नेपालका शैक्षिक संस्थाहरू पनि विश्वस्तरका छन्

लामो समय प्राध्यापन सेवामा रहेका निरंजन आचार्य हाल काठमाडौँ तीनकुनेस्थित नासा इन्टरनेसनल एजुकेसन नेटवर्क अन्तर्गत रहेको शुभश्री अक्याडमिक  इन्टरनेसनल कलेजका निर्देशकका रूपमा रहेका छन् । विगतमा लामो समय राजधानीका उत्कृष्ट मानिएका शिक्षण संस्थानहरूमा प्राध्यापनको अनुभव सँगालिसकेका आचार्य शिक्षा समयानुकूल हुनुपर्ने र शिक्षण संस्थानहरूले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान दिने मात्र होइन पेसागत र व्यवहारिक ज्ञान समेत दिनुपर्ने बताउँछन् । विश्वविद्यालयले प्रदान गर्ने उपाधिको प्रमाणपत्र प्राप्त गरिसकेपछि विद्यार्थी बेरोजगार नरहनुपर्ने मान्यता राख्ने आचार्य आफूहरूले नेपालमै पहिलोपल्ट ‘जब प्लेसमेन्ट’ को परिपाटी सुरु गरेको दाबी गर्नुहुन्छ । प्रस्तुत छ निर्देशक आचार्यसँग एभरेस्ट दैनिकले गरेको कुराकानी ।

लामो समयदेखि शिक्षा क्षेत्रमा हुनुहुन्छ, कस्तो अनुभव छ ?

शिक्षा क्षेत्रमा केही गर्छु भनेर लागिसकेपछि त्यसमा निरन्तर राम्रै भइरहेको पाउँदा सन्तुष्टि त छ नै तर अझै राम्रो गर्न सकिन्छ भन्ने भने लागिरहेको छ ।

कलेज चलाउनु भएकोछ, पोखरा विश्वविद्यालयकै कार्यक्रम किन ? देशमा अरू पनि त विश्वविद्यालय छन् नि ?

हो, अरु पी विश्वविद्यालय छन् । हामीले व्यवस्थापन संकाय तर्फ अध्यापन गराउने कलेज खोल्न चाहेका थियौं र पोखरा विश्वविद्यालय यस क्षेत्रमा उत्कृष्टमध्ये एउटा मात्रै होइन निरन्तर प्रगति गरिराखेको विश्वविद्यालय समेत हो ।

फेरि हालैका दिनहरूमा यस विश्वविद्यालयले केही कुरामा महत्वपूर्ण सुधार गरेको छ । जतो कि कुनै पनि विश्वविद्यालयका लागि सबै भन्दा महत्वपूर्ण कुरा भनेको समयमा परीक्षा लिएर समयमै नतिजा प्रकाशन गर्नु पनि हो र यस मामिलामा पोखरा विश्वविद्यालय गम्भीर देखिएको छ । यी सबै कुराहरूलाई हेर्दा निकट भविष्यमा नै यो विश्वविद्यालय उत्कृष्ट बन्ने लागेर नै हामीले यसको सम्बन्धन लिएका हौँ ।

विश्वविद्यालयको पाठ्यक्रम र उसले गर्ने ‘मनिटरिङ’ चित्तबुझ्दो छ त ?

एकदम । मलाई लाग्छ पोखरा विश्वविद्यालयको पाठ्यक्रम विश्वका कुनै पनि विश्वविद्यालयको पाठ्यक्रमभन्दा कुनै पनि कुरामा कम छैन बरु एक कदम अगाडि नै होला । यहाँ सबै कार्यक्रमहरु सेमेस्टर प्रणाली अन्तर्गत साचालित छन् र विश्वविद्यालयले निरन्तर विद्यार्थीले पाउनु पर्ने ‘एक्सपोजर’बारे निगरानी गर्ने गरेको छ र हामी कलेज संचालकहरू समेत विद्यार्थीलाई सर्वोत्कृष्ट शिक्षण दिनु पर्दछ भने कुरामा सचेत छौं । हामीले विद्यार्थीलाई सैद्धान्तिक सीपका साथै व्यवहारिक सीप पनि दिइरहेका हुन्छौं । चार वर्ष हामीसँग पढेको विद्यार्थी मजासँग अफिस हाँक्न सक्छ, यस कुरामा म विश्वस्त छु ।

कलेजले नियमित पठनपाठनका अतिरिक्त पनि धेरै करा दिनुपर्ने हुन्छ, जस्तो कि विज्ञहरूद्वारा विशेष कक्षा, अतिरिक्त क्रियाकलाप जस्ता कुराहरू, यसमा समेत निरन्तर विश्वविद्यालयले ‘मनिटरिङ’ गर्दै आइरहेको छ ।

सम्बन्धित् समाचार  नेपाल एकीकरण कि गोर्खा साम्राज्य बिस्तार ?

अचेल शैक्षिक कार्यक्रमहरू समयानुकूल तवरले ‘अपडेट’ भैराख्नुपर्छ भन्ने कुरा आइराखेको छ । विशेष गरेर कुनै पनि कलेजको स्नातकले प्रमाणपत्र घरमा थन्क्याएर बेरोजगार भई बस्नु नपरोस् भन्नका लागि कुनै पनि शैक्षिकसंस्था कस्तो प्रकारका कोर्सहरूमा ध्यान दिनुपर्छ भन्ने लाग्छ ?

हामी कहाँ शैक्षिक संस्थाहरू आँफै ‘कोर्स डिजाइन’ गर्न सक्ने अवस्थामा छैनन् । उच्च शिक्षाको हकमा विश्वविद्यालयले र विद्यालय शिक्षाको हकमा नेपाल सरकारले तयार परेको पाठ्यक्रमलाई हामीले कार्यान्वयन गर्ने मात्रै हो । तर जहाँसम्म पाठ्यक्रम बेलाबेला ‘अपडेट’ भैरख्नु पर्ने कुरा छ त्यसमा म साह्रै सकारात्मक छु । र यो धेरै हदसम्म भइराखेको पनि छ । कुनै पनि विद्यार्थीले पढिसकेपछि सर्टिफिकेट मात्रै हासिल गर्ने होइन उसमा आफ्नो ज्ञानप्रतिको आत्मविश्वास जगाउने काम समेत शैक्षिकसंस्थाहरूको हो र हामी पनि यो कुरामा सचेत रहन्छौं ।

अहिले धेरै जसो तीन वर्षे स्नातक कार्यक्रमहरू चार वर्षे भइसके । त्यस्तै कक्षा शिक्षणको शैली समेत पूरै परिवर्तन भएर आएको छ । जस्तो कि हामीसँग भएका बीबीए र बीएचएम जस्ता कार्यक्रमहरू धेरै ‘अपडेटेड’ छन् । यिनीहरू शतप्रतिशत कक्षा शिक्षणमा आधारित नभएर व्यवहारिक पनि छन् । विश्वविद्यालयले ५० प्रतिशतको मात्रै जाँच लिन्छ भने बाँकी ५० प्रतिशत मूल्यांकन कलेजले गर्ने गर्छ ।

विश्वविद्यालयले कलेजलाई छोडिदिएको ५० पूर्णाङ्कको ज्ञान शुभश्रीले कसरी दिइरहेको छ ?

हामीले केही अतिरिक्त दिनुपर्छ र यसलाई विद्यार्थीको अधिकारको रूपमा स्थापित गरिनुपर्छ भन्ने सोच लिएका छौं । यसमा विद्यार्थीको अनुशासन, नियमितता, समय पालन, प्रेजेन्टेसन, गृह कार्य, प्रोजेक्ट वर्क, ग्रुप वर्कजस्ता काम समेत पर्दछन् । हामीकहाँ आज भर्ना भएको विद्यार्थी  चार वर्षपछि ‘म्यानेजमेन्ट प्रोफेसनल’ भएर निस्कोस भन्ने चाहन्छौं ।

विश्वविद्यालयले सैद्धान्तिक ज्ञानको पाटो हेर्दछ भने कलेजले व्यवहारिक र पेसागत ज्ञान प्रदान गर्नुपर्ने हुन्छ र विश्वविद्यालयले यसमा निरन्तर सुपरिवेक्षण गरिराखेको हुन्छ । हामी यसमा सजग छौं ।

कुनै समय अधिकांश राम्रा विद्यार्थीहरूको उच्च शिक्षतिर पहिलो रोजाई विज्ञान तथा प्रविधि संकाय पर्ने गर्दथ्यो र मध्यम स्तरका विद्यार्थीहरू मानविकी या शिक्षाशास्त्रतिर जान रुचाउँथे । अहिले सबै खोलो बगे झैँ व्यवस्थापनतिर लाग्नुका पछाडिको कारण व्यवस्थापन पढाउने कलेजहरूले गर्ने विज्ञापन मात्रै हो कि यसमा कुनै अन्य ‘जेनुइन’ कारण पनि छ ?

विज्ञापन त सबैले गरेकै छन् । त्यसैले विज्ञापन यसको कारण कदापि होइन । वर्तमान युग व्यवस्थापनको युग हो र आज हरेक मान्छेसँग विशिष्टीकृत ज्ञानका साथै व्यवस्थापकीय ज्ञान हुनु समेत अपरिहार्य भैसकेको छ । अचेल त इन्जिनियर र मेडिकल प्रोफेसनलहरूले समेत व्यवस्थापनको अतिरिक्त डिग्री लिने प्रचलन बढ्न लागेको छ । यो समयको माग हो ।

सम्बन्धित् समाचार  शिक्षा ऐन संसोधन विरुद्ध तदर्थ विद्यार्थी संघर्ष समिति गठन

अहिले यति धेरै व्यवस्थापन स्नातकहरू बजारमा आइरहेका छन्, के हाम्रो मौजुदा रोजगारीको अवसरले यति धेरै जनशक्तिलाई काम दिनसक्छ या यिनले पनि विदेश नै जानुपर्ने हो ?

हैन नयाँ काम गर्न सकिएन भने त धान्नै सकिन्न । यो नीति निर्माणको पक्ष पर्न गयो । यसका लागि नीति निर्माताहरू बेलैमा सचेत हुनु अवाश्यक छ । हामीसँग थुप्रै सम्भावनाहरू रहेका छन् । तिनको पहिचान गर्ने र लगानीको वातावरण निर्माण गर्ने जिम्मा नीति निर्माताहरूको हो । हामी शैक्षिक संस्थाहरूले जनशक्ति उत्पान गर्ने हो र हामी देशलाई चाहिने प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न प्रतिबद्ध छौं ।

देशभित्रै राम्रो रोजगारी मिल्नुपर्छ । यसरी दक्षता हासिल गरेको जनशक्ति विदेशिनु देशलाई ठुलो घाटा हो । तर यस्तो दक्षता हासिल गरेका व्यक्तिले विदेश गएर पनि आफ्नो स्तर अनुसारकै काम पाउने हुनाले व्यक्तिगत रूपमा बाहिरिनेलाई त ठुलै घाटा हुन्न तर देशका लागि भने यो अपूरणीय क्षति हुन जान्छ ।

लामो समयदेखि देशको राजधानीमा शैक्षिक संस्था संचालन गरिराख्नु भएको छ ? प्रत्यक्ष या अप्रत्यक्ष कस्ता चुनौतीहरू छन् ?

हेर्नुस् चुनौती त हरेक कुरामा हुन्छ नै । वर्षेनी हजारौंको सङ्ख्यामा विद्यार्थी विदेशिँदै छन्, जसले गर्दा अर्बौं रुपैयाँको रकम त विदेशिई रहेको छ नै यसले करोडौंको लगानीमा त्यस्तै कार्यक्रम संचालन गर्ने कलेजहरूलाई गाह्रो भइरहेको छ ।

यसमा केही न केही रूपमा हाम्रो नीतिगत अस्थिरता दोषी छ । जस्तो कि पोहोरसम्म मात्रै कक्षा १२ नो नतिजा प्रतिशतका आधारमा निकालिन्थ्यो, यसपालीदेखि ग्रेडिङ प्रणाली सुरु भयो । परिवर्तन आँफैमा नराम्रो होइन तर त्यो ‘स्टेबल’ हुनुपऱ्यो ।

देशभित्रै पनि कयौं नीतिहरू द्वैध मापदण्डका रहेका छन् । जस्तो कि पोखरा विश्वविद्यालयले बीबीए र बीएचएममा भर्नाको लागि प्रत्येक विषयमा न्युनतम ‘सी’ ग्रेड ल्याउनु अनिवार्य बनाइदिएको छ उता देशमै  विदेशी विश्वविद्यालयको सम्बन्धनमा संचालित कलेजहरू खुलिसकेका छन् र तिनीहरू कहाँ भर्नाको मापदण्ड निकै खुकुलो रहेको छ । यसले कतिपय कलेज संचालकहरू मर्कामा पर्ने  देखिन्छ ।

नेपालका नीजी कलेजहरू निकै महँगा भएकाले विद्यार्थीहरू भारत गएको भन्छन् नि ?

यी सबै मनोगत कुरा हुन् । भारतभन्दा नेपालमाशुल्क निकै कम र गुणस्तर प्रतिस्पर्धी रहेको कुरा म विश्वास दिलाउन चाहन्छु । हाम्रै उदाहरण दिएँ- नासा इन्टरनेसनल एजुकेशन नेटवर्क अन्तर्गत हामीले संचालन गरेको शुभश्री अक्याडमिक  इन्टरनेसनल कलेजमा हामीले संचालन गरेका बीबीए र बीएचएम कार्यक्रमको शुल्क राज्यको लगानीमा संचालित त्रिविका क्याम्पसहरूका त्यस्तै कार्यक्रमहरूकै शुल्कको हाराहारी छ । म आदरणीय अभिभावकज्युहरूलाई हल्लाको पछाडि लाग्नुभन्दा आएर बुझ्न आग्रह गर्छु ।

सम्बन्धित् समाचार  बाबुराम भट्टराईका धेरै गल्तीले नारायणकाजीलार्इ जिताउँदैछ !

विदेशतिर प्राविधिक शिक्षा या व्यवहारिक शिक्षा प्रदान गर्ने शिक्षालयहरूले ‘प्लेसमेन्ट’ या कलेज परिसरबाटै जागिर दिने प्रचलन रहेको छ । हामीकहाँ यसको केकति सम्भावनाहरू देख्नुहुन्छ ?

विदेशमा र भारतमै पनि यस्तो रहेको छ । उनीहरूको ‘इण्डस्ट्री’को साइज नै ठुलो छ । सजिलो हुने भइहाल्यो । हामीकहाँ पनि खोज्दै जाँदा यो सम्भव हुने रहेछ भन्ने कुरो हाम्रै अनुभवबाट थाहा भएको छ । हामीले पछिल्लो पटक आठौँ सेमेस्टर उत्तीर्ण भएर जाने विद्यार्थीलाई एउटा अकाउन्टिङ सफ्टवेयरको तालिम दिलाएका थियौं । उनीहरूमध्ये धेरै कलेजबाट सीधै जागिरमा गए । अरूको प्लेसमेन्टको पनि कुरा भइरहेको छ ।

त्यति मात्र होइन हामीले देशका थुप्रै प्रतिष्ठित व्यापारिक प्रतिष्ठान एवं ट्रेनिङ हाउसहरूले प्रयोगमा ल्याउने ‘स्वस्तिक’ अकाउन्टिङ सफ्टवेयर निर्माता कम्पनीसँग हामीले एमओयु साइन गरेका छौं र वर्षेनी हाम्रो यहाँबाट उत्तीर्ण भएर जाने विद्यार्थीहरूलाई उक्त सफ्टवेयरसम्बन्धी तालिम दिने कुरा रहेको छ । यसरी सीप सहितको जनशक्तिको प्लेसमेन्ट समस्या हुँदैन होला । यसको एउटा उदाहरण हामी नै हौँ । हामीले केही हदसम्म भएपनि विद्यार्थीको प्लेसमेन्टको परिपाटी थालेका छौं ।

हाम्रा विश्वविद्यालयहरू विश्वका उत्कृष्टमा पर सकिरहेका छैनन् । लगभग तेस्रो विश्वकै हालत यस्तो भएपनि हामी कहाँ यो अवस्था झन् टीठलाग्दो रहेको छ । हाम्रा विश्वविद्यालयहरू त्यहाँसम्म पुग्न के हुनु आवश्यक छ जस्तो लाग्छ ?

हामी कहाँ सबैभन्दा बिगारेको राजनैतिक हस्तक्षेपले हो । विश्वविद्यालयका पदाधिकारीहरू दक्षता र विज्ञताभन्दा राजनैतिक भागबण्डाले नियुक्त हुने गर्दछन् । अब यसरी नियुक्त हुने पदाधिकारीहरूको लोयल्टी विश्वविद्यालयभन्दा पनि आफूलाई उक्त स्थानमा पुऱ्याउने दलसँग बढी हुने भयो ।

त्यस्तै केही अन्य व्यवहारिक कुराहरू पनि छन् । जस्तो कि विश्वविद्यालयको प्राध्यापक र नेपाल सरकारको सचिवको वरीयता त एउटै हो तर व्यवहारमा भने त्यस्तो छैन यसले गर्दा विश्वविद्यालयमा कम गर्ने जनशक्ति या त पलायन हुने भयो या उसले दक्षता बढाउने कोशिस गर्ने भएन । प्राज्ञिक गतिविधिलाई औपचारिक कक्षामा मात्र सीमित गरिदिएपछि न त सम्बधित प्राध्यापककै दक्षतामा विकास हुनेभयो न विश्वविद्यालयकै स्तरोन्नति ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: