विश्वकप क्रिकेट छनोटको उपाधि नेपाललाई, सन्दीपले बनाए नयाँ रेकर्ड

काठमाडौं । मलेसियामा सम्पन्न टीट्वेन्टी विश्वकपको एसियाली छनोटअन्तर्गत पूर्व क्षेत्रको प्रतियोगिता नेपालले जितेको छ। अन्तिम खेलमा सिंगापुरसँग वर्षाका कारण अंक बाढ्नु परेपनि नेपाल नेटरनरेटमा शीर्षस्थानमा रहन सफल भयो ।

नेपाल र सिंगापुरको ६ खेलबाट समान ११ अंक छ। सिंगापुरले नेपाललाई ८२ रनको लक्ष्य दिएको थियो। नेपालले लक्ष्य पछ्याउनेक्रममा तीन बल मात्र बलिङ भएपछि वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेल सुचारु हुन सकेन ।

पहिला ब्याटिङ गरेको सिंगापुरले १७ ओभर तीन बलमा सबै विकेट गुमाएर ८१ रनमात्र जोड्न सक्यो। सिंगापुरलाई सस्तोमा समेट्न सन्दीप लामिछाने एक्लैले चार विकेट लिए । सोमपाल कामी र करण केसीले दुई दुई विकेट हात पारे। ६० रनमा केवल दुई विकेट गुमाएको सिंगापुरले त्यसपछि २१ रनको अन्तरमा अलआउट भएको हो ।

प्रतियोगितामा दुवै टोलीले अघिल्ला सबै पाँच खेल जितेका थिए । अब नेपालले एसियाली छनोट खेल्ने छ । एसियाली छनोटमा ६ टोली रहनेछन् । त्यहाँबाट शीर्ष दुई टोलीले विश्वस्तरको छनोटमा स्थान बनाउनेछन् ।

सन्दिपको कीर्तिमान

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन्। मलेसियामा जारी आइसीसी टी–२० एशिया उपक्षेत्रीय छनोट बी अन्तर्गत नेपालको अन्तिम खेलमा सिंगापुर विरुद्ध ३.३ ओभर बलिङ गरेका लामिछानेले १६ रन खर्चिदै ४ विकेट लिएका हुन् ।

सम्बन्धित् समाचार  आइपिएलको तयारीमा सन्दिप लामिछाने, उत्रिए मैदानमा (भिडियोसहित)

यो सँगै लामिछानेले बसन्त रेग्मी र विनोद दासको एकै प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड तोडेका हुन् ।  उमेर समूहमा एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने रेकर्ड सन्दिप लामिछानेकै नाममा छ। उनले गत वर्ष जुलाइमा सिंगापुरमा भएको यु-१९ विश्वकप छनोट प्रतियोगितामा ६ खेलमा २४ विकेट लिँदै किर्तिमान बनाएका थिए।

सिनियर टिमको लागि भने एकै प्रतियोगितामा धेरै विकेट (२१) लिने रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा थियो । रेग्मीले सन् २०१२ को डिभिजन-४ प्रतियोगितामा २१ विकेट लिएका थिए भने बिनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रीज ९ तीन दिवसीय प्रतियोगितामा २१ विकेट लिएका थिए। सन्दिपले शुक्रबार २४ विकेट लिँदै सबै रेकर्ड तोडेका हुन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: