ओशो तपोवनद्वारा निकुञ्ज अतिक्रमण

काठमाडौं, कार्तिक १५ । सरकारले १३ वर्षअघि ओशो तपोवनलाई दिएको नागार्जुनको ३७ रोपनी वनक्षेत्र फिर्ता लिने भएको छ । तपोवनले धार्मिक वनमा प्रतिकूल असर पर्ने संरचना ठड्याउनुका साथै सरकारी वन निजी बनाएको सरकारको आरोप छ ।

 

तपोवनले आफूखुसी सडक, पुल र अन्य भौतिक संरचना बनाएर आर्थिक मुनाफा हुनेखालका गतिविधि मात्र चलाएको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) कमलजंग कुँवरले बताए ।

 

मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ मा ‘वातावरणमा प्रतिकूल असर पर्ने गरी वा सार्वजनिक रूपमा हानि/नोक्सानी हुने गरी जलाधार क्षेत्रमा भूक्षय हुने गरी रूख कटान गर्न नपाइने’ व्यवस्था छ ।

 

त्यस्तै मध्यवर्ती धार्मिक वनमा सम्बन्धित धार्मिक निकाय, समूह वा समुदायले मध्यवर्ती धार्मिक वनमा गर्नुपर्ने कार्य सञ्चालन गर्न नसके संरक्षकले त्यस्तो धार्मिक वन फिर्ता लिन सक्ने उल्लेख छ ।

 

वन फिर्ता लिने निर्णयअघि सम्बन्धित धार्मिक निकाय, समूह वा समुदायलाई स्पष्टीकरण पेस गर्न १५ दिनको म्याद दिनुपर्ने व्यवस्थाअनुसार यसअघि नै त्यो मौका दिइएको तर स्पष्टीकरण चित्तबुझ्दो नभएको कुँवरले बताए ।

 

‘भौतिक संरचना आफूले नभई सडक विभागलगायत सरकारी निकायले बनाएको भन्दै ओशो तपोवन पन्छिएको छ,’ उनले भने । निकुञ्जको ‘गोलढुंगा–जितपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समिति’ का अध्यक्ष निराजन तामाङका अनुसार तपोवनले जैविक विविधता विनाश गरेर ठूल्ठूला संरचना र सडक बनाउनुका साथै व्यापार सञ्चालन गरेको छ ।

सम्बन्धित् समाचार  एक महिनासम्म मनाइने ‘गुँला’ पर्व शुरु

 

उक्त धार्मिक वनसमेत सदस्य रहेको समितिमा ९ वटा सामुदायिक वन छन् । धार्मिक वनभित्र कार्ययोजना बनाएर मात्र व्यवस्थापन अघि बढाउनुपर्नेमा तपोवनले निकुञ्जबाट स्वीकृत नै गराएको छैन । न त नवीकरण गराएको छ ।

 

नागार्जुन वनक्षेत्र निकुञ्जमा गाभिनुअघि जिल्ला वन कार्यालय, काठमाडौंले २०६२ पुस १५ मा ३७ रोपनी क्षेत्र धार्मिक वनका रूपमा तपोवनलाई हस्तान्तरण गरेको थियो ।

 

धार्मिक हिसाबले महत्त्व बोकेको, परम्परादेखि नै धार्मिक स्थल र समुदाय रहेको वनक्षेत्र थप संरक्षण होस् भनेर हस्तान्तरण गर्न सकिने वन ऐन २०४९ मा व्यवस्था भए पनि तत्कालीन जिल्ला वन अधिकृतले त्यसविपरीत हस्तान्तरण गरेका थिए ।

 

त्यस्तो वनमा वातावरणमा प्रतिकूल असर, हानि–नोक्सानी वा भूक्षय हुने गरी रूख कटान गर्न पाइँदैन । परम्परागत उपभोक्ताको हकहितमा असर पार्न हुँदैन । तर तपोवनले आफूखुसी जैविध विविधता र प्राकृतिक सम्पदा विनाश गरेको स्थानीयको भनाइ छ । जिल्ला वनले ३७ रोपनी हस्तान्तरण गरे पनि अहिले नापजाँच गर्दा ३२ रोपनी मात्र बाँकी रहेको कुँवरले बताए ।

 

तपोवनका नाममा रहेको १७ रोपनी निजी जग्गा भने बढेर २२ रोपनी हुन पुगेको छ । उनका अनुसार ५ रोपनी जग्गा तपोवनले धार्मिक वनभित्रबाटै निजीमा गाभेको हो । वन कार्यालयले २०७२ सम्मका लागि भाडामा वन हस्तान्तरण गरेको थियो । मुड्खु सिर्जनशील महिला सामुदायिक वन उपभोक्ता समूहले उपभोग गर्दै आएको वनक्षेत्र सम्बद्ध उपभोक्तालाई थाहै नदिई तपोवनलाई दिइएको खुलेको छ ।

सम्बन्धित् समाचार  मुख्यमन्त्री नै झाडू बोकेर जनकपुरका सडकमा

 

कुँवरले यसअघि चितवन निकुञ्जको त्रिवेणी क्षेत्रमा निकुञ्ज क्षेत्र अतिक्रमण गरी भौतिक संरचना बनाएको भन्दै कमलनयनाचार्यका सहायकलाई पक्राउ गरी कारबाही अघि बढाएका थिए ।

त्यति बेला चितवनका सरकारी वकिलले राय नदिएपछि मुद्दा अघि बढ्न सकेन । उनीहरू रिहा भए । पछि सरकारले कमलनयनाचार्यले अतिक्रमण गरी बनाएको त्रिवेणी धामलाई बाहिर पार्न निकुञ्जको सीमा नै बदलेको थियो ।

 

वन फिर्ता गर्ने प्रक्रिया अघि बढेकै बेला वन मन्त्रालयले चिफ वार्डेन कमलजंग कुँवरलाई शिवपुरी–नागार्जुन निकुञ्जको प्रमुखबाट हटाएको छ । कुँवरले निकुञ्ज व्यवस्थापनमा गरेका काम अब्बल भएकाले तत्काल हटाउन नहुने वन मन्त्रालयका सचिव विश्वनाथ ओली र निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काको अडानकै बीच उनको सरुवा गरिएको हो । वनमन्त्री शक्तिबहादुर बस्नेतले बाँके निकुञ्जमा प्रमुख रहेका डिलबहादुर पुर्जा पुनलाई शिवपुरीमा प्रमुख बनाउने अडान राखेका थिए । त्यसपछि मन्त्रालयले मंगलबार कुँवरलाई विभागमा सरुवा गरी पुनलाई ल्याएको हो । कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: