१० नियोगमा राजदूत नियुक्त गर्दै सरकार

काठमाडौँ, कार्तिक १७ । सरकारले रिक्त रहेका चार , चाँडै रिक्त हुन लागेका ६ समेत १० कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गर्ने भएको छ । कार्तिकभित्रै राजदूतका लागि सिफारिस गर्ने सरकारको तयारी छ ।

हाल भारत, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोग, मलेशिया र युनाइटेड अरब इमिरेट्समा राजदूत खाली छन् । तीन महिनाभित्र थप पाँच मुलुक र जेनेभास्थित स्थायी नियोगमा राजदूतको म्याद सकिँदैछ ।

शुरुमा रिक्त देशमा मात्रै राजदूत सिफारिशका लागि तयारी भएको तर तीन महिनाभित्र छ स्थानमा रिक्त हुने भएकोले अब एकैसाथ सिफारिश गरिने परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।  ‘म जापान जानुअघि नै १० देशमा राजदूत नियुक्तीका लागि सिफारिश हुने गरी गृहकार्य भइरहेको छ’ परराष्ट्रमन्त्री ज्ञवालीले भने ।

उप्रेतीलाई भारत नपठाइने

सरकारले यसअघि भारतका लागि प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती र मलेशियाका लागि उदय पाण्डेलाई राजदूतका लागि सिफारिश गर्ने निर्णय गरेको थियो । उप्रेतीको नियुक्तीप्रति सत्तारुढ नेकपाभित्रै चर्को असन्तुष्टि प्रकटभएपछि सरकारले उनी र पाण्डेको नियुक्ती अघि बढाएनन् ।

अब उप्रेतीलाई राजदूत नबनाइने भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘हामी यस सम्बन्धमा पनि छलफलमै छौँ । चाँडै टुंग्याउँछौँ ।’ सरकारले तयार गरेको राजदूत नियुक्तिसम्बन्धी पछिल्लो निर्देशिकामा राजदूत पद खाली हुनु तीन महिनाअघि सिफारिस गर्ने उल्लेख छ । यही अनुसार रिक्त हुने दूतावास र मिसनमा सिफारिश हुन लागेको परराष्ट्रमन्त्रीको भनाई छ । विगतमा कांग्रेस, राप्रपा र विघटित फोरम लोकतान्त्रिकको कोटाबाट नियुक्त राजदूतहरुलाई फिर्ता बोलाउनेबारे छलफल नभएको ज्ञवालीले बताए ।

सम्बन्धित् समाचार  चीनले काठमाडौं उपत्यकाको चक्रपथ पूरै आठ लेन बनाइदिने

कहाँ कहाँ खाली हुँदैछ ?

क्यानाडा, फ्रान्स, कुवेत, दक्षिण अफ्रिका, थाइल्याण्डस्थित राजदूत र स्वीटजरल्याण्डको जेनेभास्थित स्थायी प्रतिनिधिको कार्यकाल पुसमा सकिँदैछ । क्यानाडामा राजदूत कालीप्रसाद पोखरेल, फ्रान्समा अम्बिका मानन्धर लुइँटेल, कुबेतमा यज्ञबहादुर हमाल, दक्षिण अफ्रिकामा अमृतबहादुर राई र थाइल्याण्डमा खगनाथ अधिकारी तथा जेनेभास्थित राष्ट्रसंघीय नियोगका लागि स्थाइ प्रतिनिधि दीपक धितालको कार्यकाल सकिँदैछ ।

परराष्ट्रमन्त्रालयका सहसचिव रहेका छ मध्ये अधिकारी र लुईँटेल  उमेर हदका कारण अवकासमा जानेछन् । कार्यकाल सकिएपछि धिताल पोखरेल, राई र हमाल भने मन्त्रालय फिर्ता हुनेछन् । उनीहरु चार बर्षअघि राजदूत नियुक्त भएर गएका थिए ।

को को छन् दाबेदार ?

भारतका लागि सरकारको छनौटमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल छन् । संयुक्त राष्ट्रसंघको स्थाइ प्रतिनिधिका लागि परराष्ट्रका बरिष्ठतम सहसचिव भरतराज पौड्याललाई पठाउने तयारी छ । परराष्ट्रसचिव शंकरदास बैरागीले अस्वीकार गरेपछि उनीपछिको बरियताक्रमका पौड्याललाई न्युयोर्क पठाइन लागेको हो । मलेशियामा उदयराज पाण्डेलाई पठाइनेछ ।

अब नियुक्त गरिने १० नियोगमध्ये भारत र युएईबाहेकका मिसनमा यसअघि करिअर डिप्लोम्याट (परराष्ट्रका सहसचिव)पठाइएको थियो । अब त्यही अनुसार हुने/नहुने एकीन छैन । न्युयोर्कमा पौडेललाई पठाउने भएपछि बाँकी ७ मिसनमा परराष्ट्रबाट पठाइएमा विगतको नजिर अनुसार लामो समय मन्त्रालयमा रहेका सहसचिवहरुको दाबी छ ।

सम्बन्धित् समाचार  राष्ट्रपती र उपराष्ट्रपती अदालत भन्दा पनि माथि ! मुद्दा हाल्न नपाईने ?

मिसनबाट फिर्ता भएर लामो समय उपसचिव बसेका र बढुवा भएर मन्त्रालयमा रहेकाहरुमध्ये सहसचिवहरु दीपक अधिकारी, दुर्गाप्रसाद भण्डारी, गणेश प्रसाद ढकाल, भृगु ढृंगाना, मणि भट्टराई र तापस अधिकारीमध्येबाट नियुक्ती हुनुपर्ने मन्त्रालयभित्र माग छ । तर यसपटक राजनीतिक पहुँचका आधारमा मन्त्रालयमा पटकपटक गरी २ वर्ष पनि नबसेका कृष्णप्रसाद ढकाल र दाबेदारमध्ये अन्तिम सूचीमा परेका मणि भट्टराईको दाबी छ ।

राजदूत पदका लागि नेकपामा भारतका लागि महेन्द्र पाण्डे र बिष्णु रिमालको चर्चा छ । अन्य मुलुकका लागि युवराज चौलागाईँ, बिष्णु रिजाल, ऋषि अधिकारी, नारद वाग्ले भारद्धाज, अन्जना शाक्य, डा केशब बस्याल, गोपाल खनाल चर्चामा छन् । खनालले भने परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि पनि दरखास्त हालेका छन् ।

अमेरिकाका लागि राजदूत डा अर्जुन कार्की र दक्षिण अफ्रिकाका लागि राजदूत अमृतबहादुर राईले पनि न्युयोर्कस्थित स्थाइ प्रतिनिधिमा दाबी गरेका छन् । कार्की पूर्वएमाले र राईले पूर्वमाओवादी कित्ताबाट दाबी गरेको जानकारहरुको भनाई छ । तर, उनीहरुलाई दोहो-याएर नियुक्ती दिने पक्षमा प्रधानमन्त्री नरहेको निकटवर्तीहरुको भनाई छ ।

सम्बन्धित् समाचार  विदेशमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालय सक्रिय

नयाँपत्रिकाबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: