकूलतामा फस्दै गएको छ, सरकार ?

प्रधानमन्त्रीज्यू, यो प्रेमपत्र कांग्रेस केन्द्रीय समितिले यही साता पारित गरेको केही समसामयिक अभिमतको जगमा लेखिरहेको छु । यसलाई मेरो व्यक्तिगत या मेरो पदीय जिम्मेवारी अन्तर्गतको जे बुझे पनि हुन्छ ।

कुन ग्रेडको शान्ति सुरक्षा ?
झापामा तपाईकै चुनाव क्षेत्रमा गतमहिना एक कपडा व्यापारी मारिए । उपत्यकामा तपाईकै घर नजिक काँडाघारीमा अपहरणपछि बालकको हत्या भयो । पोखरामा एक युवति मृत भेटिइन् । रोल्पामा तरुण दलका कार्यकर्ताको हत्या तपाईंको पार्टीका एक युवकबाट भयो । काठमाडौंमा निर्मम ढंगले मारिए, पूर्व राजदूत ।

एसिड आक्रमणको शृङखला बढ्यो । निर्मला पन्तको प्रकरण बाहिर आयो, संसदमा गृहमन्त्रीको वक्तव्य आयो– देशमा शान्ति सुरक्षा स्थिति अत्यन्तै राम्रो छ । ज्ञान बढाउन जान्न चाहन्छु, यो कुन ग्रेडको शान्ति सुरक्षा हो, प्रधानमन्त्रीज्यू  ?

निर्मला प्रकरणमा दोषी जोगाउने षडयन्त्र । निर्दोषलाई दोषी किटान गरेर सार्वजनिक । न्याय माग्दा गोली र एक अबोध बालकको बलि । देशको १९ स्थानमा प्रदर्शन भएकै दिन तपाईको अरिंगाल अभिव्यक्ति ।

अनुसन्धानलाई प्रभावित गर्ने ढंगले टिभीमा विवादास्पद बोली । सरकार र नेकपालाई बदनाम गर्ने षड्यन्त्रले यस्तो भइरहेको ‘बौद्धिक’ दाबी अर्का वरिष्ठ नेताको । गृहमन्त्रीको ठहर- बलात्कार पुँजीवादका कारण भएको रहेछ । सम्माननीय प्रधानमन्त्रीज्यू, यो समग्र घटनाक्रम, सोच, शैली र बोलीलाई जिम्मेवार व्यवहार दाबी गर्नसक्ने अवस्थामा कोही छन्, तपाई निकट बुद्धिजीवी सिंहदरबारमा ?

विमानस्थल बनाऊँ, सहर होइन
हाम्रो सपना र संकल्पको राष्ट्रिय गौरवको प्रस्तावित निजगढको अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ । आवश्यक जग्गा सरकारले उपलब्ध गराउनुपर्छ । त्यसका लागि रुख काट्नैपर्छ । तर ईआईए प्रतिवेदनले २४ लाख ५० हजार ३ सय १९ वटा रुख काट्नुपर्ने आवश्यकता ठहर्‍याएको विषय विवादास्पद छ । केवल १२२७ हेक्टरमा बनेको छ, लन्डनको हिथ्रो विमानस्थल ।

त्योभन्दा दोब्बर फैलावटमा बनाउने पक्कै होइन भने किन चाहियो २५५६ हेक्टर ? अनि २४ लाख रुख काटिँदा त्यसको २५ गुणा बिरुवा रोप्ने जुन विकल्प छ, त्यसका लागि ३८ हजार २ सय ८२ हेक्टर आवश्यक पर्ने जग्गाको उपलब्धता, वृक्षरोपण अनि जंगलको विकास कागजमा अर्को धर्का कोरेजस्तो निमेषभरमा गर्न सकिने कुरा होइन । अतः प्रधानमन्त्रीज्यू, निजगढमा केवल एयरपोर्ट बनाऊँ, एयरपोर्ट सिटी होइन । एकमात्र पनि रुख बढी काटे सिंगो देशको विमति रहनेछ ।

बूढीगण्डकीः किन त्वं शरणम् ?

बूढीगण्डकीको जलविद्युत परियोजना हामी आफै बनाउन सक्छौं भन्ने ठहर कांग्रेस नेतृत्वको सरकारले गठन गरेको अध्ययन समितिले गरेको थियो । नेपाली उपभोक्ताले प्रतिलिटर पेट्रोलमा पाँच रुपैयाँ तिर्न थालेको रकम गत भदौ मसान्तसम्ममा २३ अर्बभन्दा बढी उठिसकेको छ । आम नागरिकको सहभागिता गाँसिएको यस्तो परियोजनालाई विना प्रतिस्पर्धा गेजुवालाई सुम्पिएर त्वं शरणम् किन गर्नुभएको प्रधानमन्त्रीज्यू रु कांग्रेसले गरे राष्ट्रघात, कम्युनिष्टले गर्दा क्रान्तिकारी राष्ट्रवाद ?

वाइड बडी कि वाइड भुँडी

नेपाल वायुसेवा निगमका दुइटा वाइड बडी विमान खरिद प्रक्रिया अपारदर्शी रहेको टिप्पणी महालेखा परीक्षकबाट सार्वजनिक भएको छ । अख्तियारले प्रवेश गरिसकेको छ । यसको छानबिनमा सत्ताको कस्तै छायाको प्रभाव पर्नु हुन्न । भ्रष्टाचारमा शून्य सहनशीलताको व्यावहारिक पुष्टिको अवसर छ, तपार्इंलाई । सिंगो देश यो प्रकरणको निष्पक्ष तथ्यको प्रतीक्षामा छ ।

हम्बनटोटा नबनोस् रेल

रेल हावादारी सपना होइन । कांग्रेसको घोषणापत्रमा हामीले पनि रेल सपना उल्लेख गरेका छौं । तर रेलको सपना पुरा गर्न सपनाको शिरमा रातो रिबन बाँधेर पुग्दैन । सपनाले संकल्प खोज्छ, संकल्पले योजना, योजनाले सर्वेमा पुर्‍याउँछ र सर्वेले डीपीआरमा अनि डीपीआरले लगानी र लगानीले वातावरण माग्छ ।

दुई–अढाई वर्षमै रेल केरुङबाट काठमाडौं पुग्नेछ र रक्सौलबाट काठमाडौं जोडिनेछ भनेर प्रधानमन्त्रीज्यू तपाईंकै तहबाट व्यक्त भाषण माफ गर्नुहोला, सम्भव सपनाको हावादारी बयानबाजी हो । विरोध गर्नेलाई सित्तैमा रेल चढाउने भाषणको मजा लिइरहन हामी तपाईंलाई अवरोध गर्दैनौं । काठमाडौं आइपुग्ने उत्तर र दक्षिणको रेलमा बाह्य अनुदानलाई हाम्रो स्वागत हुनेछ । तर महाऋणको भार मुलुकलाई बोकाउने सम्भावना हो भने त्यसको खुलेरै अवरोध गर्ने चेतावनी जारी गर्छौं ।

प्रश्न भारत या चीनको होइन, ऋणको हो, प्रधानमन्त्रीज्यू । एयरपोर्ट, बन्दरगाह र सडक बनाउन लिइएको खर्बौं ऋणको भारले थिचिएपछि श्रीलंकाले अन्ततः ‘डेट ट्र्याप’मा परेर हम्बनटोटा बन्दरगाह र १४ हजार एकड जमिन चीनलाई ९९ वर्षका लागि सुम्पिएको छ । उत्तरको चीन दक्षिणमा विस्तारित भएको छ । ‘हम्बनटोटा दुई’ पाकिस्तानमा बन्न नदिन इमरान खान प्रधानमन्त्री बनेपछिको सरकारले कराँचीदेखि पेसावर जोड्ने रेलमार्गका लागि पूर्ववर्ती सरकारले लिने तयारी गरेको आठ अर्ब अमेरिकी डलर ऋणको आकारमाथि पुनर्विचार सुरु गरेको छ ।

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले चिनियाँ ऋणमा बनाउने प्रक्रिया अघि बढिरहेको पूर्वी तटीय रेल लिंक र दुइटा ग्यास पाइप लाइन परियोजना रद्धको घोषणा गरेका छन् । उनीहरूले श्रीलंकाको निकट अतितबाट पाठ सिके । सिके, बाह्य ऋणको खोलो बगाएर लोकप्रिय हुन सकिन्छ, तर अन्ततस् त्यही खोलाले डुबाउँछ ‘लोक’ र लोकप्रियता दुवैलाई ।

बोली होइन, कर्म लेखिन्छ इतिहासमा सुत्नुभएको छैन, प्रधानमन्त्रीज्यू, हामी देखिरहेका छौं, तपाईंले पसिना बगाइरहनुभएको छ । तर पसिना बालीमा होइन, नालीमा बग्यो भने परिणाम प्राप्त भएन भनेर दुस्ख मनाउनुको भोलि अर्थ हुने छैन । त्यसमा पनि पसिना बग्नुलाई होइन, विज्ञानको परिभाषामा दूरी पार गर्नुलाई भनिन्छ काम । संविधान निर्माणकालमा पसिना अरु प्रधानमन्त्रीले पनि बगाएकै थिए तर दूरी पार त सुशील कोइरालाले गर्नुभयो ।

दुनियाँ जादन्छ, भाषण गर्न योग्य हुनु र शासन गर्न सफल हुनुबीच पहाड र समुद्र जतिकै फरक हुन्छ । जिब्रोमा क्यान्सरका कारण सुशील कोइरालाको बोली राम्रोसँग बुझिएन, तर कर्म प्रस्टसँग बुझियो । उहाँको नेतृत्वमा देशले संविधान पायो । इतिहासमा उहाँको त्यही कर्म लेखियो । प्रधानमन्त्रीज्यू, तपार्इंको बोली प्रस्ट बुझिन्छ, बुझिएको छ, तर कर्म बुझ्न नसकेर मानिस हैरान हुँदै गएका छन् ।

शान्ति, संविधान र चुनावपछिको इतिहासकै यी उर्वर र सुन्दर दिनहरूलाई ‘बन्जर’ बनाउन नलाग्नुस् । सुन्नुस् डा. गोविन्द केसीलाई जसले पुनः अनशनको चेतावनी दिइसकेका छन् । अनि आफ्नै अन्तरआत्माको आवाज सुन्नुस् प्रधानमन्त्रीज्यू, अनेक आँधी थामिएको देशमा तपाईंको नौका किन डुब्न लाग्दैछ, के असफल माझीको नियति तपाईको ललाटमा लेखिएको छ ? कान्तिपुर दैनिकबाट साभार

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!