अल इन्डिया गभर्नर्स गोल्डकपको उपाधि मनाङले जित्यो

काठमाडौं, कार्तिक १८ । मनाङ मर्स्याङ्दी क्लबले इन्डियन आर्मी ‘रातो’ माथि १–० को जित रच्दै सिक्किमको गान्तोकमा शनिबार सम्पन्न ३८ औं अल इन्डिया गभर्नर्स गोल्डकप फुटबलको उपाधि जितेको छ  ।

 

नेपाली फुटबलमा पनि चर्चित रहेको यस प्रतियोगितामा मनाङ पहिलोपल्ट च्याम्पियन भएको हो । पाल्जोर रंगशालामा भएको फाइनलको एकमात्र गोल दोस्रो हाफमा कप्तान सुजल श्रेष्ठले गरेका थिए । इन्डियन आर्मीका खेलाडीले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि पाएको पेनाल्टी अवसरलाई सुजलले ८० औं मिनेटमा गोलमा परिणत गर्दै मनाङलाई १–० को अग्रता दिलाएका थिए । अन्ततस् त्यही पेनाल्टी गोल निर्णायक बन्न पुग्यो र मनाङले लामो प्रयासपछि गभर्नर्स गोल्डकपको ट्रफी चुम्ने अवसर पायो ।

 

सिक्किमे दर्शकको साथमा दोस्रो हाफमा मनाङले आक्रामक खेल पस्किएको थियो । अन्जन विष्ट, दीपक राई, हेमन गुरुङ, विमल राना, डोना थापाले गतिलो प्रदर्शन गरेका थिए । डोनाको ह्याट्रिक सहयोगमा मनाङले सेमिफाइनलमा एट्लेटिको डी कोलकाताको रिजर्भ टिमलाई ६–२ ले हराएको थियो ।

 

 

त्यसमा अन्जन, सुजल र विमल बस्नेतले पनि गोल गरेका थिए । पहिलो चरणमा बाई पाएको मनाङले क्वाटरफाइनलमा कोलकाता कस्टमलाई ४–२ ले हराएको थियो । यसपल्ट सहभागी अर्को नेपाली क्लब एपीएफ भने पहिलो चरणमा कोलकाताको जर्ज टेलिग्राफसँग १–० ले हारेको थियो ।

सम्बन्धित् समाचार  तेस्रो लिंगीहरूका लागि बृहत् खेलकुद प्रतियोगिता आयोजना हुने

 

मनाङले फाइनलमा प्रतिस्पर्धा गरेको तेस्रो अवसरमा गभर्नर्स गोल्डकप जितेको हो । यसअघि उसले सन् २०१३ र २०१४ मा लगातार फाइनल यात्रा तय गरेको थियो । तर, उसलाई अर्को नेपाली क्लब थ्रीस्टारले २०१३ र मुम्बईको ओएनजीसीले २०१४ को फाइनलमा सिकार बनाएको थियो । थ्रीस्टार च्याम्पियन भएयता नेपाली टिमले गभर्नर्स गोल्डकपको उपाधि जित्न सकेको थिएन । यसबीच मनाङ र झापा ११ को प्रयास फाइनलमा रोकिएको थियो ।

 

त्यसैले मनाङले गर्भनर्स गोल्डकपको उपाधिमा नेपाली टिमको खडेरीलाई पाँच वर्षमा पूर्णविराम लगाइदियो । सन् १९७८ बाट सुरु भएको गभर्नर्स गोल्डकपमा नेपाली टिम च्याम्पियन भएको यो आठौं अवसर पनि हो । विजेता मनाङले २ लाख भारतीय रुपैयाँ र उपविजेता इन्डियन आर्मीले १ लाख भारु जितेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: