स्थानीय तहमा कर्मचारीको अभाव, १३ वटै तहमा विकास निर्माण कार्य ठप्प

कैलाली, कात्तिक १४ ।

स्थानीय विकासका लागि संविधानले अधिकार सम्पन्न बनाएको स्थानीय तहमा अझै कर्मचारी पुग्न सकेको छैनन् ।

निर्वाचन भएर पूर्ण रूपमा स्थानीय तह सञ्चालनमा आएको डेढ वर्ष पूरा हुन लाग्दा समेत स्थानीय तहमा कर्मचारीको अभाव कायमै रहेको छ । कर्मचारी व्यवस्थापनमा समस्या आएपछि कैलालीका १३ वटै स्थानीय तहका विकास निर्माणको काम प्रभावित छन् ।

कैलालीका स्थानीय तहहरूमा योजना, कृषि, स्वास्थ्य, शिक्षा, महिला विकासलगायतका शाखाहरूमा कर्मचारीको अभाव छ । विकास निर्माणका लागि आवश्यक प्राविधिक कर्मचारीसमेत नहुँदा स्थानीय तहका विकास योजना अलपत्र अवस्थामा छन् । कैलालीको मोहन्याल र चुरे गाउँपालिकामा अन्य स्थानीय तहभन्दा कर्मचारीको अभाव बढी छ ।

चुरे गाउँपालिकामा २५ कर्मचारी अनिवार्य जस्तै हुन् तर १२ जना मात्र कर्मचारी ती कार्यालय चलाएका छन् । यता चुरे गाउँपालिकामा एक जना पनि इन्जिनियर छैन । केही सब–इन्जिनियरले मात्र विकास निर्माणका काम गरिरहेका छन् । १५० बढी योजना रहेको गाउँपालिकाका सबै वडामा सचिव पनि नभएको प्रमुख प्रशासकीय अधिकृत हेमराज जोशीले बताए । एउटाले दुई-तीन वडा सम्हाल्नु परेको उनको भनाइ छ ।

सम्बन्धित् समाचार  देशभर अझै तीन लाख बालबालिका विद्यालय बाहिर : शिक्षामन्त्री

कैलालीको पहाडी गाउँपालिका मोहन्यालमा पनि वडा सचिवहरू छैनन् । सातवटा वडा रहेको यो गाउँपालिकामा ५ वडा सचिव विहीन छन् । मोहन्याल गाउँपालिकाको शिक्षा, महिला विकास शाखामा एक जना पनि कर्मचारी छैनन् । एक जना प्राविधिक जिल्ला समन्वय समितिबाट पठाइएको छ भने २ सब–इन्जिनियर र एक सहायक इन्जिनियर गाउँपालिकाले करारमा नियुक्त गरेको छ । यता कैलारी गाउँपालिमामा भने शिक्षा शाखामा मात्र कर्मचारीको अभाव छ । कैलारी गाउँपालिकाका ७ वडामध्ये ५ वडामा सचिव नरहेको प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द भट्टले जानकारी दिए ।

टीकापुर नगरपालिकामा समेत कर्मचारीको अभाव छ । टीकापुर नगरपालिकामा स्वीकृत दरबन्दी अनुसारका कर्मचारी छैनन् । सात शाखा र एक आन्तरिक लेखा परीक्षण गरी आठ शाखा नगरपालिकामा भए पनि एक शाखाका प्रमुखले अर्काे शाखा हेर्नुपर्ने बाध्यता छ ।

अधिकृत तहका कर्मचारीको अभाव रहेको छ भने प्राविधिक कर्मचारीको अभाव भएपछि नगरपालिकाले करारमा कर्मचारी भर्ना गरेको छ ।

यस्तै भजनी नगरपालिकामा समेत कर्मचारीको अभाव छ । प्राविधिक, शिक्षा शाखामा कर्मचारीको अभाव रहेको र नायब सुब्बा ६ जनाको अति अभाव रहेको नगरपालिकाले बताएको छ । भजनी नगरपालिकाका चार सयभन्दा बढी योजना रहेका छन् । कर्मचारीको अभावमा योजना कार्यान्वयनमा समस्या रहेको प्रमुख प्रशासकीय अधिकृत प्रवीन पौडेलले बताए ।

सम्बन्धित् समाचार  स्थानिय प्रशासनको अवज्ञा

सुदूरपश्चिम प्रदेशको एक मात्र उप–महानगरपालिका धनगढीमा पनि कर्मचारीको पदपूर्ति भएको छैन ।

उप–महानगरपालिकाको सबैजसो महाशाखा, शाखामा कर्मचारीको अभाव छ । सहकारी, उद्योग, कृषि, खेलकुद, सूचना शाखामा कर्मचारीको अभाव छ । मन्त्रालयलले बनाएको कर्मचारी संरचनामा स्थानीय तहमा कर्मचारी नभएका हुन् ।

धनगढी उप–महानगरपालिकामा ८४ जना कर्मचारीको दरबन्दी भए पनि १९ वडामा ७४ जना कार्यालय सहयोगीसहित कर्मचारी आवश्यक रहेको धनगढी उप–महानगरपालिकाका सूचना अधिकारी सुरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

नयाँ संरचनाअनुसार निर्वाचन भएको डेढ वर्ष पुग्न लाग्दा समेत स्थानीय तहमा कर्मचारीको अभावले सेवा प्रवाहमा समस्या भइरहेको छ भने विकास निर्माणका योजना सञ्चालनमा पनि समस्या भएको सम्बन्धित स्थानीय तहको गुनासो छ । गोरखापत्रबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: