क्युबामा पुष्कर शाहको उधारो सम्भोग

सेलिब्रिटी साइकल

साउनको दिन। आकाशको रङ्ग पूरै सेतै छ। बादलको घना कब्जा छ। आकाशबाट घाम हराएको छैन भन्ने प्रमाण बादलको चिराबाट देखिने घामले कतिकति बेला दिइरहेको छ। चरिकोट बजार आधा घाम र आधा बादलजस्तै छ।

बजारको सातदोबाटोमा हजारौँ मान्छेको भीड लागेको छ। भीडमाझ मेरो साइकल उभिएको छ। दोलखा भीमसेनको दर्शन गरेर आउँदा भीडभित्रको मेरो साइकलसामु म आफैं पुग्न सकिनँ। मेरो साइकललाई मान्छेहरुले अचानक बजारको चोकमा निस्किएको सिनेमाको वास्तविक नायकलाई झैँ घेरेका छन्। छुन मन लागेजस्तो गरी त्यतापट्टि हात तन्काउँदै फेरि तान्दै गरिरहेका छन्। साँच्चिकै सिनेमाको नायक भएको भए सेलिब्रिटी बनेको मेरो साइकलले ती मान्छेहरुका हात, ओठ, गाला र छातीतिर कति अटोग्राफ दिँदो हो!

दौरा–सुरूवाल, ज्वारी कोटमाथि भादगाउँले टोपीमा सजिएको म कुनै गाउँ विकास समितिको अध्यक्षभन्दा कम देखिएको छैन।

भीड हटाएर कसैले मलाई साइकलछेउ पुर्‍याइदियो। जिल्लाका सबै कार्यालयका प्रमुखहरु पनि उपस्थित थिए। पन्चे बाजा घन्किरहेको थियो। नगरप्रमुख चोकबहादुर दाहालले टीका लगाएर यात्रा शुभारम्भ गरिदिए। अघि–अघि पन्चे बाजा अनि पछि–पछि लागेको भीडभित्र म। लाग्थ्यो, यो कुनै साइकल यात्रा नभएर कुनै जन्तीको हूल हो। बेहुला घोडा नचढेर साइकलमा चढेको छ।

सदरमुकाम चरिकोटबाट मेरो गाउँ मकैबारी पुगुन्जेल थुप्रै ठाउँमा स्वागतका घडा राखिएका थिए। गाउँमा त भाइहरुले विदाइद्वार पनि बनाएछन्।

“तिमी फर्किँदासम्म त हामी मरिसक्छौँ होला!”

गाउँका आफन्तहरुले आफ्नो उमेरको अन्दाज गरेर रोदनमिश्रित आवाजमा भनिरहेका थिए। कति जना त घुँक्कघुँक्क गरिरहेका पनि थिए।

मैले सम्झाएँ, “संसारको कथा सुन्नलाई तपाईँहरुले मलाई पर्खिरहनुपर्छ।”

बिछोडको पीडाले भावुक बनाइरहेको थियो सबैलाई। गाविस अध्यक्ष कर्णबहादुर शाहले आँसु चुहाउँदै विदाइको माला पहिर्‍याइदिए। गलाभरि माला पहिर्‍याइएको म निर्वाचन जितेको ठूलै नेताजस्तै बनिरहेको थिएँ।

मलाई बिदा गर्न बालकदेखि वृद्धसम्म गाउँको सिमाना चरेङ खोलासम्म आए। रून नजानेजसरी सबै मलाई एकतमासले हेरिरहेका थिए। अब भेट होला/नहोला भन्ने सुर्ता थियो सबैमा। म पनि चुपचाप उनीहरुलाई सम्झाइरहेको थिएँ, “म कुनै युद्ध मैदानमा जान लागेको होइन, जहाँ मेरो मृत्यु निश्चित छ। म शान्तियुद्धमा हिँडिरहेछु। जरुर एक दिन गाउँ फर्किन्छु, जहाँ मेरो माटो छ, मेरो सास, आश र विश्वास छ। उकाली–ओरालीहरु छन्। वनपाखाका लालीगुराँस र लालुपाते छन्। डाँफेको वेग छ। दौँतरीहरु छन्। बुद्धभूमिको शिर सगरमाथा छ। त्यसको काखमा मेरो गाउँ छ। गाउँमा मेरो घर छ। मेरी आमा छिन्। मैले आमाको आशीर्वाद पूरा गर्नु छ। गाउँ फर्किएर आमालाई भन्नु छ, ‘मैले तिम्रो आशीर्वाद शिरोपर गरेँ। मैले संसार जितेँ। मसँगै जोडिएको तिम्रो सपना पूरा गरेँ।”

चरेङ कटेपछि बाटो उकालो लाग्यो। बिदाइमा हल्लिरहेका हातहरु खाखिनेको उत्तिसघारीले छेकिए।

यात्राको पहिलो पाइला नै कस्तो उकालो! बोच, खरीढुङ्गासम्मै ठसठस कन्दै चढेँ। मुढेको ओरालो चार किलोमिटर तल झरेपछि तमाखुबारीमा विवाह गरेर गएका मेरा माइली दिदी र साइँली बहिनीले रूँदै बिदाइका हातहरु हल्लाए।

पानी झमझम पर्न थाल्यो। साइकल कतै रोकिएन। खाडी चौर पुगुन्जेल साइकलको आधा ब्रेक खिइसकेको थियो। कृष्ण राउतले दिएको क्यामेरा एक क्लिक नलगाई म जस्तै रूझेको थियो।

यहाँ रूने आँखाहरु नभए पनि सोझाएँ साइकलका पाङ्ग्राहरु काठमाडौं तिर।

अक्कलेको अक्कल

स्पेनमै बसेका बेला बेनिडोर्मदेखि दश किलोमिटर टाढा आल्तेमा एक जना नेपालीको बच्चाको पास्नीमा निम्तो मान्न साँझ पुगेको थिएँ। पास्नीको कार्यक्रम मध्यरातमा मात्र शुरु भएको थियो। पास्नी खाने बच्चा स्वतन्त्र भए पनि उनका बाबुआमा स्वतन्त्र थिएनन्, कामका कारणले बच्चा वा आफ्नै यस्ता कुनै उत्सव मनाउनुपर्दा मध्यरातै कुर्नुपर्ने बाध्यता थियो। आज छोरीको पास्नीमा पनि त्यही नियति भोग्नुपरेको थियो उनीहरुले। यस्तै उत्सव वा पर्वहरु मनाउन नपाउँदा मात्रै मान्छेहरु आफ्नो मातृभूमि छाडेकोमा थकथकाउँदा हुन्।

सम्बन्धित् समाचार  यी १० बानी जसले बनाउन सक्छ नपुंसक, धेरै गुटखा सेवनदेखि पोर्नोसम्म

पास्नीमा नेपालका नाम चलेका म्याराथन धावक भेटिए, अक्कलबहादुर बोहोरा! उनी नेपालका होनहार धावक थिए। सबैभन्दा रमाइलो कुरा त के भने नि, उनी मेरै प्रेरणाले म्याराथन धावक बनेका रैछन्। त्यो कुरा मैले निकै अघि सञ्चार माध्यमबाट थाहा पाएको थिएँ। सशस्त्र पुलिसको एउटा सिपाही कसरी पुष्कर शाहको प्रेरणाले नेपालको चर्चित धावक बन्यो होला? उनको कथा पनि कम रोचक रैनछ। मेरो बारेमा पत्रपत्रिकामा छापिएको पढेर उनले अठोट गरेका रैछन्, “पुष्कर शाह आमाले दिएको एक सय रूपैयाँ बोकेर विश्व साइकलयात्रा गर्न सक्छन् भने म एउटा सिपाही मान्छे, महिनाको चार–पाँच हजार तलब पाउँछु, किन धावक बन्न सक्दिनँ?”

यही दृढ सपनाले उनलाई आफ्ना खुट्टाहरु दह्रो बनाउन प्रेरणा दियो, छातीलाई आँधी रोक्ने पहाड बनाउन बल प्रदान गर्‍यो अनि आत्मालाई युद्धमा नहार्ने सिपाही जस्तो आँटिलो बनाउन ऊर्जा थप्यो रे! यसरी म्याराथन धावक बनेका अक्कलबहादुर बोहोरा नेपालमा मात्रै होइन, विश्वका धेरै प्रतियोगितामा सहभागी भए। कैयौँ दौड पूरा गरे, कैयौँ दौड जिते।

उनको सानो गाँठीको पातलो शरीर देखेर धेरैले उनलाई व्यङ्ग्य पनि गर्थे रे— उनी दौडने होइन कि अरु दौडेको हावाले उनलाई धकेल्छ भनेर! एक पटक पेरिस म्याराथनमा भाग लिन आएको बेला उनी दौड पूरा गरिसकेपछि नेपाल जाने बाटो भुलेर स्पेनतिर झरेछन्। त्यसपछि उनको दौड रोकिएको छ, सपना फेरिएको छ। उनी एउटा रेस्टुरेन्टमा भाँडा टल्काउँछन्।

मसँग वियरको चिसो गिलास ठोक्काउँदै अक्कलबहादुरले सोधे, “दाइ, तपाईं जापान पनि पुग्नुभो है?”
“पुगेँ नि!”, मैले उनीसँग चियर्स गरेँ।

“अमेरिका नि पुग्नुभो है?”, यो प्रश्न सोध्दा उनले एकसासमै वियरको गिलास आधा पारिसकेका थिए र थपेका थिए, “कस्तो रैछ अमेरिका?”
“गज्जब!”

“तपाईं अमेरिका पुगेको मान्छे फेरि किन फर्केर आउनुभएको?”

भन्न त मन थियो, मलाई तिम्रो जस्तो सपना बदल्नु थिएन, त्यही भएर अमेरिका बसिनँ। तर फिस्स हाँसिदिएँ मात्र।

हामी लगातार गिलास भर्दै जान्छौँ, त्यो भीडमा मलाई अक्कलबहादुरले मात्रै होइन, अरु थुप्रै वियर र ह्विस्कीका गिलासहरुले पनि थुप्रै प्रश्नहरु सोधिरहन्छन्।

यदि म जापानमा साइकल फालेर बसेको भए वा अमेरिकामा पुगेर पासपोर्ट च्यातेको भए आज मलाई यी अक्कलबहादुरहरुले यस्ता प्रश्न सोध्नै पाउने थिएनन्। आज म नेपाली सञ्चार माध्यमहरुमा अन्तर्वार्ता दिने हैसियतको हुने थिइनँ।

मैले नेपाली सञ्चार माध्यमलाई अन्तर्वार्ता नदिएको भए अक्कलबहादुरले मेरो अन्तर्वार्ता सुन्न पाउने थिएनन् अनि उनले मेरो प्रेरणा पाउने थिएनन्। मेरो प्रेरणा नपाएको भए उनी एउटा म्याराथन धावक बन्ने थिएनन् अनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तक्माहरु घाँटीमा झुन्डाउन पाउने थिएनन्। पेरिस आइपुग्ने थिएनन्। पेरिसबाट नेपाल फर्किने बाटो भुलेर स्पेनतिर झर्ने थिएनन्। मेरो देशको गौरवले विदेशी रेस्टुरेन्टमा भाँडा टल्काउने थिएनन्। हप्ता वा महिनाको अन्तिम दिन युरोपको मुठो गन्ने थिएनन्। उनी एउटा सिपाहीमा मात्र दरिन्थे। स्वास्नी र छोराछोरीका सपना पूरा गर्न सक्ने थिएनन्। आफै“ पनि कति छाक त भोकै सुत्ने थिए तर एउटा सच्चा देशभक्त सिपाही भने बनिरहन्थे, अक्कलबहादुर बोहोरा!

सावना सम्भोग

एक दिन ब्रेकफास्ट खाएपछि डायनाले मलाई भनी, “तिमी मसँग सावना जान्छौ?”

सम्बन्धित् समाचार  आज कसको राशफिल कस्तो ? हेर्नुस्

मैले तुरून्तै उत्तर दिएँ “जान्छु।” तर मलाई थाहा थिएन सावना कस्तो हुन्छ भन्ने। काठमाडौँमा यसको नामसम्म सुनेको हुँ। आज नौलो चीजको अनुभव गर्न पाउने भएँ भनेर गद्गद् भएँ।

डायनाले पुरानो साइकल भाडामा लिई।

होटलबाट केही किलोमिटर पर एउटा सावना घर पुगियो। रिसेप्सनमा गएर डायनाले हामी दुई जनाको पैसा तिरी।

त्यहीँ छेउ उभिएर फुत्त–फुत्त तल र माथिका लुगा फुकाली, हाम्रा गाउँघरमा साना केटाकेटीले लुगा फुकाले जस्तो! अनि एउटा ठूलो टावलले वक्षस्थल छोपी। गोरी अमेरिकन युवतीका सेता चिल्ला तिघ्रा र छाती देखेँ मैले। मेरा उत्सुक आँखाले उसका गोरा छाला नियाल्न नपाउँदै ऊ सावनाको कोठाभित्र पसी। म केही बेर त्यही टेबलमा बसिरहेँ।

“तिमी आउँदैनौ भित्र?”, उसले भित्रबाट मलाई भनी, “लुगा खोल र आऊ न भित्र। म यहाँ एक्लै छु।”

“ह“, लुगा खोलेर भित्र आऊ? हैन के भन्छे यो अमेरिकन तरूनी?”, आफैँसँग बोलेँ। लुगा खोलेर भित्र जानुको अर्थ के? त्यो पनि ऊ एक्लै भएको कोठामा?

डायना मभन्दा केही वर्ष मात्र जेठी भए पनि गोरी युवतीसँग यो यात्रामा सम्भोगमा लीन हुन पाइने भइयो भन्ने सोच्दै मन उद्वेलित भयो। फोक्सोले सास चाँडोे–चाँडो फेर्न थाल्यो। मुटुको धड्कन बढेर आयो।

विस्तारै लुगा खोलेँ र टावल बेरेँ। एक छिन उभिएँ र गोरीसँगको सम्भोगबारे सोचेँ। अनि आफूलाई दह्रो पारेर भित्र पसेँ। ऊ पसिनाले निथु्रक्क भिजेकी थिई। म पनि भित्र पस्नासाथ पसिनैपसिना हुँदै गएँ। तर एक छिनमै तातो बाफले अत्यास लागेजस्तो भो। मन भने चञ्चल थियो। डायनाप्रति सम्मोहित भइसकेको थियो। कतिखेर उसले अँगालोमा डाक्ली भन्ने मनमा लाग्दै थियो, दुई जना गोरेहरु पनि भित्र पसे। एउटा कुनामा बसे र बाफ लिन थाले।
हत्तेरी, सावना त शरीरलाई बाफले नुहाउने ठाउँ पो रहेछ!

उधारो सम्भोग

देब्रे हातको पाखुरामा लामखुट्टे बस्यो, टोक्नलाई। मार्नलाई ठोकेँ। फुत्केर उड्यो। केही बेरमा फेरि बस्यो। फेरि ठोकेँ। मर्छु भन्ने थाहा पाएर पनि लामखुट्टेले मलाई टोक्न छोड्दैन। ऊ नमरून्जेल भोकले उसलाई पनि छोड्दैन। जीवन रहुन्जेल यसरी नै मान्छे सासको आश गरिरहन्छ। क्युबानहरु पनि यस्तै भोका लामखुट्टे जस्तै लाग्छन् मलाई।

हवानामा जुलियोको घरमा बास बसेको म भने क्युबानहरुजस्तै अभावमा थिएँ।

झोलामा बाँकी रहेका टी–सर्टहरु दश डलरमा बेचेँ। जुलियोले अर्को पेइङ गेस्ट नआउन्जेल मलाई बस्न आग्रह गर्‍यो। मैले नकार्ने कुरै भएन। हाइटी जाने मेरो योजना खर्च अभावले विफल भइरहेको थियो। कतैबाट टिकट पाइरहेको थिइनँ। अमेरिका फर्कने प्रयासमा एम्बेसी चहारेँ, त्यो पनि असम्भव भयो। म खुला बन्दी भएँ क्युबामा।

दिनभरिको थकित शरीरलाई क्यारेबियन सीको मालेकोन डिलमा लगेर बिसाएँ। होटल, रेस्टुरेन्ट सोध्नेदेखि पैसा माग्ने र तरूनी मिलाउनेको भीड।

कसैलाई एकान्तमा बसेर केही सोच्ने फुर्सदै दिन्नन् क्युबानहरु। युरोप, अमेरिकामा साइकलमा दुई जनासँगै चढ्दा अनौठो मान्ने पर्यटकहरु यहा“ साइकलको पछाडि केटी राखेर कुदाइरहेका छन्। साइकल पर्यटकले कुदाए पनि कुदाउन लगाउने चाहिँ तरूनीहरु नै हुन्। हो, क्युबा सेक्सको स्वर्ग हो, म मान्छु, तर भोको पेटमा सेक्स? असम्भव!

समुद्रको छालमा रत्तीभर पनि हराउन दिएनन् क्युबान युवतीहरुले। दश थरी मान्छेको वरिपरि बस्नुभन्दा तरूनीहरुसँगै जानु उचित मानेर हिँडेँ म। दुइटी तरूनी, अन्दाजी सत्र–अठार वर्षका। जे होस्, टिनएजकै हुन्। हाम्रो देशका कोरली गाई जस्ता। सलक्क परेका भन्छौँ नि हामी, त्यस्तै!

सम्बन्धित् समाचार  गोहीले हात चुँडेर लगे पनि खुशी छन् महतो

लागेँ, उनीहरुकै पछि। करीब दुई–तीन किलोमिटर हिँडेपछि मलाई असन वा पाटनको पुरानो गल्लीको छिँडीतिर पुगे जस्तै लाग्यो। ठ्याक्कै उस्तै। त्यस्तै घर। त्यस्तै झ्यालढोका। त्यस्तै आग्लाहरु। गल्लीको भत्कन लागेको पुरानो घरको तेस्रो तलामा तिनीहरुको कोठा रहेछ। एउटीले चोरझैँ झ्यालबाट पसेर ढोका खोली। यो उनीहरुको कोठा होइन कि भन्ने शङ्का लाग्यो। भित्र पसेपछि ढुक्क भएँ, उनीहरुकै रहेछ।

भित्ताका सुन्दर तस्वीरहरुले बताइरहेका थिए। कोठाको आकारप्रकार सबैले मलाई काठमाडौँको सम्झना दिलाए। त्यति बेला पुतलीसडकनजिकै एउटा प्रसिद्ध घर थियो, होलिडे इन। त्यो घरको एउटा कोठामा मैले छ वर्ष बिताएँ। सात तला अठचालीस कोठाको उक्त घरमा बत्ती थिएन। त्यसैले त्यो घर प्रसिद्ध थियो। केशव त्यो घरको दादा थियो। हामीले भाडा तिर्नुपर्दैनथ्यो। बदलामा हामी घरको सुरक्षा गर्थ्यौं। मेरो कोठा सार्वजनिक थियो। कुनै दिन तेह्र जनासम्म सुत्यौँ। छ वर्षको अवधिमा मैले कहिल्यै एक्लै सुत्ने मौका पाइनँ। कोठामा जो पहिला पुग्थ्यो, खाटमा उही सुत्थ्यो। पढ्नेहरु पढ्थे, जागीरेहरु जागीर खान्थे, बेरोजगारहरु डुलेर दिन बिताउँथे, त्यो घर धेरैको आश्रयस्थल बन्यो।

मसँग त्यो घरमा धेरै रात गायक अरूण थापा पनि सुते। एक गिलास रक्सीमा गितार बजाएर धेरै गीत सुनाए। मलाई उनको फ्यान बनाउने पनि त्यही घर नै हो। त्यही घरबाट काठमाडौँको जीवन शुरु गरेको उत्तम अहिले स्विटजरल्यान्डको तारे होटलमा म्यानेजर छ। भीमसेन प्रसिद्ध कम्पनीको ट्रेकिङ गाइड बन्यो। मन्जिल, राजकुमार, जनक, हरि, नरहरिहरुले आफ्नो करिअर त्यहीँबाटै शुरु गरे। सुरजले आफ्नी प्रेमिकालाई त्यहीँ भेट्टायो। स्वास्नी पनि त्यहीँ बनायो। मैले जनआन्दोलनमा गोली लाग्दा त्यही कोठामा आरामको सास फेरेँ।

सम्झिरहेथेँ काठमाडौँ, एउटी तरूनीले तिघ्रामा प्याट्ट पारी। केही बेर गफ गरेपछि सेक्सको कुरा भयो। उनीहरुसँगै पालैपालो सेक्स गर्नुपर्ने उनीहरुकै आग्रह थियो। मैले भोको छु भनेपछि एउटी खानेकुरा लिन गई, मसँग दुई डलर लिएर। अर्कीले मसँग बार्गेनिङ गर्न थाली। एउटीको एक पटकको चालीस डलर रे! पूरै रात बिताए रेट अझै कम रेट हुन सक्छ रे! म पनि के कम, बार्गेनिङ नै सम्झेर मोलमोलाइ गर्न थालेँ। उसको रेटलाई दश डलरमा झारेँ।

दुई डलरको बन बोकेर अर्की तरूनी आइपुगी। मैले टोकेको जुठो बन दुइटीले खोसाखोस गरेर खाए। त्यसपछि एउटीले मेरो टी–सर्ट उतारी। मेरो शरीरका अङ्गहरु देखेर सोधी, “बडीबिल्डर हो कि क्या हो?”
अर्कीले जुत्ता–मोजा खोलिदिई।

अब दुइटीले नै मलाई मुसार्न थाले। ममा उत्तेजना शून्य बराबर थियो। दुइटी भोकाएका सिंहिनी जस्तै देखिएका थिए। उनीहरु ‘ब्रा’ मा उत्रिसकेका थिए। एउटी मेरो पाइन्टमाथि तिघ्रामा चढी। अर्कीले पछाडिबाट आफ्ना दुई जाँघबीचको यौनाङ्ग मेरो ढाडमा दलिरहेकी थिई। सिनेमामा हिरोइनले हिरोको छातीमा समाएजसरी पछाडिबाट समाइरहेकी थिई घरीघरी।

तिघ्रामा चढेकीले दश डलर मागी। मैले ‘पैसा छैन’ भनेँ। पत्याइन। फेरि गालामा म्वाइँ खाई। पछाडिकीले काँध सुमसुम्याउन थाली। मैलै ‘साँच्चिकै पैसा छैन’ भन्दै खाली वालेट देखाएँ। उनीहरुले बल्ल पत्याए। उनीहरुले ‘मनाना’ अर्थात् ‘भोलि’ भने। मैले हुन्छ भनेँ र जुरूक्क उठेँ। उनीहरुले मलाई फेरि लडाए र भने, “पैसा भोलि दिए हुन्छ।”

उनीहरुले उधारो सेक्स गर्न आग्रह गरे। म ‘मनाना’ भन्दै लुगा लगाएर त्यहा“बाट निस्किएँ।

सेतोपाटीबाट साभार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: