चलचित्र ‘जात्रै–जात्रा’ को घोषणा, ‘क्याप्टेन’ सँग भिड्ने पक्कापक्की

गत दुई वर्षअघि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै–जात्रा’ को घोषणा गरिएको छ ।

दशैं तथा तिहारको शुभकामना आदानप्रदान गर्दै प्रदीप भट्टराईले निर्देशन गर्ने नेपाली चलचित्रको बिहीवार एक कार्यक्रमका बीच निर्माण टिम र कलाकारको उपस्थितिमा औपचारिक निर्माण घोषणा गरिएको हो।

पहिलो सिरिजकै कलाकारहरुको हाली–मुहाली रहने चलचित्रको कथा निर्देशक भट्टराई आफैंले तयार पारेका छन् । आगामी कात्तिक १ गतेबाट फ्लोरमा जाने चलचित्रको प्रदर्शन मिति फागुन १७ गतेलाई तय गरिएको छ । यो मितिमा अनमोल केसीको ‘क्याप्टेन’ पनि रिलिज हुँदैछ ।

दुई नेपाली चलचित्रको भीडन्तलाई ठूलो रुपमा नलिन निर्देशक भट्टराईले आग्रह गरे ।

‘चाडपर्वमा २ वटा फिल्म नेपाली बजारले धान्छ’, उनले भने । ‘जात्रै–जात्रा’ मा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बवर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर लगायतका कलाकारहरुको मुख्य अभिनय रहने छन् ।

कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता रहने फिल्ममा सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहने छन् । शिवराम श्रेष्ठले खिच्ने फिल्मलाई मित्र डि.गुरुङले सम्पादन गर्नेछन् । षट्कोण पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मको कथा पहिलो श्रृंखलाभन्दा फरक रहेको निर्देशक भट्टराईले बताए ।

‘जात्रा’ जहाँ सकिएको थियो ‘जात्रै जात्रा’ त्यहीँबाट सुरु हुन्छ । तर यसपटक फिल्मका पात्रहरु पैसाको पछाडिमात्र दौडिने छैनन्’, उनले भने । मह सञ्चारमा लामो समय सहायक निर्देशकको अनुभव सँगालेका प्रदिपले यसअघि ‘जात्रा’ र ‘शत्रु गते’ निर्देशन गरिसकेका छन् ।

निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँले ब्याज खानमात्र सिक्वेल निर्माण गर्न नलागेको बताए । उनले भने, ‘हामीलाई पहिलो श्रृंखलाभन्दा राम्रो बनाउनुपर्ने चुनौति छ । यही कारण नै सिक्वेल निर्माणमा हामीले हतार गरेनौं । राम्रो स्क्रिप्ट आएपछि ‘जात्रै–जात्रा’ निर्माण गर्न लागेका हौं ।’

‘जात्रा’ मा श्रीमान्–श्रीमतीको भूमिकामा रहेका अभिनेता विपिन कार्की र अभिनेत्री बर्षा राउतले दोस्रो सिरिजमा पनि जोडिन पाउँदा खुसी लागेको बताए । डेढ करोडको लगानीमा निर्माण हुने फिल्मको काठमाडौंको असन, बौद्ध र पोखरामा छायांकन हुने छ ।

३५ दिनमा फिल्मको सुटिङ सक्ने निर्देशकको तयारी छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!