बलात्कार आरोपमा ठूलोबुबा र हजुरबुबा पक्राउ

भक्तपुर, कार्तिक १७ । जिल्लाको चाँगुनारायण नगरपालिका-४ संगमटोलकी १३ वर्षीया बालिका आँखाले ठम्याउन सक्दिनन् । कानसमेत राम्रोसँग नसुन्ने उनी आफ्नो शरीरको ख्याल राख्न सक्दिनन् । आँखाले अक्षर ठम्याउन नसकेकै कारण उनी विद्यालयबाट निकालिइन् ।

 

कक्षा १ मा अध्ययनरत ती बालिका विद्यालयबाट निकालिएपछि दिनभर एक्लै घरमा बस्न बाध्य भइन् । अभिभावक ज्यालामजदुरीमा लागे । दिनहुँ घरमा एक्लै बसेको देखेका ठूलोबुबा र हजुरबुबा पर्ने दुई व्यक्तिको मनमा पाप पलायो । सुरुमा फकाए । पछि धम्क्याएर चार महिनादेखि दुई वृद्धाबाट पटकरपटक जबरजस्ती करणीमा परेको खुलेको छ । ‘ठूलोबुबाले जिस्क्याउँछ, झम्टिन्छ भन्दै रुन्थिन्,’ उनकी आमाले भनिन्, ‘ठूलोबुबाको त्यस्तो हर्कत कसरी बुझ्नु, सोचाइमा समेत थिएन । उल्टै छोरीलाई नै गाली गरें ।’

 

एक साताअघि छिमेकीले छोरीलाई घरभित्र तानेर लगेको देखेको र चिच्याएको सुनेपछि मात्र छोरी बलात्कृत भएको थाहा पाएको उनले बताइन् । शरीर सुन्निने, हिंड्न गाह्रो हुने हुन थाल्यो । महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले अपांगता भएकी बालिकालाई बलात्कारको आरोपमा छुट्टाछुट्टै स्थानबाट दुई वृद्धालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका ४ संगमटोलका ७० वर्षीय श्यामबहादुर मिजार र सोही स्थानका ७० वर्षीय घटेरो सार्की छन् । ती दुवैले ललाइफकाइ छुट्टाछुट्टै स्थानमा लगेर शारीरिक अशक्त बालिकालाई बलात्कार गरेको पाइएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: