बझाङमा बहुमूल्य जडीबुटी सेतक चिनीको दोहन

बझाङ, कार्तिक १८ । जिल्लाका हिमाली क्षेत्रमा रहेका बहुमूल्य जडीबुटी काँचो खिरौंला (सेतक चिनी) बिना अनुमति संकलन र निकासी भइरहेको छ । सुदूर र मध्यपश्चिमका विभिन्न जिल्लाबाट आएका सयौं मानिस भदौ अन्तिम सातादेखि वनक्षेत्रमै पाल हालेर बसेका छन् ।

अवैध धन्दा रोक्न गएको वनटोली असुरक्षाको कारण देखाउँदै बीचबाटै फर्किएको छ । अहिले बझाङका वनमा रुकुम, रोल्पा, सल्यान, प्यूठान, दाङ, दैलेख, जाजरकोट, हुम्ला, जुम्ला, सुर्खेतसम्मका मानिस सेतक चिनीलगायत जडीबुटी संकलनमा व्यस्त छन् । साइपाल गाउँपालिकाका चाल्नावन, राइढुंगी, माझा, फरालखेत, स्याङवन, औलागाड, दोतले, चिडा र सुर्मा गाउँपालिकाका जलजला, डाँफेचुली, तपोवन, डाँडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुंगा, पार्थी क्षेत्रमा संकलन र निकासीमा संलग्नहरू छयासछयास्ती देखिन्छन् ।

 

‘बुंगल नगरपालिका, दुर्गाथली, छबिसपाथिभेरा, खप्तडछान्ना गाउँपालिकाका वनमा स्थानीय र बाहिरी जिल्लाका संकलकले पाल टाँगेर डेरा जमाएका छन्,’ साइपाल–५ का ढाक्पा लामाले भने, ‘साइपाल गाउँपालिकामा मात्र ७० हजार क्विन्टलभन्दा बढी सेतक चिनी संकलन गरेर राखिएको छ ।’

 

बहुमूल्य जडीबुटी सेतक चिनी संकलन गर्न बझाङ बाहिरबाट समेत आएकाहरु जंगलमा डेरा जमाएरै बसेका छन् । कसैले संकलन अनुमति लिएका छैनन् । अवैध धन्दा रोक्न गएको वनटोली असुरक्षाका कारण देखाउँदै बीचैबाट फर्किएको छ ।

सम्बन्धित् समाचार  पहिलो पटक २८ जनाको आरोहण टोली साइपाल चढ्दै

 

एक जनाले दिनमा पाँच क्विन्टलसम्म काँचो खिरौंला (सेतक चिनी) संकलन गर्न सक्ने हुम्लाबाट आएका सर्केगाड गाउँपालिकाका ललिजन फडेराले बताए । ‘एउटा वनमा १ सयदेखि ५ सयसम्म मानिस संकलनका लागि गएका छन्,’ उनको अनुमान छ । साइपालको दोतलेमा क्याम्प खडा गरेर बसेका उनले आफूहरूले १०-१५ दिन अवधिमा २ सय क्विन्टलभन्दा बढी सेतक चिनी संकलन गरिसकेको बताए । संकलन र निकासीमा संलग्न कसैले पनि डिभिजन वन कार्यालय र सामुदायिक वनको अनुमति लिएका छैनन् । वन नियमावली २०५१ मा सेतक चिनी कात्तिक र मंसिर महिनामा मात्र संकलन गर्न पाइन्छ । तर यहाँ भदौ अन्तिमदेखि संकलन भइरहेको छ ।

 

यस्तै सुर्मा गाउँपालिकामा ५० हजार क्विन्टलभन्दा बढी सेतक चिनी संकलन भएको स्थानीय गणेश बोहराको भनाइ छ । व्यापारीले विभिन्न जिल्लाबाट कामदार ल्याएर पाटनमा काँचो सेतक चिनीको प्रतिकिलो ५० रुपैयाँ र सुकाएर पकाएको प्रतिकिलो २ सय रुपैयाँ दिने गरेको हुम्लाकै काली फडेराले बताइन् । ‘कतिपयले दैनिक ज्यालामा पनि संकलन गर्न लगाएका छन्,’ उनले भनिन् ।

 

बझाङको पञ्चवर्षीय वन व्यवस्थापन योजना २०७१ अनुसार जिल्लाभरका सामुदायिक वनबाट ३ सय ५० क्विन्टल र सरकारी वनबाट ५० क्विन्टल मात्र सेतक चिनी संकलन गर्न मिल्छ । वनस्रोतको वैज्ञानिक सर्वेक्षणपछि वनपैदावारको कुल मौज्दात र त्यसको वार्षिक वृद्धिदर निक्र्योल गरेर मात्र संकलन गर्न मिल्ने परिमाण निकालिन्छ । यसरी बनाइएको पञ्चवर्षीय योजना वन विभागले स्वीकृत गरिसकेपछि लागू हुन्छ । कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: