भरतपुरका विपन्न परिवारलाई चिनियाँ नागरिकद्वारा सहयोग प्रदान

चितवन, असोज २६ । चिनियाँ नागरिक चाङ होङ यूले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५, सोसीबजारका एक सय घरधुरीका विपन्नलाई दसैंको अवसर पारेर खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन् । बिहीबार सोसीनगरमा आयोजित एक कार्यक्रममा चिनियाँ महिला यू र भरतपुर महानगर प्रमुख रेणु दाहालले सहयोग हस्तान्तरण गरिन् ।

कार्यक्रमकी प्रमुख अतिथि महानगर प्रमुख दाहालले अति विपन्न परिवारलाई दसैंको बेला राहतस्वरूप चामल, नुन, तेल, मसला, साबुन, कम्बल र नगद सहयोग प्रदान गरेकोमा चिनियाँ नागरिक यूलाई धन्यवाद ब्यक्त गरिन् ।

 

 

कुनै पनि सहयोग सानो र ठूलो नहुने बताउँदै उनले नेपालीहरूको महान पर्व दसैंलाई लक्षित गरेर १ सय घर परिवारलाई पु¥याउनु भएको सहयोगले चीन र नेपालबीचको जनस्तरको सम्बन्धलाई अझै सुमधुर बनाउने विश्वास व्यक्त गरिन् ।

महानगर प्रमुख दाहालले वितरित राहतलाई मितव्ययी ढंगले उपयोग गरी दसैंलाई उल्लासमय बनाउन आग्रह गरिन् । उनले भरतपुर महानगरपालिका विकास निर्माण, सुशासन र सामाजिक विकासको क्षेत्रमा तिब्र गतिमा अगाडि बढिरहेकोमा जोड दिँदै यसमा सबैको साथ, सहयोग र खबरदारी जारी रहनुपर्ने बताइन् ।

सम्बन्धित् समाचार  चिकित्सक–प्राविधिकसहित गैंडा पठाइने

 

भरतपुर महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष विजय भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दसैं राहत प्रादन गर्ने चिनियाँ महिला यू र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार विशिष्ट अतिथि रहेका थिए ।

सहयोगदाता यूले यस भेगका असहाय, गरीब र निम्न वर्गका समुदायलाई सानो सहयोग गर्न पाउँदा ज्यादै खुसी लागेको बताउँदै सहयोग स्वीकार गरेकोमा सहयोग प्राप्त गर्ने सबैप्रति आफू आभारी भएको बताइन् । उनले सहयोग पाउनेहरुको दशैँ सुखमय हुने विश्वास व्यक्त गर्नुभयो । यो अवसर जुटाइदिनु भएकोमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई धन्यवाद भन्दै उहाँले भोलिका दिनहरूमा पनि आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन् ।

 

कार्यक्रममा बोल्दै नेकपाका जिल्ला अध्यक्ष परियारले दानवीर चिनियाँ नागरिक चाङ होङ यूप्रति आभार ब्यक्त गर्दै सय घरमा बसोबास गर्ने विपन्न परिवारको दशैँ उल्लासमय हुने विश्वास व्यक्त गरे । प्रभात माध्यमिक विद्यालय शुक्रनगरका प्रधानाध्यापक होमनाथ भण्डारीले महानगर प्रमुखको विशेष पहलमा यस क्षेत्रका असहायलाई दशैँ राहत प्रदान गर्ने चिनियाँ नागरिक यूलाई विशेष धन्यवाद दिए ।

सम्बन्धित् समाचार  मदन भण्डारीको जन्मोत्सवमा चितवनमा यस्तो पनि

भरतपुर महानगरपालिका वडा नम्बर २५ अन्तर्गत विभिन्न ठाउँमा बसोबास गर्ने अतिविपन्न, गरीब तथा असहाय एक सय जनालाई प्रतिव्यक्ति दश हजार रुपैयाँ बराबरको खाद्यान्न, मरमसला, कम्बल, चिनी, साबुन र दसैं खर्च चार हजार रुपैयाँ नगद वितरण गरिएको हो । राहत पाउनेमा दलित, आदिवासी जनजाति, खस, आर्य समुदायका विपन्न परिवार रहेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: